धरान– चतरा (मदन भण्डारी राजमार्ग) विस्तारका लागि जग्गा उपलब्ध गराउन वराहक्षेत्र नगरपालिकाले वडा कार्यालयमार्फत् सूचना प्रकाशित गरेको छ ।

मदनभण्डारी राजमार्ग विस्तार गर्र्दा स्थानीयको जग्गा परे क्षतिपूर्ति र मुआब्जा माग गर्न नपाइने भएको छ । स्थानीयले कुनै प्रकारको क्षतिपूर्ति र मुआब्जा माग नगर्ने भन्दै मन्जुरीनामा दिनुपर्ने भएको छ । वडा कार्यालयले वराहक्षेत्र १ को झण्डाचोकदेखि सर्दू खोलासम्म सडक विस्तार हुने भएपछि वडाभित्रका स्थानीयलाई जग्गा उपलब्ध गराउन सार्वजनिक सूचना जारी गरेको छ । 

सूचनामा भनिएको छ– ‘झण्डाचोक हुँदै सर्दू खोला सडक खण्ड निर्माण तथा सडकलाई चाहिने सडकको मापदण्डअनुसारको जग्गाको प्राप्ति उपलब्धताको सुनिश्चितता गर्नका लागि सम्बन्धित जग्गावालाहरुले कुनै पनि क्षतिपूर्ति तथा मुआब्जा मागदाबी नगरी सडक निर्माण गर्न दिनेछौं भनी मन्जुरीनामा दिनको लागि सूचना प्रकाशित गरिएको छ ।’

सडक विस्तार निर्माणका लागि स्थानीयसँगको छलफलमा सहमति जुटेको वराहक्षेत्र नगरपालिकाका नगर प्रमुख रमेश कार्कीले जानकारी दिए । ‘सात मिटर पिच, डेढ–डेढ मिटर सोल्जर, एकएक मिटर नाला गरी १२ मिटरको सडक हुनेछ,’ नगर प्रमुख कार्कीले भने, ‘घरहरु जाने सम्भावना छैन, २ वटा घर जाने अवस्था देखिए पनि त्यसमा सहमति भइसकेको छ ।’

हाल सूचना प्रकाशित गरेको र थप छलफलका लागि स्थानीयसँग पहल प्रयत्न गर्ने नगर प्रमुख कार्कीले बताए । 

खोलामा पुल छैन, राजमार्गको चर्चामात्रै 

‘बाघ खोला र बगुवा खोला धरान–चतरावासीका लागि दुःखको रुपमा रहेको थियो रहिरहेकै छ र अब कहिलेसम्म रहने हो ? अनुमान गरे पनि हिसाब मिल्ने अवस्था छैन ।’ स्थानीय गुनासो गर्छन् । 

स्थानीय खेमबहादुर खड्का भन्छन्, ‘छिमेकी गाउँहरु विकासले धपक्कै बलेका बेला, बस्तीबस्तीमा कालोपत्रे पुगेका बेला धरान चतराको हविगत उस्तै । पुरानो व्यापारिक केन्द्र जोड्ने सडक शिक्षा, स्वास्थ्य, रोजगार र बजारजस्ता आधारभूत आवश्यक्ता परिपूर्ति गर्ने सडक बन्न सकेको छैन ।’

खोलाले स्थानीयलाई बर्सेनी दुख दिन्छ । धरानसँग चतराको समपर्कविच्छेद गर्छ । वराहक्षेत्रकै वडा एकमा पर्ने बगुवालाई वडा कार्यालय र चतरा बजारसम्म आइपुग्न समस्या हुन्छ । स्थानीयको दैनिकीलाई असहज बनाउँछ यो बाघ खोलाले । झन्डै एक किलोमिटर फैलिएर बग्ने यो खोला वराहक्षेत्रबासीसँगै उदयपुरसम्मका मानिसलाई बर्सेनी दुःख दिन्छ । 

bagh khola photo (1)

‘वराहक्षेत्रवासीलाई बाघ खोलाले बर्सेनी दुःख दिन्छ । पानी पर्नासाथ बाघ खोला बहुलाएर आउँछ । बाघ खोलाको बितण्डाका कारण धरान चतरा गर्ने यात्रुहरुले सास्ती खेप्दै आउनु परेको छ ।’ खेमबहादुर भन्छन् । 

शिक्षा, स्वास्थ्य, रोजगार र बजारका लागि धरानमा आश्रित वराहक्षेत्र, चतरा र उदयपुरको रामपुरसम्मका मान्छेले बाघ खोलाकै कारण सास्ती खेप्दै आएका छन् । बाघ खोलासँग पौंठेजोरी खेलेकै कारण कतिले आफ्ना सवारी गुमाएका छन् । कति मान्छे आफैं घाइँते भएका छन् । बाघ खोलाबाट सिर्जित दुर्घटनाका कारण बर्सेनी क्षति पुग्दै आएको छ ।

‘स्थानीय सरकार आइसकेपछि पनि बाघ खोलाको मति उस्तै छ । धरान चतरा गर्नेहरुको गति पनि उस्तै छ । बाघ खोलामा एउटा कजवे पनि बनाउन सकेको छैन राज्यको निकायले । तीन तहका सरकार पनि आँखा चिम्लेर बसेको छ ।’ स्थानीयसँग पीडा पोख्नुको उपाय छैन । ‘धरान चतरा कालोपत्रे हुने रे भन्ने सुनेका मान्छे बुढा भइसके । तर धरान चतराको यो दुःख समाधान हुन सकेको छैन । बाघ खोलाको दुःखबाट मान्छेले पार पाएका छैनन् ।’ वराहक्षेत्र १ का वडाध्यक्ष किसन थापा भन्छन् । 

मदन भण्डारी राजमार्ग धरान–चतरा सडक खण्ड अन्तर्गत आयोजनाका इन्जिनियर सुमन खतिवडाका अनुसार ६० देखि ७० मिटर सम्म लम्बाईमा बन्ने पुलको चौडाई ९ मिटर भित्र, १–१ मिटर दुबै तर्फ मान्छे आवतजावत गर्ने पेटि रहने छ ।  पुलको कुल लागत १० करोड रुपैयाँ छ । सडक तथा पुलको ठेक्का लागिसकेको छ । ठेकेदारले २ वर्षभित्रमा काम सम्पन्न गर्नु पर्ने सर्त रहेको छ । तर यो वर्षामा समेत स्थानीय खोलासँग संघर्ष गर्न बाध्य छन् । 

चतराको झण्डाचोकदेखि धरानको सर्दूखोलासम्म दुई लेनको ९ मिटरको पिच बन्ने छ । 

मदन भण्डारी राजमार्ग करिब १२०० किलोमिटर लामो र दुई लेनको हुनेछ । यो राजमार्ग झापाको शान्तिनगरबाट सुरु हुनेछ र सुनसरीको धरान, चतरा, उदयरपुरको गाईघाट, कटारी, सिन्धुलीको सिन्धुलीमाडी, मकवानपुरको हेटौंडा, नवलपरासीको गैंडाकोट, पाल्पाको रामपुरबाट गुल्मीको रिडी पुग्नेछ । त्यस्तै गुल्मीको तम्घास, शिमलटारी, प्युठानको बागदुला, देवीस्थान, दाङको घोराही, तुलसीपुर, पुरनधारा, सुर्खेतको बोटेचौर, बड्डीचौर, डोटीको सिमचौर, वीपीनगर, कैलालीको सहजपुर, डडेलधुराको बुडर, जोगबुढा हुँदै रुपालसम्म पुग्नेछ ।