विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–३ का ४५ वर्षीय हरि ऋषिदेव (नाम परिवर्तन) को अण्डकोष वरिपरि पानी भरिएर ठूलो आकार भएको वर्षौं भएको छ । 

अण्डकोष वरिपरि पानी भरिएर ठूलो हुने रोगलाई मेडिकल भाषामा हाइड्रोसिल भन्ने गरिन्छ । हाइड्रोसिल भनेको पुरुषको अण्डकोषको बाहिरी भागमा पानी जम्मा हुनु हो । हरिको अण्डकोषको आकार पनि बढ्दै गएको छ । हाइड्रोसिलको शल्यक्रिया नेपाल सरकारले सरकारी अस्पतालमा निःशुल्क गर्ने गरेको छ । तर, यो कुरा हरिलाई थाहा छैन । ‘अहिले अण्डकोषको आकार बढ्दै गएकोले हिँडडुल गर्न असहज हुने गरेको छ’ उनले भने, ‘अण्डकोषको आकार पनि दिन प्रतिदिन बढ्दैछ ।’

यसरी हरिको गाउँमा हाइड्रोसिल हुने उनी एक्लो भने होइनन् । हरि बसोबास गर्ने सुनवर्षी नगरपालिकाभित्र मात्र ३ सय ३८ जनालाई हाइड्रोसिल देखिएको स्वास्थ्य कार्यालय मोरङका प्रमुख डा. सुरेश मेहताले जानकारी दिए । विगतमा फाट्टफुट्ट रूपमा देखिएको यो रोग अहिले सुनवर्षीसहित मोरङको दक्षिणी क्षेत्रमा प्रकोपकै रूपमा फैलिएको स्वास्थ्यकर्मीहरू बताउँछन् ।

मोरङका १७ स्थानीय तहका १ हजार ५ सय ८७ जनामध्ये सबैभन्दा बढी सुनवर्षी नगरपालिकाभित्र हाइड्रोसिल रोगका बिरामी बढी भेटिएको हो । स्वास्थ्य कार्यालय मोरङले डाक्टर विशाल देव र डाक्टर कमलेश यादवको टोली हाइड्रोसिल रोगको परीक्षणको लागि खटाएको थियो ।

मोरङका १७ वटा स्थानीय तहमा पुगेर गरेको परीक्षणको क्रममा सबैभन्दा बढी सुनवर्षी नगरपालिकाभित्रका पुरुषहरूमा हाइड्रोसिल रोग देखिएको कार्यालय प्रमुख मेहताले बताए । सुनवर्षीपछि दोस्रोमा रतुवामाई नगरपालिकाभित्र हाइड्रोसिल रोग बढी देखिएको छ ।

रतुवामाई नगरपालिकाभित्र १ सय ५९ जनामा हाइड्रोसिल रोग देखिएको मेहताले जानकारी दिए । यसैगरी तेस्रोमा धनपालथान गाउँपालिकाभित्र हाइड्रोसिलका बिरामी देखिएका छन् । धनपालथानमा १ सय ५८ जनामा यो रोग देखिएको छ । चौथोमा जहदा गाउँपालिकाभित्र १ सय ५७ जनामा हाइड्रोसिल देखिएको छ ।

यसैगरी बूढीगङ्गा गाउँपालिकाभित्र १ सय ४९, उर्लाबारी नगरपालिकाभित्र ३४, मिक्लाजुङ गाउँपालिकामा २१, कटहरी गाउँपालिकामा ६८, ग्रामथानमा ३८, सुन्दरहरैंचा नगरपालिकामा १ सय ६, पथरीशनिश्चरे नगरपालिकामा ४३, केराबारी गाउँपालिकाभित्र ३६, लेटाङ नगरपालिकामा ५१ जनामा हाइड्रोसिल रोग देखिएको स्वास्थ्य कार्यालय मोरङले जनाएको छ । कोशी प्रदेशको राजधानी विराटनगर महानगरपालिकाभित्र ४९, रङ्गेली नगरपालिकामा ९६ जनामा हाइड्रोसिल रोग देखिएको छ  । 

