विजयपुर । धरानमा डेङ्गु प्रकोप नियन्त्रण गर्न जनता समाजवादी पार्टी (जसपा) नेपालले ‘सर्च एन्ड डिस्ट्रोय’ अभियान सुरु गरेको छ ।

जसपाले बिहीबार धरान–११ बाट लामखुट्टेको लार्भा नष्ट गर्ने ‘सर्च एन्ड डिस्ट्रोय’ अभियान सुरु गरेको जसपा धरान अध्यक्ष ताजुव लिम्बूले जानकारी दिए । उनका अनुसार सर्च एन्ड डिस्ट्रोय अभियान सप्ताहव्यापी कार्यक्रम सुरु गरेको बताए । उनले डेङ्गुको बढी प्रकोप भएको क्षेत्रबाट सर्च एन्ड डिस्ट्रोय गर्ने र धरानका २० वटै वडामा अभियान चलाउने बताए ।

पहिलो दिन धरान ११ मा लार्भा नष्ट गर्ने र पोष्टर बाँडेर सचेतनामूलक कार्यक्रम पनि गरेको छ । आगामी दिनमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सहकार्य गरेर प्राविधिक समूहसहित अभियान चलाउने तयारी रहेको अध्यक्ष लिम्बूले बताए । उनले भने, ‘सप्ताहव्यापी कार्यक्रम हो, सकिएन भने समय थप्छौँ ।’