बराहक्षेत्र  । बराहक्षेत्र नगरपालिकाले डेङ्गु रोग रोकथामको लागि रोग सार्ने लार्भालाई खोज र नष्ट गर अभियान सुरु गरेको छ । नगरपालिकाको ११ वटै वडाहरूमा एकैसाथ सो अभियान सुरु गरेको हो ।

नगरपालिकाले रोग रोकथाम सम्बन्धमा स्वास्थ्यकर्मीसँग अन्तरक्रिया गर्दै बिहीबारबाट दिउँसोबाट अभियान सुरु गरिएको वराहक्षेत्र नगरपालिका प्रमुख रमेश कार्कीले बताए ।

अभियान अन्तर्गत नगरप्रमुख रमेश कार्की, वडा नं. १ र २ का अध्यक्षद्वय किसन थापा र होमप्रसाद गौतम तथा वडा नं. का १ सदस्यहरू कुमार भट्टराई, दीपक राई, यसैगरी वडा २ का सदस्यहरू चुनु श्रेष्ठ, सृजना परियार, चतरा अस्पताल व्यवस्थापन समितिका उपाध्यक्ष प्रदीप बस्नेत, चतरा अस्पतालका निमित्त कार्यालय प्रमुख योगेन्द्र कट्टेल कर्मचारी यम भण्डारी, उत्सव खतिवडा र इन्टर्न विद्यार्थीहरूको ६० जना सहभागी भएका थिए ।

उनीहरूले बयरवन, चतरा, खहरे लगायतको स्थानमा लार्भा खोज्ने र नष्ट गर्नुका साथै स्थानीयलाई बच्न सकिने उपायको सचेतना गराउने लामखुट्टे मार्ने विषादिको स्प्रे गरिएको नगरप्रमुख कार्कीले बताए । 

डेङ्गुको विषयमा नगरपालिका गम्भीर भएको भन्दै चक्रघट्टी नगर अस्पताल र चतरा अस्पतालमा निःशुल्क रोग परीक्षण थालिएको र नगरको असहाय र विपन्न भएका नागरिकलाई सेवा लिन गाह्रो तथा कुनै असुविधा भए सिधा नगरप्रमुखलाई सम्पर्क गर्न सकिने प्रमुख कार्कीले बताए ।

‘नगरको पहिलो प्राथमिकता भनेको जनताको स्वास्थ्य हो, अहिले डेङ्गु बढिरहेको सम्बन्धमा यसको प्रसार रोक्न राति पनि अभियानलाई तीव्रता दिएका छौँ’–उनले भने ।