नेपाली कांग्रेसलाई विधानअनुसार चलाउन नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।
‘हामी सबै एउटा खेलको नियममा बाँधिएका छौँ र बाँधिनुपर्छ । जसरी देश संविधानबाट चल्छ त्यसैगरी कांग्रेस पनि पार्टी विधानबाट अगाडि बढाउने परम्परा बसालौँ’, डा. कोइरालाले भने, ‘हाम्रा भातृ र शुभेच्छुक संस्थाहरुलाई पनि विधानअनुरुप अगाडि बढाउने काम गरौँ । विधानले सबैले गर्ने काम तोकेको छ । हामी कतिले के–के ग¥यौं मनन गरौँ ।’
१४ औं महाधिवेशनपछि कांग्रेसले दस्ताबेज नल्याएको भन्दै डा. कोइरालाले कांग्रेसमा विचारको खडेरी हुन नहुने बताए । डा. कोइरालाले जनजीविकाको सवालमा जनताले सरकार भएको अनुभूति गर्न नसकेको बताए । उनले यसप्रति कांग्रेसबाट मन्त्री बनेकाहरुले गम्भीर हुनै पर्ने विचार राखे । ‘कांग्रेस सरकारमा छ भन्ने अनुभूति जनतालाई दिलाउनेतर्फ साथीहरु सचेत हुनुहोला ।’ बैठकमा कोइरालाले जनजीविकाको सवालमा जनताले सरकार भएको अनुभूति गर्न नसकेको बताए । ‘यसप्रति हामी र पार्टीबाट मन्त्री बनेकाहरुले गम्भीर हुनै पर्छ । कांग्रेस सरकारमा छ भन्ने अनुभूति जनतालाई दिलाउनेतर्फ साथीहरु सचेत हुनुहोला ।’ केन्द्रीय कार्यसमिति बैठकमा धारणा राख्दै डा. कोइरालाले भने ।
आज हामी झण्डै एकवर्षको अन्तराल पछि यहाँ भेला भएका छौँ । कैयन साथीहरुलाई विधान विपरित यसरी एकवर्ष पछि भेला हुने अवस्था किन र कसरी उत्पन्न भयो होला भन्ने जिज्ञाशा हुनसक्छ । यसको जवाफ सभापति र पदाधिकारी साथीहरुबाट आउने नै छ भन्ने विश्वास गरौँ ।
१. बैठक लाइभसम्बन्धी –
अहिलेको विश्व लोकरिझ्याईमा चलेको छ । सायद त्यसैको सिको हामी पनि गर्दैछौँ । केन्द्रीय समितिको बैठक लाइभ गर्नु त राम्रै हो र हाम्रा लागि नयाँ प्रयोग पनि हो । यसले पारदर्शितालाई प्रवर्धन त गरेको छ तर यो सुरु गर्दा कार्यविधि तय गरेर गरेको भए राम्रो हुने थियो जस्तो लाग्छ । कुन विषय बन्द कोठामा गर्ने र कुन विषय खुल्ला गर्ने भन्ने कुराको परिधि तय गरिनुपथ्र्यो । मलाई लाग्छ परराष्ट्र, समसामयिक विषयहरु, अन्तरदलीय विषय, निर्वाचन रणनीति आदि कुराको स्पष्ट गाइडलाइन बनाऔँ ।
२. महामन्त्रीको सांगठनिक कार्यतालिका –
महामन्त्रीले प्रस्तुत गर्नु भएको पार्टीको सांगठनिक कार्यतालिका समग्रमा राम्रै छ । कांग्रेस ‘मासबेस’ पार्टी भनिन्छ तर सांगठानिक कार्यक्रम ‘क्याडरबेसमा आधारित देखिन्छ । केन्द्रले जिल्लालगायत तल्लो तहमा कार्यक्रम गर्दा प्रदेश समितिसँग समन्वय र जानकारी गराउनुपर्ने प्रावधान थपिनुपर्छ । किनकी यसले संघियताप्रति हामी प्रतिबद्ध छौँ भन्ने कुरा उजागर गर्छ । अर्कोतर्फ अन्य महत्वपूर्ण नेताहरुको स्मृति दिवस छुटेको छ, ती पनि समावेश गरिनुपर्छ ।
