धरान । काठमाडौंमा आयोजित शिक्षासम्बन्धी अवार्ड कार्यक्रममा धरानको पब्लिक हाईस्कुलले ‘एक्सिलेन्स एजुकेसन अवार्ड’ पाएको छ ।

देशभरका उत्कृष्ट शैक्षिक संस्था र शिक्षा क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरूलाई सम्मान गर्न केन्द्रबिन्दु डटकमले आयोजना गरेको अवार्डमा धरानको पब्लिक हाईस्कुलले सामुदायिक विद्यालयतर्फ अब्बल शिक्षण संस्थाका रूपमा अवार्ड पाएको हो ।

कोशी प्रदेशमै नमुना विद्यालयका रूपमा परिचित पब्लिक हाईस्कुलमा हाल करिब ३५ सय विद्यार्थी अध्ययनरत छन् । विद्यालयले ६ वटा बस सञ्चालन गरेर टाढाका विद्यार्थीहरूलाई समेत सुविधा दिँदै आएको छ । स्कुलमा नर्सरीदेखि कक्षा ७ सम्म अङ्ग्रेजी माध्यम र ८ देखि १२ कक्षासम्म नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पढाइ हुँदै आएको छ ।

शिक्षा, व्यवस्थापन, मानविकी, विज्ञान र प्राविधिक शिक्षा पढाइ भइरहेको पब्लिकमा कम्प्युटर साइन्स, ब्युटिपार्लरलगायत सिटिईभिटीका कार्यक्रमसमेत सुरु गरिएको विद्यालयले जनाएको छ । केही वर्षदेखि विद्यालयमा आएको शैक्षिक गुणस्तर र विद्यार्थी सङ्ख्याको आधारमा अवार्डका लागि छनोट गरिएको आयोजकले जनाएको छ ।

विद्यालयका प्रधानाध्यापक इन्द्रमोहन झा देशभरका विद्यालयहरूबीच भएको मूल्याङ्कनमा पब्लिक हाईस्कुल उत्कृष्ट ठहरिएकोमा खुसी लागेको बताउँछन् । उनी भन्छन्, ‘यो हामी शिक्षक, कर्मचारी, अभिभावक र विद्यार्थीको मेहनतको फल हो ।’