–प्रकाश दिप्साली राई
नेपाली साहित्य बजारको दोकानमा यो वर्ष प्रशस्त कविता कृतिहरुले पाठकहरुलाई पर्खिरहेका छन् । उसो त नेपाली कविता विधा सबैभन्दा पुरानो भए पनि यसका पाठकहरु सबैभन्दा कम छन् भन्ने केही अध्ययनहरुले देखाउँछ । तर, कविता सबैभन्दा मन पराइने विधा पनि हो र कविताको विरासत आजसम्म डग्मगाएको छैन ।
कवितालाई थप परिस्कृत बनाउनलाई हुनुपर्छ सायद अनेकौँ आयाम, आन्दोलन र अभियानहरु आएका छन् र आउने गरेका छन् । नेपाली कवितामा थोपरिएको एकात्मक सोच र चलनहरुलाई बेला–बेला भत्काउँदै कविता सबैको बनाउने यत्नहरु गरिएका छन् ।
जस्तैः स्वच्छन्दवाद, सिर्जनशील अराजक लेखन, युद्ध साहित्य, पहिचान साहित्य, रङ्गवाद, किनाराकृत लेखनलगायत अनेकौँ अनेक । त्यसैको उपज हो, अहिलेका कविताका अनेक आयाम । यसमध्ये अहिले निक्कै पेचिलो बनेको कविता लेखन हो, पहिचान लेखन ।
पहिचान लेखनमा अहिले प्रायः मै हुँ भन्नेहरुको पनि नजर परेको छ । आवाजविहीनहरुको निम्ति होस्, अस्तित्व सङ्कटमा परेकाहरुको निम्ति होस्, बहसको हिसाबले होस्, या त यसलाई निषेधको दृष्टिले हेर्नेहरुमा नै किन नहोस् ? सबै सामु यसको प्रत्यक्ष अप्रत्यक्ष रुपमा प्रभाव छ नै ।
त्यसैले पनि यो लेखनमा पछिल्ला छिमलका कविहरु जिम्मेवारीका साथ कविता लेख्न थालेका छन् । यो लेखनमा गम्भीरता र जिम्मेवारीका साथ कवि इन्दु नेपाल योञ्जनले दर्बिलो उपस्थिति जनाएका छन् ।
‘ठीकै छ त्यसो भए
म यो देशको नागरिक हैन रहेछु
मेरो भाषा
मेरो संस्कृति
मेरो रीतिरिवाज
के सबै नागरिकका जस्तै हुन् त ?
चन्द्र–सूर्य अङ्कित भएको झण्डाले टाढा देख्ने
चन्द्र–सूर्य भएको आकाशमुनिको
नागरिक मात्र, मेरो अस्तित्व हो त ?’
(अनुत्पादक प्रश्न/४१)
कवि इन्दु जीसँग प्रत्यक्ष भेट प्रशस्त भयो होला तर, खास उनलाई यो कविताबाट समकालीन कविको रुपमा प्रगाढ रुपमा सङ्गत बढेको हो । म यो कविताको खास पाठक हुँ । यिनको कविता यो समयमा लेखिनुपर्ने कविता हो ।
जातीय उत्पीडनमा परेकालाई मुक्ति दिन्छु भनेर सिंहदरबार छिरेकाहरु उतैको सत्तामोह र त्यहाँको ऐस आराममा अल्मलिएपछि फेरि इन्दुहरुले ‘म तामाङ हुँ’ भन्ने अवस्था रहेको छ । यहाँसम्म कि आफूलाई आफूभन्दा कमजोरहरुले जिज्ञासा राख्दा आफू पनि निरुत्तर झैँ, मात्र आफू तामाङ भन्न सक्ने अवस्था कविमा छ ।
सात साल, पञ्चायत कालमा जसरी राज्य विभेदकारी नीतिमा क्रियाशील छ । जसको परिणाम राज्यलाई ‘म’ यो हो भनेर चिनाइरहनु परेको छ ।
‘आलो चिहानबाट निस्किएको बाफ
नजिकै हल्लिरहेको
चिहानमाथिको झण्डा
नजिकै पानीले भिजाएका
लास पोल्ने काठका मुढाहरु
सबै सबै परम्परा हुन्
वा जीवन जिउने यथार्थ कला’
(चिहानमाथिको झण्डा/८७)
इन्दुजीको यो कविता जीवन दर्शन र जीजिविषाले भरिएको कविता हो भन्ने लाग्छ । धेरैलाई यो कविताको शीर्षकले नै छुन्छ । इन्दुजीका कविताहरुमा उनका समुदायका विचारहरु, आवाजहरु टड्कारो रुपमा भेटिन्छन् । अनि कविताका पात्रहरुमा आफ्नोपन भेटिन्छन् ।
