विराटनगर  । विराटनगर–५ का २८ वर्षीय रोहित चौधरीको जन्मदिनकै दिन लुटेराको समूहले सुनसरीको इटहरी–धरान सडक–खण्डको चारकोसे जङ्गलक्षेत्रमा गोली हानी हत्या गरेका छन् ।

शुक्रबार बेलुका साथीसँग मूलघाट पुगेर फर्कंदै गर्दा सेउती पुलनजिकै तीन जनाको समूहले लुटपाट गर्न खोजेको थियो । प्रतिकार गर्दा उनीमाथि गोली प्रहार भएको पाइएको सुनसरीका प्रहरी प्रवक्ता डिएसपी राजकुमार राईले बताए । गोली हानी जङ्गलतर्फ भागेको समूहको खोजी भइरहेको डिएसपी राईले बताए । अहिलेसम्म गोली हानी हत्या गर्ने लुटेरा समूहको पहिचान भएको छैन । पक्राउ पनि परेका छैनन् ।

प्रहरीका अनुसार घटनामा चौधरीकी केटी साथी सामान्य घाइते भएकी छन् । उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । ‘मूलघाटबाट फर्कने क्रममा सेउती पुल कटेपछि बाइक रोकेर पानी खान खोज्दा पानमारातिरबाट आउने बाटोमा लुटपाटको प्रयास भएको रहेछ’ डिएसपी राईले भने, ‘प्रतिकार गर्दा चौधरीमाथि गोली प्रहार भएको देखिन्छ ।’ गोली लागी गम्भीर घाइते भएका चौधरीको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा शुक्रबार बेलुका नै मृत्यु भएको थियो ।

यसैगरी मोरङको लेटाङ नगरपालिकाको जङ्गल क्षेत्रमा असार २३ गते शनिबार लुटपाट भयो । पथरीबाट जाँतेतर्फ जाँदै गरेका लेटाङ–८ का ओमप्रकाश रानामगरलाई दिउँसै अज्ञात समूहले लुटपाट गरेको हो । घटना लेटाङ–९ जाँते–पथरी सडक–खण्डमा भएको थियो । हतियारसहित ५ जनाको समूहमा रहेको लुटेरा समूहले लुटपाट गरेको थियो । ३ जना लुटपाटमा संलग्न भएको र २ जनाले सहयोग गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । पथरी बजारबाट प्लम्बिङको सामान लिएर मोटरसाइकलमा घरतर्फ जाँदै गरेका मगरमाथि ५ जनाको समूहले लुटपाट गरेको प्रहरीले जनाएको छ । रानामगरले आफ्नो साथमा रहेको ओप्पो मोबाइल र ४ हजार रूपैयाँ नगद लुटिएको जानकारी प्रहरीलाई गराएका थिए ।

घटनाका बारेमा प्रहरीले राति ८ बजेतिर खबर पाएको हो । घटनामा संलग्नको हालसम्म पहिचान खुलेको छैन र पक्राउ पनि परेका छैनन् । रानामगरले प्रहरीलाई दिएको जानकारीअनुसार घटनामा संलग्नमध्ये १ जनाले रेनकोट र १ जनाले रातो क्याप लगाएका थिए । ‘रेनकोट लगाएका व्यक्तिले सडकको बीचमा आएर हात उठाए । ट्राफिक प्रहरी होलान् भनेर मोटरसाइकल रोकेँ’ प्रहरीलाई उनले भनेका छन्, ‘त्यसपछि ३ जनाले खुकुरी देखाएर साथमा भएको पैसा र मोबाइल निकाल्न लगाए । पैसा र मोबाइल लिइसकेपछि अरू केही नगरिकन छाडिदिए ।’

आफूमाथि कुटपिट र आक्रमण भने नभएको तथा मोटरसाइकललाई पनि केही नगरेको रानामगरले प्रहरीलाई बताएका छन् । तर, ‘लक’ खोल्न सिकाइमागेर मोबाइल लगेको उनले बताए । बाटो हिँड्ने केही प्रत्यक्षदर्शीले प्रहरीलाई दिएको जानकारीअनुसार लुटपाटमा ५ जनाको संलग्नता छ । घटनापछि हुलिया परिवर्तन गरेर घटनास्थलबाट उनीहरू फरार बनेको प्रत्यक्षदर्शीले प्रहरीलाई बताएका छन् ।

त्यसैगरी असार दोस्रो साता कानेपोखरी जङ्गलक्षेत्रमा सोही किसिमको लुटपाट भएको थियो । सोही दिन केराबारीको जङ्गलमा समेत लुटपाट भएको प्रहरीकहाँ उजुरी परेको छ । लुटपाटका घटनामा लागूऔषध सेवनकर्ता संलग्न भएको प्रहरीको आशङ्का छ ।

उल्लेखित घटना प्रतिनिधिमूलक घटना हुन् । पछिल्लो समय सुनसरी र मोरङको चारकोसे झाडीमा लुटपाट, चोरी, ज्यान मार्ने उद्योग र कर्तव्य ज्यान मुद्दाका  आपराधिक घटना बढिरहेको कोशी प्रदेश प्रहरीको अभिलेखमा देखिन्छ । यसरी सुनसरी र मोरङको चारकोसे झाडी र जङ्गलमा एकपछि अर्को गर्दै आपराधिक घटना बढ्दा सर्वसाधारणले असुरक्षा महसुस गर्न थालेका छन् ।