‘मोरङको ग्रामीण र दक्षिणी क्षेत्रमा धेरै हाइड्रोसिलका बिरामी देखिएका छन्’ स्वास्थ्य कार्यालय मोरङका प्रमुख डा. मेहताले  भने, ‘सहरी क्षेत्रमा भन्दा पनि ग्रामीण क्षेत्र र मोरङका दक्षिणी क्षेत्रमा हाइड्रोसिलका बिरामी धेरै देखिए ।’ लामखुट्टेको टोकाइबाट हाइड्रोसिल रोग हुने गरेको उनले बताए । ‘सचेतनाको कमी, सावधानी नअपनाएको कारणले हाइड्रोसिल रोगका बिरामी मोरङका ग्रामीण क्षेत्रहरूमा बढ्दो रहेको छ’ उनले भने, ‘हाइड्रोसिलको शल्यक्रिया गरे यो रोग निको हुन्छ ।’ ४० वर्षदेखि माथि उमेरका पुरुषमा हाइड्रोसिल रोग बढी देखिएको उनले सुनाए ।

‘हामीले १७ वटै स्थानीय तहका स्वास्थ्यकर्मीहरूलाई तालिम दिएका थियौं । उहाँहरू तालिम लिएपछि गाउँ–गाउँमा जाँदा हाइड्रोसिल भएका बिरामी भेटेका थिए । पछि चिकित्सकसहितको टोली गएर परीक्षण गर्दा हाइड्रोसिल रोग भएको पत्ता लागेको हो’ उनले भने, ‘हाइड्रोसिल एक वा दुवै अण्डकोषमा हुनसक्छ । जम्मा भएको पानीले गर्दा अण्डकोष सुन्निएको वा ठूलो भएको जस्तो देखिन्छ । हाइड्रोसिलले कहिले दुखाइ पैदा गराउँदैन तर, अण्डकोषको आकार भने ठूलो बनाउँछ ।’ 

नेपालमा हाइड्रोसिलका बिरामी करिब एक लाख रहेको अनुमान  छ । नेपालमा हात्तीपाइले रोगका कारण हाइड्रोसिलका बिरामी बढेपछि सरकारले निःशुल्क शल्यक्रियाको व्यवस्था गरेको हो । अहिले कोशी अस्पतालमा हाइड्रोसिल रोगको निःशुल्क शल्यक्रिया हुने गरेको छ ।

आर्थिक वर्ष २०७९÷०८० मा ६५ जनाको लक्ष्य लिएकोमा ८४ जना हाइड्रोसिल भएका बिरामीको शल्यक्रिया गरिएको कोशी अस्पतालका मेडिकल अधिकृत गोविन्द कटुवालले बताए । चालु आर्थिक वर्षमा हाइड्रोसिलका एक सयजना बिरामीको शल्यक्रिया गरिने लक्ष्य रहेको उनले बताए ।

नेपालमा हाइड्रोसिलका बिरामी करिब एक लाख रहेको अनुमान छ । नेपालमा हात्तीपाइले रोगका कारण हाइड्रोसिलका बिरामी बढेपछि सरकारले निःशुल्क शल्यक्रियाको व्यवस्था गरेको हो । उक्त कार्यक्रमअन्तर्गत नै कोशीले विगत १४ वर्षदेखि निःशुल्क सेवा सुरु गरेको हो ।

सरकारले प्रत्येक अस्पताललाई एक जना बिरामीको शल्यक्रिया गरेबापत पाँच हजार पाँच सय उपलब्ध गराएको छ । उक्त रकम बिरामीको शल्यक्रिया र औषधिका लागि पुग्नेछ । तीन वर्षमा कोशीमा १ सय ५२ जना हाइड्रोसिलका बिरामीको शल्यक्रिया भएको कटुवालले जानकारी दिए । आर्थिक वर्ष २०७७÷०७८ मा १६ जनाको गरिएको छ । यस्तै २०७८÷०७९ मा ६२ जनाको हाइड्रोसिलको शल्यक्रिया गरिएको छ ।