नेपालमा ठूलो परिमाणमा सुन तस्करी हुने गरेको चर्चा पहिलादेखि नै चल्ने गरेको थियो । केही वर्षअघि ३३ किलो सुन भित्रिएको घटना सार्वजनिक भयो । यो सुन काण्डमा संलग्न केहीको मृत्यु भयो भने केही पक्राउ परे तर, पक्राउ पर्ने अधिकांश भरिया मात्र रहेको र मुख्य मालिक पक्राउ पर्न नसकेको चर्चा सधैँ हुने गरेको छ । केही समयअघि मात्र विद्युतीय चुरोट (भेप) भित्र लुकाएर ठूलो परिमाणमा सुन भित्रिएको सार्वजनिक भयो । यो घटनामा केही व्यक्ति पक्राउ परिसकेका छन् भने सुन काण्डमा राजनीतिक दलका नेताहरूको नाम पनि जोडिएको छ । यद्यपि अहिलेसम्म नेताहरू पक्राउ परेका छैनन् । एयरपोर्टबाट दैनिकजसो तस्करीको सुन पक्राउ परिरहेको बेला बुधबार साँझ एकाएक करिब सय किलो सुन बरामद भएको र केही व्यक्ति पक्राउ परेको खबर सन्सनी मच्चियो । अहिलेसम्मकै सबैभन्दा ठूलो परिमाणमा सुन बरामद भएको यो घटनामा ठूलै गिरोहको संलग्नता रहेको आशङ्का गरिए पनि हालसम्म कुन तहका को–को संलग्न छन् भन्ने खुलिसकेको छैन ।
अचम्म चाहिँ सर्वसाधारण नागरिकसँग एउटा मोबाइल फोन, लगाएका गहनाका विषयमा कडाइ गरेर दुःख दिने एयरपोर्ट भन्सारका कर्मचारीले सय केजीभन्दा बढी सुन भन्सार जाँच पास भएर बाहिर निस्किँदा पनि थाहा पाएनछन् । एयरपोर्टबाट बाहिर निकालेर ट्याक्सीमा लोड गरी लैजान लागिएको अवस्थामा राजस्व विभागले सुन बरामद गरेको थियो । यो प्रकरणसँगै एयरपोर्टको सुरक्षा व्यवस्थामा प्रश्न उठेको छ । सयौं केजी सुन भित्रिँदा पनि पत्तो नपाउने सुरक्षाकर्मी, भन्सारका कर्मचारीहरूमाथि पनि शङ्काको सुई सोझिएको छ । भुक्तभोगीहरूको भनाइमा भन्सार र सुरक्षाकर्मीसँगको सेटिङ विना यसरी तस्करी गर्न सम्भवै छैन । विगतका सुन काण्डहरूले पनि प्रहरीका उच्च अधिकारीहरू र भन्सारका कर्मचारीको मिलेमतो हुने गरेको पुष्टि भएकै छ । ३३ किलो सुनकाण्डमा प्रहरी अधिकारीहरू नै संलग्न भएको सार्वजनिक भएको थियो । यी त देखिने पात्रहरू मात्र हुन् । खासमा सुन काण्डमा राजनीतिक दलका ठूला नेताहरूकै संलग्नता रहेको चर्चा छ । अहिले मात्र होइन, वर्षौंदेखि ठूला नेता, प्रहरी, कर्मचारी र व्यापारीको सेटिङमा सुन तस्करी हुने गरेको चर्चा चल्ने गरेको थियो । सुन तस्करी काण्डमा नाम जोडिएका ठूला नेताहरु अहिलेसम्म पक्राउ पर्न सकेका छैनन् । भरियाहरु मात्र पक्राउ पर्ने र ठूला नेता जोगाउने प्रवृति अन्त्य हुनु आवश्यक छ । यस्तो धन्दामा जोडिएका जोसुकै भए पनि कानूनी कारबाहीको दायरामा ल्याउनु आवश्यक छ ।
सुन तस्करी जस्ता ठूला काण्डमा प्रहरीको माथिल्लो तह र कर्मचारीतन्त्र समेत मुछिने गरेकाले ठूला अपरेशन गर्ने सूचना चुहिने डरले हुन सक्छ, यसपटक राजस्व विभागले आफै सुन बरामद गरेको छ । प्रधानमन्त्री कार्यालय अन्तर्गत रहेको विभागले गरेको यो कारबाही स्वागत योग्य छ । यस्तो कारबाहीले पक्कै पनि सरकारको शिर उँभो बनाउने छ तर त्यसका लागि सुन काण्डमा संलग्नता भेटिएकाहरुलाई जोगाउने धन्दामा कोही लाग्नु हुँदैन । जोसुकै भए पनि कानुनी कारबाहीको दायरामा ल्याउन सके मात्र यो अपरेशनले सार्थकता पाउनेछ । सुन तस्करीमा संलग्न कसैलाई उम्किने मौका दिनु हुँदैन । कसैले कसैलाई बचाउने प्रयत्न गर्नु हुँदैन । सरकारले यो काण्डको गम्भीर रूपमा अनुसन्धान गरोस् । दोषीलाई निष्पक्षरूपमा कारबाही गर्नसके आम नागरिकमा पनि सरकारप्रति विश्वास बढ्नेछ । अहिलेको अवस्थामा आम नागरिकले पनि सही काम गर्नेलाई साथ दिनेछन् ।