३. गठबन्धनबारे–
कांग्रेसले गठबन्धन गरेर ठीक वा बेठीक ग¥यो भनी अब बस्ने समय छैन, आगामी निर्वाचनहरु कांग्रेसले एक्लै लड्ने तयारी आजबाटै गर्नेछौँ भनी शपथ खानु पर्नेछ । किनकी गत निर्वाचनबाट हामीले प्राप्त गरेको पपुलर मत विभाजित कम्युनिष्ट पार्टीभन्दा पनि कम छ ।
गएको आम निर्वाचनमा गठबन्धन गरेर कांग्रेस संसदभित्र ठूलो दल भएको छ । ठूलो दलको हैसियतले सरकारको नेतृत्व गर्न हामीलाई प्राविधिक कारणले सम्भव भएन तर पनि अहिले हाम्रो समर्थनको संघीय सरकार छ र प्रदेश सरकारमा पनी हामी छौँ । संसदमा कांग्रेस पार्टीभित्र अपेक्षित उर्जा प्रस्फुटन हुन किन नसकिरहेको होला भन्ने प्रश्न हाम्रो सामु छ । मलाई यो भनिरहँदा कुनै संकोच छैन कि हाम्रो पार्टी यतिखेर चौतर्फी विरोधी विचारहरुबाट मात्र आक्रमणमा परिरहेको छैन, राष्ट्रिय र क्षेत्रीय रुपमा उदाएका नयाँ पार्टीहरुबाट पनि चुनौतीको घेरामा छ ।
४. सरकारको कामकाज –
सरकारको कामकाज समीक्षा र प्रभावकारिताबारे अहिले भनिहाल्नुपर्ने समय भएको छैन तर गठबन्धनको मर्म अनुसार सरकार सञ्चालन भएको छ कि छैन वा मन्त्रीहरुले स्वत स्फुर्त काम गर्न पाएका छन् कि छैनन् भन्ने विषयमा भने सोच्नुपर्ने समय आएको छ ।
स्थानीय सरकारदेखि प्रदेश हुँदै केन्द्र सरकारसम्म सहभागी कांग्रेस प्रतिनिधिहरुबाट जन अपेक्षा अत्यन्त बढी छ र त्यस अनुरुप हामीले जनतालाई चित्त बुझाएर काम गर्न नसक्दा हाम्रो पार्टीको भविष्य मात्र अन्धकार हुने होइन नेपालको लोकतन्त्र पनि कमजोर र दिशाहीन हुन जानेतर्फ साथीहरु सचेत हुनुहुनेछ । महँगी र कालाबजारीले जनता आक्रान्त छन् ।
जनजीविकाको सवालमा जनताले सरकार भएको अनुभूति गर्न सकेका छैनन् । यसप्रति हामी र पार्टीबाट मन्त्री बनेकाहरुले गम्भीर हुनै पर्छ । कांग्रेस सरकारमा छ भन्ने अनुभूति जनतालाई दिलाउनेतर्फ साथीहरु सचेत हुनुहोला ।
५. दण्डहीनता–
राज्यका जिम्मेवार निकायहरुकै कारण देशमा पछिल्ला दिनहरुमा दण्डहीनता बढेर गएको छ । नीतिगतरुपमै कानुन बनाएर दण्डहीनतालाई प्रश्रय दिने काम भइरहेको छ । हाल संसदमा रहेको ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक–२०८०’ तत्काल खारेज गरिनुपर्छ । यदि यो विधेयक संसदबाट पारित भए देशमा दण्डहिनताले संस्थागत रुप लिन्छ । जनता दण्डहीनताको अन्त्य गर्न कांग्रेसले नेतृत्वदायी भूमिका खेलोस् भन्ने चाहना राख्छन् ।
६. अन्य राजनीतिक दल सम्बन्धी –
समाजवादी मोर्चा किन बनेको हो ? गठबन्धन भित्रैबाट बनेको यसको औचित्य के हो ?
