वराहक्षेत्र । वराहक्षेत्रको वडा नम्बर ९ स्थित चिहान डाँडामा  किशोरीहरूको दुई समूह बिच भएको कुटपिटमा संलग्न मुख्य नाइकेसहित सबै ५ जना आरोपीलाई प्रहरीले पक्राउ गरेको छ ।

घटनाका मुख्य योजनाकार वडा नम्बर ८ की २२ वर्षकी बिनिता उरावँसहित ९ नम्बर वडा  प्रकाशपुरकी १९ वर्षकी प्रीति लिम्बु र १८ वर्षीया दुर्गा राई, १९ वर्षकी सन्जिता र निहाङ्ग राईलाई पक्राउ गरिएको हो ।

कुटपिटमा संलग्न  प्रिंतीलाई  असार ३१ गते उनको घरबाट,  मुख्य आरोपी बिनिता उरावँ र दुर्गा राईलाई साउन २ गते इटहरीको बसपार्कबाट  अन्य दुई सन्जिता र निहाङ्ग राई ४ गते नगरपालिकाको वडा नम्बर ३ स्थित नडाहा चोकमा चेक जाँच गर्ने क्रममा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय चक्रघट्टीका इन्स्पेक्टर राजेश दत्तले बताए ।

सन्जिता र निहाङ्गलाई शुक्रबार म्याद थप गरिने छ भने यस अगाडि पक्राउ गरिएको बिनिता, प्रीति र दुर्गाको म्याद थप गरी अनुसन्धान भइरहेको इन्स्पेक्टर दत्तले जानकारी दिए ।

२९ गते साँझ ५ बजे भएको घटनामा बिनिता उरावँ, प्रीति लिम्बु, सन्जिता, निहाङ्ग र दुर्गा राईको समूहले सन्ध्या परियार, नबिना विश्वकर्मा र मनीषा राईलाई निर्घात कुटपिट गरेको पीडितलाई उद्धृत गर्दै इन्स्पेक्टर दत्तले बताए ।

घटनामा पीडित सन्ध्याले बिनितालाई मेरो ब्याईफ्रेन्डसंग किन बोलिस् भनेर गाली बेइज्जती गरेको हुँदा त्यसको बदला लिन बिनिता उरावँको समूहले सन्ध्याको समूहलाई झुक्काएर बोलाएर कुटपिट गरेको  इन्स्पेक्टर दत्तले बताए ।

मादक पदार्थ खाएका उनीहरूले बनिताको मोबाइल वाट एक जनाले भिडियो सुट गर्दै पीडितहरूलाई लात्ती र मुक्काले कुटपिट गरेको प्रहरीले बताएको छ ।