विराटनगर ।  दोस्रो संस्करणको एसइई कप अन्तर विद्यालय स्तरीय रनिङ्ग शिल्ड फुटबल प्रतियोगितामा मोरङ र सुनसरीका पाँच वटा स्कुल विजय भएका छन् । 

विराटनगरमा शुक्रबार भएको खेलमा विराटनगरको मोर्डन एरा,  सगरमाथा, सत्यनारायण र सनसाइन स्कुल विजयी भएका हुन् ।

प्रतियोगिताको पहिलो खेलमा मोर्डन एरा स्कुलले कोरावन स्कुललाई १–० गोलले पराजित गर्‍यो । जितको लागि मोर्डन ऐराका अमन माझीले निर्णायक गोल गरे । उनी म्यान अफ द म्याच घोषित भए । 

दोस्रो खेलमा सगरमाथा माबिले हेरिटेज ई।स्कुललाई ९–० गोलले हरायो । जितको लागि सगरमाथाका समीयुल मियाँले ह्याट्रिक गर्दै तीन गोल, निरवाण श्रेष्ठ र गौरङ राईले २ –२ गोल गरे भने साईमन बस्नेत र प्रवेज आलमले १–१ गोल गरे । म्यान अफल द म्याच सगरमाथाका गौरङ राई घोषित भए । 

तेस्रो खेलमा सत्यनारायण माबिले एभरेस्ट स्कुललाई ४–० गोलले निरास बनायो । जितको लागि साजित आलमले २ गोल,  भरत चौधरी र हेमन्त राजबंशीले १–१ गोल गरे । म्यान अफ द म्याच सत्यनारायणका भरत चौधरी घोषित भए ।

चौथो खेलमा सनसाईन स्कुलले कोशी मोडल स्कुललाई टाई ब्रेकरमा ५–४ गोलले पराजित गरो । निर्धारित समयसम्म १–१ गोलको बराबरी भएपछि जितको छिनोफानो टाई ब्रेकरबाट भएको हो । खेलको म्यान अफ द म्याच सनसाइन स्कुलका सुप्रिम सुवेदी घोषित  भए । 

शनिबार पाँच वटा खेल हुने खेल संयोजक बिक्की कार्कीले जानकारी दिए । सभ्य कला समाज र सम्राट रिपोर्टिङ क्लबको संयुक्त आयोजनामा प्रतियोगिता भएको हो । साउन १३ गतेसम्म हुने उक्त प्रतियोगितामा मोरङ र सुनसरीका ४५ वटा विद्यालयको सहभागी रहेको संयोजक  कार्कीले जानकारी दिए ।