७. भ्रष्टाचार र सुशासन–
भ्रष्टाचार र सुशासन दुई विपरीत दिशामा हिँड्छन । कांग्रेसले सुशासनको नारा दिने मात्र होइन, भ्रष्टाचार र भ्रष्टाचारीलाई संरक्षण किमार्थ गर्दैन भन्ने विश्वासको वातावरण निर्माण नगरी जनताको घरदैलोमा भोट माग्न जान अब सम्भव छैन ।
८. भुटानी शरणार्थी प्रकरण–
भुटानी शरणार्थी प्रकरण अत्यन्तै संवेदनशील र पेचिलो विषय हो । यस विषयमा केवल भावनामा बगेर र हलुका टिप्पणी गरेर पन्छन सक्ने अवस्था छैन । यो प्रकरणले अन्तराष्ट्रिय तहमै नेपालको छवि धमिलिएको छ । यसमा हामी सचेत र गम्भीर बन्नुपर्ने आवश्यकता छ । यस विषयमा यो केन्द्रीय समितिले पारदर्शिता र सुशासनका पक्षमा उभिन सक्ने नैतिक बल दिनेछ भन्ने विश्वास लिएको छु ।
९. निर्वाचन प्रणाली–
प्रत्यक्ष निर्वाचन प्रणाली भित्रबाटै समानुपातिक र समावेशीको सुनिश्चितता गरिनुपर्छ र त्यसको पहल नेपाली कांग्रेसले गर्नुपर्छ ।
१०. विदेशमा बस्ने नेपालीहरुको मताधिकार–
विदेशमा बस्ने नेपालीहरुलाई समानुपातिक प्रणालीमा मताधिकार दिने भनेर निर्वाचन आयोगले भनेको छ । यस सम्बन्धी कानुन बनाएर कार्यान्वयनका लागि कांग्रेस पार्टीले जोड दिनुपर्ने आवश्यकता छ ।
११. बदलिँदो भूराजनीति–
बदलिँदो भूराजनीतिलाई मध्यनजर गर्दै नेपालको अन्तराष्ट्रिय कुटनीतिमा देखिएको असंगति र अस्थिरतालाई देशको जिम्मेवार र ठूलो पार्टीको नाताले एकपटक गम्भीरतापूर्वक सोचौँ, हामी अन्तराष्ट्रिय राजनीतिको क्रिडास्थल नबनौँ ।
१२. पार्टीमा एकताबद्ध हुन आह्वान
विभिन्न कारणले कांग्रेसको मूलधारबाट अलग्गिएका र छेउ किनारामा पुगेका कांग्रेसजनलाई सम्मानजनकरुपमा घर फर्कने बाटो खोलिनुपर्छ । कांग्रेस पार्टीले व्यक्तिको राजनीतिक सुरक्षा र राष्ट्र निर्माणमा समान अवसर सबैलाई दिन्छ भन्ने सन्देश प्रवाह गर्नसके हामीसँग अनेकन कारणले असन्तुष्ट भएकालाई फेरि मूलधारमा ल्याउन सकिन्छ । तसर्थ यसअघि जुनसुकै कारणले कांग्रेसबाट अलग्गिएका साथीहरुलाई पार्टीमा पुनः एकताबद्ध हुन आह्वान गरौँ ।
सभापतिज्यू,
१३. जनतासँग जोडौँ–
सत्तालाई मात्र अन्तिम सत्य मान्दा राजनीतिक मूल्य, मान्यता, सिद्धान्त र आदर्श कमजोर बन्दै गएको छ । हामी जनतासँग टाढिएका छौँ । जनता र हामी बीचको खाडल पुर्नुपर्ने अहिलेको पहिलो आवश्यकता हो । लोककल्याणकारी राज्य निर्माणमा हामी चुकेका छौँ । जसका कारण पार्टीमा नैतिक र सांस्कृतिक विचलन आएको छ । यसलाई क्रमशः न्यून गर्दै पार्टीको नैतिक पक्षलाई पूनस्र्थापित गरेर बिपी कोइरालालगायत हाम्रा अग्रजहरुको सोचको कांग्रेस फेरि निर्माण गर्नुछ । जनताले पत्याउने र भरोसा गर्ने कांग्रेस निर्माण गर्ने कार्य अब पनि ढिलो गर्दा हामी असान्दर्भिक हुने खतरा बढ्दो छ ।
