विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री तथा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य उद्धव थापाले अर्का केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीलाई कारबाही गर्न माग राखेका छन् ।

काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा बिहीबार थापाले गत मङ्सिर ४ गतेको निर्वाचनमा झापा क्षेत्र नम्बर २ का उम्मेदवारसमेत रहेका काङ्ग्रेसका झापा सभापति देउमान थेवेलाई हराउन भूमिका खेलेको भन्दै बुढाथोकीलाई कारबाहीको माग गरेका हुन् ।

बुधबारको बैठकमा बुढाथोकीले कोशी प्रदेशको नामकरणमा पार्टी नबोलेको भन्दै सरकारलाई मान्ने कि नमान्ने भन्ने प्रश्न गरेका थिए । बुढाथोकीको प्रश्नले काङ्ग्रेसको मनोबल घटाएको मुख्यमन्त्री थापाले बताए । ‘सिङ्गो काङ्ग्रेसको मनोबल घटाएको छ । शक्ति खुम्च्याउने काम भएको छ । सिंगो कांग्रेसको मन रोएको छ,’ मुख्यमन्त्री थापाले भने ।

बुढाथोकीले निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई भोट नहाल्न भन्दै फोन गरेको रेकर्ड कार्यकर्ताको मोबाइलमा भएको थापाको भनाइ छ । ‘काङ्ग्रेस झापा सभापतिलाई हराउने काम उहाँले गर्नुभएको छ । चुनावको मुखमा भागेर अष्ट्रेलिया गएर बस्नुभयो ।

चुनाव सकिएपछि नेपाल फर्किनुभएको छ,’ उनले भने, ‘चुनावका बेलामा गठबन्धनका उम्मेदवारलाई भोट नदेऊ, झापाका सभापति देउमान थेवेलाई भोट नदेऊ भनेर उहाँले फोन गरेको काङ्ग्रेसका कार्यकर्ताको मोबाइलमा रेकर्ड छ । पार्टी सङ्कटमा हुँदा भागेर जाने, अवसरमा आउने ठूला कुरा गर्ने रु’

बुढाथोकीले सभामुखको समर्थनमा मुख्यमन्त्री बन्नु गल्ती भएको भन्दै काङ्ग्रेसका कोशी प्रदेश सभापतिसमेत रहेका थापालाई मुख्यमन्त्री मान्ने कि नमान्ने भनी प्रश्न गरेका थिए । बिहीबार केन्द्रीय समिति बैठकमा बोलेका थापाले बुढाथोकीलाई जवाफ दिँदै आफूलाई मुख्यमन्त्री नमाने पनि हुने बताए ।

‘एउटा पार्टीको केन्द्रीय सदस्यले आफ्नो सरकारको नेतृत्वलाई बचाउनुपर्ने ठाउँमा मुख्यमन्त्री मान्ने कि नमान्ने भन्ने जो उहाँले प्रश्न गर्नुभयो । म भन्न चाहन्छु, तपाईंले हिक्मत कार्कीलाई मुख्यमन्त्री माने हुन्छ, नेपाली काङ्ग्रेसले निर्णय गरेको गठबन्धनको मुख्यमन्त्री उद्धव थापालाई मुख्यमन्त्री नमाने हुन्छ’–उनले भने ।

मुख्यमन्त्री थापाले काङ्ग्रेसका नेताले नै कोशीमा सभामुखलाई विवादमा पार्ने काम गरेको भन्दै बुढाथोकीको आलोचना गरे । ‘सभामुख भनेको एउटा सदस्य पनि हो प्रदेशसभाको । सदस्यको आफ्नो एउटा भूमिका हुन्छ, सभामुखको आफ्नो भूमिका हुन्छ’–उनले भने ।

सभामुखले सभाको अध्यक्षताका गरेको बेलामा मतदान गरेको भए गल्ती हुन सक्थ्यो भन्दै उनले बैठकको अध्यक्षता नगरेका बेला सरकार निर्माणमा परेको अप्ठेरो फुकाउन सहयोग गरेको बताए ।

‘हाम्रो कोशी प्रदेशको सरकार निर्माणको कुरा छ, हामीसँग ४६ मत छ, प्रतिपक्षमा ४६ मत छ । त्यसकारण एउटा सदस्यको नाताले सरकारलाई ‘डेडलक’ हुनबाट उहाँले रोक्नुभयो । निर्णयलाई अघि बढाउन अभिमत जाहेर गर्नुभयो । मतदान गर्नुभएको छैन’–थापाले भने ।

कोशीमा थापाले मुख्यमन्त्रीका लागि प्रदेश प्रमुखसमक्ष दाबी पेश गर्दा सभामुख बाबुराम गौतमको हस्ताक्षर पनि प्रयोग गरेका थिए । सो विषयमा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दिएको रिट सर्वोच्च अदालतमा विचाराधीन छ । सो मुद्दामा आफूले बुधबार लिखित जवाफ बुझाएको पनि थापाले बैठकमा सुनाए ।