धरान । काठमाडौँ निवासी धरानेहरूलाई बगैँचा बनाउन पशुपति विकास कोषले प्रदान गरेको पशुपतिनाथ परिसरको जमिनमा शनिबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले उद्घाटन गरेका छन् ।
धरानको विजयपुरबाट लगिएको बाँस, रुद्राक्ष, बेल, सालका बिरुवाहरू रोपण गरेर उद्घाटन गरेका हुन् । ती बिरुवा धरान–१४ का वडाध्यक्ष कृष्ण भट्टराईले सङ्कलन गरेर काठमाडौँ पठाएका थिए । ४ प्रजातिका बाँसका बिरुवाहरू भने ओशो आश्रम धरान सर्दु खोलाबाट लगिएको थियो । वृक्षरोपण कार्यक्रममा मन्त्री किराती आफैले खाडल खनेर बिरुवाहरू रोपण गरे भने विजयपुर निवासी सरोज खनालले स्वस्तिशान्ति मन्त्रोच्चारण गर्दै सबैले धुप–दीप बालेर बगैँचा निर्माणको शुभारम्भ गरेका थिए ।
‘रुद्राक्षरण्य धरान वाटिका’ नाम दिइएको सो बगैँचाको वरिपरि विभिन्न जातका बाँस रोपेर बाँसको जैविक म्युजियम र बीच भागमा दन्तकाली, पिण्डेश्वर, बूढासुब्बा, पञ्चकन्या, वराहक्षेत्र मन्दिरहरूको रूप झल्कने जैविक मन्दिर बनाइने योजना रहेको बताइएको छ । चार महिनाभित्र बगैँचा बनाउन धरानको स्पेक्ट्रम कन्सल्टेन्सीले नापजाँच गरी डीपीआरको काम गरिरहेको छ । उद्घाटनपश्चात् बोल्दै मन्त्री किरातीले अब धार्मिकस्थलहरूमा धर्म र प्रकृतिलाई जोड्ने प्रयास गर्नुपर्ने बताए । त्यसका लागि यो बगैँचा उदाहरणीय बन्न सकोस् भन्ने शुभकामना दिएका थिए ।
कार्यक्रममा धरान उपमहानगर पालिकाका उपमेयर अइन्द्रविक्रम बेघा, कोशी प्रदेशकी पूर्वउपसभामुख सरस्वती पोख्रेल, वरिष्ठ गायक तथा सङ्गीतकार दीप श्रेष्ठ, पशुपति विकास कोषका सदस्य–सचिव डा. मिलनकुमार थापालगायत सहभागी थिए । पशुपतिनाथ मन्दिरजस्तो पवित्र तीर्थस्थलमा अध्यात्मिक बगैँचा बनाउने अवसर पाउनु धरानेहरूको लागि अर्को गौरवको विषय भएकोले यसको निर्माणको लागि धरानभित्र र बाहिर बस्ने सबै धरानेहरू जुट्नुपर्ने धरानका उपप्रमुख बेघाले बताए । अब यो बगैँचा निर्माणको लागि धरान सरोकार मञ्च काठमाडौंले पनि पहल लिने कुरा मञ्चका महासचिव सरोज खनालले बताए ।
गौशाला चोकदेखि प्रहरी चौकी हुँदै पशुपति मन्दिर जाने बाटैमा पर्ने झण्डै एक बिगाहा जमिनमा फैलिएको पक्की पर्खालसहितको सो स्थानमा सुरक्षाको लागि पर्यटक प्रहरी चौकी पनि रहेको छ । सफा पशुपति, सुन्दर पशुपति भन्ने नारा दिएर मन्त्री किरातीले ३ महिना पशुपतिनाथ मन्दिरपरिसर सफाइ अभियान चलाएपछि पशुपतिनाथ परिसरमा रहेका अन्य खाली जमिनहरूलाई पनि बगैँचा बनाउन विभिन्न सामाजिक सङ्घ–संस्थालाई प्रस्ताव आह्वान गरिएको थियो । सोही प्रस्तावअनुसार धरान बाहिरका धरानेहरूको नाममा हालिएको प्रस्तावलाई कोषले शर्तसहित बगैँचा बनाउन स्वीकृति दिएको थियो ।