तसर्थ नेपाली समाजको बदलिँदो आर्थिक, सामाजिक र सांस्कृतिक आलोकमा पार्टीभित्र अनेकन् पेशा, व्यवसाय, वर्ग र समुदायको सहभागिता अनिवार्य नै भएको छ । पार्टीलाई देशभित्र र बाहिरका श्रमिक, विज्ञ, विशेषज्ञ, पूर्व प्रशासक र समाजका प्रतिष्ठित व्यक्तिहरुसँग नजोडी पुरानो शैलीमा मात्र पार्टी सञ्चालन गर्ने समय अब रहेन । त्यसकारण पार्टीका विभिन्न तहमा निश्चित प्रतिशत तय गरी यस्ता व्यक्तिवाट पार्टीले लाभ लिने व्यवस्था गरौँ ।
सभापतिज्यू,
१४. विधान अनुसार चलौँ–
हाम्रो राजनीतिक भविष्य मात्र होइन देशको लोकतन्त्रको भविष्य पनि हाम्रो चरित्र र कार्यशैलीद्वारा निर्देशित हुन्छ । हामी सबै एउटा खेलको नियममा बाँधिएका छौँ र बाँधिनु पर्छ । जसरी देश संविधानबाट चल्छ त्यसैगरी कांग्रेस पनि पार्टी विधानबाट अगाडि बढाउने परम्परा बसालौँ । हाम्रा भातृ र शुभेच्छुक संस्थाहरुलाई पनि विधान अनुरुप अगाडि बढाउने काम गरौँ । विधानले सबैले गर्ने काम तोकेको छ । हामी कतिले के–के गर्यौ, मनन् गरौँ । लामो समयपछि बसेको केन्द्रीय समितिको बैठक आरोप–प्रत्यारोप र कुण्ठा पोख्ने थलो मात्र बनेको देखियो । यो राम्रो लक्षण हैन । यसले हामी हाम्रो लक्ष्य र गन्तव्यमा पुग्न सक्दैनौँ ।
१५. महासमिति बैठक –
१४ औँ महाधिवेशनले नेतृत्व चयन मात्र ग¥यो । । कुनै पनि पार्टी उसको नीति, सिद्धान्त र कार्ययोजनाले मात्रै जीवन्त रहन्छ । नेपाली कांग्रेस विचारले भरिएको पार्टी हो तर १४ औँ महाधिवेशन पछाडि यसले आफ्नो राजनीति दस्तावेज ल्याएको छैन । अहिले पार्टीमा विचारको खडेरी छ । त्यसकारण विधान अनुसार अबिलम्ब महासमितिको बैठक बोलाई नीति तथा कार्यक्रम ल्याउनेतर्फ जानुपर्छ ।
अन्तमा,
पार्टी सुधारको कुरा कसैलाई सुनाउन वा देखाउनलाई होइन । पार्टीलाई जीवन्त र समय सापेक्ष राख्न हो । सस्तो लोकप्रियता र लहडले संगठन चल्दैन । परिपक्व र जिम्मेवार बनौँ । दूरदराजका जनताको आवाज सुनौँ । केवल शब्द रटानमा मात्रै होइन, व्यवहारिकरुपमै आफूलाई परिवर्तन गरौँ । विधानले व्यवस्था गरे अनुसार बसौँ र छलफल गरौँ । कांग्रेसलाई बहस, चिन्तन र विचारको नयाँ युगमा प्रवेश गराऔँ । कांग्रेस रुपान्तरण भनेकै यही हो । जय नेपाल ।