उत्पीडनका कुरा, सांस्कृतिक पक्ष, जीवन भोगाइका लयहरु पनि यसमा भेटिन्छन् । यो देश बहुजाति, बहुभाषी, बहुसंस्कृतिले भरिपूर्ण छ । तर, त्यहाँभित्रका सौन्दर्यहरुलाई हामीले लेख्न सकेका छैनौँ । राज्यका पक्षपोषकहरुबाट अपहेलित भइन्छ कि ? खिसी टिउरीको सिकार भइन्छ कि भन्ने त्रासले हामी हाम्रै कुरा लेख्न सङ्कोच मानिरहेका छौँ ।
यो बेलामा इन्दु योञ्जनहरुको उपस्थितिले खास महत्व राख्नेछ । भाषा, संस्कृतिले सम्पन्न भए पनि अन्य समुदाय तथा जातीय सौन्दर्यहरुको तुलनामा तामाङ समुदायको लेखनमा कम उपस्थिति छ । यस्तो बेलामा इन्दुजीहरुको आगमनले पक्कै पनि सो समुदायको निम्ति पक्कै गर्बिलो क्षण हो भन्ने लाग्छ ।
‘मकैका कलिला पात हल्लाउँदै
जरिबुट्टेमाथि चौँरी गोठमा
दिनभरि सुनपाती र भैरूङपाती
टिप्ने थेबालाई
सम्झनु डोल्मा
आफूलाई निक्कै भाग्यमानी सम्झिन्छे
तिङ न्हाङ्ला माया भन्दै
आरुका फूलहरु हेर्दै बर्बराउँछे ।
दिन निकै बाँकी हुँदै गर्दा
भालुखोप सिरान हुँदै
भुल्केसम्म कालो बादल मडारिन्छ
गड्याङगुडुङ बिजुली चम्कन्छ
एकैछिनमा ठूलो सन्त्रास सिर्जना हुन्छ
यो एकैछिनको
यो एकै पटकको
प्राकृतिक विपत्ति
डोल्मालाई निकै भारी पर्छ
किनकि गड्याङगुडुङसहित
चम्किएको निकै ठूलो आवाज
थेबा र थेबाको गोठमा नै बजारिन्छ ।’
(प्रिय थेबा/२३)
यो कविताले खाट्टी तामाङ गाउँमा पुर्याउँछ हामीलाई । डोल्मा, थेबा, आनी, तिङ न्हाङ्ला, सेमला माया आरुको फूल कति प्रिय लाग्ने पात्रहरु र त्यो समुदायको जनजिब्रोहरु ? वियोगान्त प्रेमको यो कविता निक्कै सुन्दर छ । कविले प्रेमको माध्यम बनाएर आफ्नो समुदायका ठेट शब्दहरु चयन गरेका छन् ।
जो आफैमा सुन्दर छन् । सेमला माया र तक्मारे अनि जीवन र जगत् गरी दुई खण्डमा विभाजित यो कृतिमा कविले आफ्नो उत्पीडन आवाज व्यवस्थाका नाइकेहरुसम्म पु¥याउन प्रयत्न गरेका छन् । देशमा अनेक व्यवस्था फेरिए तर, इन्दुजीहरुले बजाउने डम्फु बनाउन मरेको गाईको छाला उपयोग गर्न पाइँदैन।
हामीमाथि यो लोकतान्त्रिक व्यवस्थामा पनि उही राणा, पञ्चायतमा जसरी एकात्मक नश्लीय संस्कृति लादिएको छ । अनि हामी भनिरहहेका छौँ– ‘जाति, भाषा, धर्म र संस्कृतिले सम्पन्न मुलुक । एउटा मन्दिर र गुम्बा बनाउने बजेट विनियोजनको अन्तर आकाश–पाताल फरक छ ।
अनि कसरी भन्ने अनेक धर्म र संस्कृतिले सम्पन्न मुलुक ? बरु यहाँ त आसेङ, थेबा, डोल्मा र आनीहरु मानेडाँडा, मादीमुड्के, याङ गाउँहरुमा दुःखम–सुखम अहिले नै सेलो नाचिराखम् यो राज्यको कारण बा यही सेलो नाच नै पो ‘अन्तिम सेलो’ हुने हो कि भन्ने सङ्केत गर्न खोजिएको छ ।
‘बाजेको त्यही वचनले
भाषा आयोगको
अधिकृत भएको छु
धेरैवटा भाषाभाषीको जगेर्नामा लागेको छु
यति भनिरहँदा म प्रमुखको कुर्सीमा छु
बेल बज्दछ
सुब्बा हीराबहादुर खतियाडी
फाइल लिएर मेरै अगाडि उभिएका छन्
सुब्बा हीरा
दई शब्दबाट
