वराहक्षेत्र नगरपालिकाबाट प्रकाशन भइरहेको एकमात्र छापा माध्यम कोशीसम्मान साप्ताहिक पत्रिकाको शुक्रबार १० औं स्थापना दिवस मनाइएको छ ।
स्थापना दिवसका अवसरमा स्थानीय संचारकर्मीहरुलाई सम्मान र अवार्डबाट सम्मानित गरिएको छ । साप्ताहिक पत्रिकाले साहित्यकार, लेखक, विज्ञापनदाता, चन्दादाता, कर्मचारी र सल्लाहकारलाई समेत सम्मान गरेको छ ।
सम्मानित हुने संचारकर्मीहरुमा नवराज विष्ट, सन्तोष गुप्ता र कृष्ण वहाव रहेका छन् । यस्तै संचारकर्मीहरु विजयकुमार राउतलाई ‘वराहक्षेत्र पत्रकारिता विकास अवार्ड’, ‘कोशी सम्मान खोज पत्रकारिता अवार्ड’ बाट सञ्चारकर्मी सुविन विश्वकर्मा र ‘कोशी सम्मान साहित्यिक पत्रकारिता अवार्ड’ बाट कवि प्रकाश दिप्सालीलाई सुशोभित गरिएको छ ।
चन्दादाताका तर्फबाट संचारकर्मी साथै लक्ष्मीकंक्रिट उद्योगका सञ्चालक प्रदीपकुमार चौधरीलाई सम्मान गरिएको छ । यस्तै ग्रामीण पत्रकार समूहका संस्थापक अध्यक्ष बाबुराम कार्की र शिक्षक अभियोग राई, विज्ञापनदाताहरु, कर्मचारी र सल्लाहकारलाई कदरपत्र तथा प्रशंसा पत्र प्रदान गरिएको थियो ।
सम्मानितहरुलाई नगर प्रमुख रमेश कार्की, उपप्रमुख नन्दकुमारी सुनुवारले सम्मानपत्र हस्तान्तरण गरेका थिए । यस्तै वडा ५ का वडाध्यक्ष रोहित काफ्ले, वडा ७ का वडाध्यक्ष कपिल आचार्य र वडा ८ का वडाध्यक्ष रोशन खड्का साथै महिला सरोकार समाजकी अध्यक्ष कमला थापाले कदरपत्र र प्रसंशा पत्र प्रदान गरेका थिए ।
नगर उपप्रमुख सुनुवारले वराहक्षेत्रको विकासमा कोशी सम्मान पत्रिकाले रचनात्मक कलम चलाएको भन्दै प्रशंसा गरिन् । नगरका पत्रकारले वराहक्षेत्रको विकासमा पार्टी वा व्यक्ति भन्दा माथि उठेर सम्पूर्ण नगरवासीको हित र विकासमा हातेमालो गर्नु पर्ने नगर प्रमुख रमेश कार्कीले बताए ।
स्थानीय रेडक्रस भवनमा तेजनाथ दाहालको अध्यक्षता र छविना मगरको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन हिरण्य कार्कीले गरेका थिए ।