प्रदेश प्रहरी कार्यालय विराटनगरले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७८/०७९ मा १४ जिल्लाका प्रहरी कार्यालयहरूमार्फत् ७ हजार ३ सय ८४ वटा मुद्दा दर्ता भएका छन् । दर्ता भएकामध्ये ३ हजार ७ सय २९ मुद्दा फछ्र्यौट र ३ हजार ६ सय ४५ मुद्दा फछ्र्यौट हुन बाँकी रहेको प्रदेश प्रहरी कार्यालय विराटनगरको अभिलेखमा देखिन्छ । आर्थिक वर्ष २०७९÷०८० मा  ७ हजार ९१ वटा मुद्दा दर्ता भएको छ । आर्थिक वर्षमा सबैभन्दा बढी लागूऔष, जबरजस्ती करणी, करणीको प्रयास, आत्महत्या, कर्तव्य ज्यानलगायतका मुद्दा सबैभन्दा बढी छन् ।

मोरङ प्रहरीको तथ्याङ्कअनुसार जेठ महिनायता एक सय ६७ वटा मुद्दा दर्ता भएका छन् । जसमध्ये एक सय ३० जनालाई पक्राउ गरी कारबाही गरिएको छ । २२ वटा चोरी, १७ वटा भवितव्य ज्यान, ११ वटा सवारी ज्यान, ९ वटा जबरजस्ती करणी, ५ वटा सवारी अङ्गभङ्ग, ४ वटा ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको हो ।

आपराधिक उपद्रो गरी लाभसम्बन्धी कसूर, शरीर बन्धक, मानव बेचबिखन, कुटपिट, सवारी चोरी, बाल यौन दुरुपयोग, हाडनाता जबरजस्ती करणीजस्ता शीर्षकमा पनि मुद्दा दर्ता भएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका डिआइजी राजेशनाथ बास्तोलाले जङ्गल क्षेत्रमा आपराधिक घटना हुने गरेकोले यस क्षेत्रमा निगरानी पनि बढाइएको बताए ।

‘कुनै घटना निश्चित समयमा बढ्ने र कतिपय घटना भइसकेपछि केही समयसम्म त्यस्तै किसिमका अन्य घटना भइरहने प्रवृत्ति छ’ डिआइजी बास्तोलाले भने, ‘हामीले विभिन्न आपराधिक घटनामा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौँ ।’

गोली हानी हात्या भएको घटनामा प्रहरीले सूक्ष्म ढङ्गले अनुसन्धान गरिरहेको बताए । ‘हामीले सबै कोणबाट अनुसन्धान गर्दै आएका छौँ’ उनले भने, ‘चाँडै आपराधिक क्रियाकलापमा संलग्न व्यक्ति कारबाहीको दायरामा आउनेछ ।’

मोरङका लेटाङ, कानेपोखरी, पथरीलगायतका जङ्गलमा लुटपाटका घटना बढेपछि विशेष प्रहरी टोली परिचालन गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले बताए । ‘ठ्याक्कै यही मान्छेले घटना गराएको भन्ने नभएकाले हामीले विशेष प्रहरी टोली परिचालन गरी अनुसन्धान सुरु गरेका छौँ’–उनले भने ।

शोकमा डुब्यो सम्झना टोल
विराटनगर । विराटनगर–५ सम्झना टोलका २८ वर्षीय रोहित चौधरीको लुटेरा समूहले गोली हानी हत्या गरेपछि उनको टोल शोकमा डुबेको छ । सुनसरीको इटहरी–धरान सडक–खण्डको सेउती पुलनजिकै लुटेरा समूहले चौधरीको गोली हानेर शुक्रबार हत्या गरेपछि सम्झना टोल शोकमा डुबेको हो ।

कसैका आँखा ओभानो छैनन् । आमा जानकीलाई भने छोराको मृत्युको खबर सुनाइएको छैन । उपचार भइरहेको भनेर ढाँटिएको छ । तर, पनि आमा शुक्रबार साँझदेखि नै बेहोस छिन् । बेला–बेलामा मूच्र्छा हुने गरेको रोहितकी ठूला बुबाकी छोरी शान्ता चौधरीले बताइन् । रोहित र उनकी काकाकी छोरी बहिनी नोबेल मेडिकल कलेजमै काम गर्छन् ।

हत्यापछि पहिलो खबर भने काकाकी छोरीले थाहा पाएकी थिइन् । औषधि पसलको दाइले दाजुको हत्या भएछ भनेर सुनाएका थिए । उनले आँट गरेर घरमा सुनाइन् ।  थोरै मात्रै बोलेकी रोहितकी बहिनीले आफ्नो नामसमेत भन्न सकिनन् । रोहितका बुबा चिनजानकै हुन् । तीनै जनाको आँगन एउटै हो ।  बुबा काठका मिस्त्री हुन् भने माइला र कान्छा काका घरमा मार्बल लगाउने काम गर्छन् । रोहितका तीन जना दाजुभाइ छन् । उनी जेठा हुन् । भाइ माइला पनि निजी क्षेत्रमा नै काम गर्छन् भने कान्छा भने पढिरहेका छन् । हजुरबुबा रामबहादुर चौधरी १७ वर्षदेखि ओछ्यानमा छन् । उनलाई प्यारालाइसिस भएको छ । रोहित आइहाल्छ कि भनेर बाटोतिर मात्रै हेरेर हजुरआमा बस्ने गरेको शान्ताले बताइन् ।

brt dead