म जन्मजात परिचित
बहुभाषिक सुन्दरताको बीचमा
कहिलेकाहीँ आफूलाई पेन्डुलम देख्दछु’
(बहुभाषिक सुन्दरता/३८)
केही गरीण् हामी सम्बन्धित थलोमा पुगे पनि पुरातन सोच र प्रवृत्तिले हामीलाई गाँजेर काम गर्न नसक्ने अवस्था छ । कविले कवितामा यी नै कुराहरुको कवितामा पोखेका छन् । यस्ता कविताहरुलाई नारा कविता भयो, कला शून्य कविता मान्दैनौँ भन्ने कविहरु पनि यदाकदा पाइन्छन् । पहिलो कुरा कविहरु सदा प्रतिपक्ष हुन् ।
दोस्रो सीमान्तकृत, उपेक्षितहरुले बोल्ने नरम र सरल भाषा, आवाज राज्यले बुझ्दैन । अझ भन्दा सुन्दैन । हाम्रो आवाज राज्यलाई सुनाउन पनि यस्तो कविता लेख्न आवश्यक छ । सम्भ्रान्त वर्गका र हरेक पक्षले पुगीसरी आएका कवि लेखकहरुलाई यी आवाजहरु खस्रो लाग्छ तर अभाव, उत्पीडनमा परेकालाई थाहा हुन्छ विभेदको पीडा कस्तो हुन्छ भनेर ? त्यो मानेमा पनि मुद्दा र विचारका कविता लेख्ने यसरी नै हो ।
मात्र त्यो त्यस्ता लेखन (नारा) लाई कति सभ्य र प्रभावकारी बनाउने भन्नेमा कवि सचेत हुने हो । कवि इन्दु यसमा सचेत छन् र नै ‘अन्तिम सेलो’ कविता कृति हाम्रो हातमा रहेको छ ।
बरु यो कविता कृतिभित्रका कविताहरु हेर्दा कवि आफ्नो थप कुरा राख्न अलि सङ्कोच मानेको हो कि भन्ने चाहिँ पाठकमा खड्किन्छ । अर्को कुरा चाहिँ पहिलो खण्डमा ‘सेमला माया तक्मारे’ मा अरु कविता आशा गर्न सकिन्थ्यो ।
त्यस्तै कृतिको नामकै ‘अन्तिम सेलो’ कविता पनि पाठकहरुले आशा गरेको हुनुपर्छ । हरेक हिसाबले यो नाम बलशाली छ । त्यसैले यो नामबाटै पाठकले कविताको अपेक्षा राख्नु स्वभाविक पनि हो ।
‘चिम्सो आँखा
खैरो आँखा
थेप्चो नाक
चुच्चो नाक
मानवताको धज्जी उडाएर
एक्वेरमका भुराहरुलाई
अक्सिजन भरिराख्न
हामी त्यही अक्सिजन
नदेखेर, नसुनेर र नभेटेर
मरिरहनुपर्छ
तड्पिँदै
तिम्रो क्यालकुलेटरमा
बढ्नेछ मृत्युको अङ्क बनेर ।’
(हामी मरिरहेका छौँ कोरोनासँग/१०२)
कवि लेखक आफैमा समयसापेक्ष हुन्छन् । समयको कालान्तरमा कोरोना महामारी एउटा कालखण्ड बन्नेछ । कविले अझ यो कवितामा सिर्जनशील सर्जकहरु जीवनको अन्तिम अवस्थासम्म पनि हतास हुँदैनन् भन्ने उदाहरण पेश गरेका छन् ।
सारा विश्व सन्त्रासमा जीवन जिए पनि इन्दुले निरन्तर कविता लेखिरहे । कोरोनाको मानसिक तनावभन्दा पर रहेर कवितामा रमाए र अरुलाई रमाउन सिकाए । यिनी स्वास्थ्यकर्मी पनि हुन्, कोरोना पीडितको छट्पटाहटले कति विक्षिप्त भए होलान् यी कवि तर सम्हालिए ति विक्षिप्ततालाई भुल्न कविताको सहारा लिए कविले ।
आवरण कलादेखि नै मन छुने इन्दुनेपाल योञ्जनको कविता कृति ‘अन्तिम सेलो’को कविताहरु पठनीय छन् । विचार र मुद्दाको हिसाबले झनै अब्बल कृति रहेको छ । किताब आएपछि आउने टिका टिप्पणीलाई धैर्यताका साथ आत्मसात गर्दै जानुपर्छ ।
त्यो धैर्यताले अरु सुन्दर कविताको जन्म हुन्छ । यो कृतिको निम्ति कवि इन्दु नेपाल योञ्जनजीलाई बधाई साथै कृति सफलताको शुभकामना ।