विजयपुर । माध्यमिक तह परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएपछि विद्यालयहरूले विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा सङ्कायमा भर्ना खुल्यो भन्दै प्रचार–प्रसार गरे र गरिरहेका छन् ।

कक्षा ११ र १२ लाई माध्यमिक तहमा राखेर सरकारले सङ्कायको अवधारणा हटाए पनि निजी तथा सरकाररी विद्यालयहरू भने अहिले पनि सङ्कायकै प्रचार गरिरहेका छन् ।

अझ कतिले त सङ्कायगत मात्रै नभएर विषयगत रूपमा उत्कृष्ट भन्दै प्रचार–प्रसारमा होडबाजी नै चलिरहेको छ । निजी तथा संस्थागत विद्यालय मात्र होइन, सामुदायिक विद्यालयले पनि प्रचार–प्रसारमा यही सिको गरिरहेका छन् । तर, अहिले सङ्कायको अवधारणा नै हटिसकेको शिक्षाविद् तथा महेन्द्र बहुमुखी क्याम्पस धरानको शिक्षा सङ्कायका उप–प्राध्यापक बालचन्द्र कट्टेल बताउँछन् । उनी भन्छन्, ‘सङ्कायको अवधारणा हटिसक्यो । अब सङ्काय भन्न मिल्दैन ।’

उनी माध्यमिक तहमा ‘एकल पथ प्रणाली’ लागू भएको बताउँदै भन्छन्, ‘प्लस टु पनि भन्न पाइँदैन । जसले भनिरहेका छन्, उनीहरूले बुझेका छैनन् । बानी परेर भनिरहेका छन् ।’ उनी कक्षा ११ र १२ मा सङ्काय नभनी विषयगत समूह भन्नुपर्ने उनी बताउँछन् । उनी भन्छन्, ‘मानविकी सङ्कायको एउटा मेजर विषय नेपाली भएजस्तै होटल मेनेजमेण्ट सङ्काय वा समूह नभई व्यवस्थापन विषयको एउटा मेजर विषय हो । स्नातक तहमा पनि त्यस्तै हो ।’

माध्यमिक तह कक्षा ११ र १२ मा लागू भएको पाठ्यक्रमअनुसार अनिवार्य विषय नेपाली, अङ्ग्रेजी र सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा अध्ययन गर्नुपर्छ । अनि तीनवटा ऐच्छिक विषय अध्ययन गर्नुपर्छ । ऐच्छिक पहिलो समूहमा विभिन्न १५ वटा विषय रहेका छन् । ऐच्छिक दोस्रो समूहमा १५ वटै विषय रहेका छन् । ऐच्छिक तेस्रो समूहमा २८ विषय छन् । ऐच्छिक चौथो समूहमा २१ विषय छन् ।

यस्तै संस्कृतितर्फ परम्परागतः गोन्पा÷मदरसामा पनि ऐच्छिक समूह रहेका छन् । ऐच्छिक विषयमा मिलाएर राख्ने गरिन्छ । जसलाई सङ्काय नभनी विषयगत समूह भन्नुपर्ने हुन्छ । शिक्षा समन्वय इकाई सुनसरीका सूचना अधिकारी निर्मल बराल सङ्काय नभनी विषयगत समूह भन्नुपर्ने बताउँछन् । उनी भन्छन्, ‘विज्ञान समूहका, शिक्षा समूहका विषय भन्नुपर्छ ।’ तर, स्कुलहरू सङ्कायगत रूपमा प्रचार–प्रसार गरिररहेका छन् ।