चारकोसे झाडी धरान–इटहरी सडक–खण्डमा केही दिनअघि दिउँसै एक युवामाथि गोली प्रहार भयो । उनको उपचारका क्रममा मृत्यु भयो । प्रहरीले लुटेरा समूहले गोली हानेको अनुमान गरेको छ तर, यो घटनाले उब्जाएको गम्भीर प्रश्न के हो भने कोसी राजमार्गको व्यस्त सडक–खण्डमै दिनदहाडै गोली प्रहार हुन थालेपछि आम नागरिक कसरी सुरक्षित रहने ? गोली प्रहार भएको तीन दिन बितिसक्दा पनि प्रहरीले अपराधी पत्ता लगाउन सकेको छैन । यो घटनाले प्रहरी प्रशासनमाथि पनि प्रश्न उठ्न थालेको छ । राजमार्गमा यात्रा गरिरहेको एउटा नागरिक दिनदहाडै गोलीको सिकार हुने अवस्था कसरी आयो ? के लुट्नकै लागि उनीमाथि गोली हानिएको थियो वा अरू कुनै कारण छन् ? प्रहरीले यस विषयमा गम्भीरतापूर्वक अनुसन्धान गर्नु जरुरी छ ।
गोली प्रहार त पछिल्लो घटना हो । यसअघि पनि चारकोसे झाडी क्षेत्रमा पटक–पटक लुटपाटका घटना हुने गरेका थिए । विभिन्न पीडितहरूले प्रहरीमा दिएका उजुरीअनुसार चारकोसे झाडी छोएको सडक–खण्ड अन्तर्गत सुनसरी र मोरङका विभिन्न ठाउँमा मोबाइल, पैसा र विभिन्न सामग्री लुटपाट हुने गरेको छ । सुनसरीको धरान–इटहरी सडक–खण्ड र मोरङका लेटाङ, केराबारी जङ्गललगायतका क्षेत्रमा भएका लुटपाटमा हतियारधारी समूह रहेको पीडितहरूले बताएका छन् । यसरी हतियारधारी समूह बनाएर लुटपाट भइरहेको देखिन्छ । कोशी प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कले पनि सुनसरी र मोरङको चारकोसे झाडीमा लुटपाट, चोरी, ज्यान मार्ने उद्योग र कर्तव्य ज्यान मुद्दाका आपराधिक घटना बढिरहेको देखाउँछ । सर्वसाधारण नागरिक यस्तो अपराधबाट पीडित बनिरहँदा प्रहरी प्रशासनले सुरक्षाको प्रत्याभूति दिन सकेको देखिँंदैन । आम नागरिकको सुरक्षाको जिम्मेवारी लिएको नेपाल प्रहरीले विशेष रूपमा यी आपराधिक घटनाहरूप्रति गम्भीरता देखाउनु जरुरी छ । प्रहरीले चारकोसे झाडी क्षेत्रमा विशेष प्रहरी टोली परिचालन गरेको बताएको छ । तर, प्रहरीले अपराधी पक्राउ गर्न नसक्दा सामान्य चोरीबाट, लुटपाट हुँदै गोली हानी हत्यासम्मका घटना भएका छन् । यसबाट प्रहरीको कार्य क्षमतामा प्रश्न उठ्न थालेको छ भने अपराधीहरूको मनोबल बढिरहेको घटनाक्रमले देखाउँछ ।
प्रहरीले विभिन्न सुरक्षा रणनीति बनाए पनि अपराधको तथ्याङ्क बर्सेनि बढ्दो छ । यो विषयमा समीक्षा गर्दै प्रहरीले सुरक्षा व्यवस्था कडा बनाउनु आवश्यक छ । प्रहरी अधिकारीहरूले बेलाबखत ‘नागरिकको सहयोग विना प्रहरी एक्लैले केही गर्न नसक्ने’ अभिव्यक्ति दिने गरेका छन् । तर, त्यसका लागि नागरिकसँग सहकार्य गर्ने प्रभावकारी नीति अवलम्बन गर्न सकेको देखिँंदैन । ‘प्रहरी मेरो साथी’, ‘मुस्कान सहितको प्रहरी’ जस्ता अभियान नचलेका होइनन् तर, अभियानअनुसार काम हुनुभन्दा पनि प्रहरीले आम नागरिकलाई गर्ने हेपाहा व्यवहारका कारण यस्ता अभियान सफल हुन सकेका छैनन् । आम नागरिकलाई विना वर्दीका प्रहरी भनेर फकाउने मात्र होइन, उनीहरूलाई नै अपराध रोकथाम र सूचनाको स्रोत बनाउनसके प्रहरीले धेरै अपराध नियन्त्रण गर्न सक्छ । आम नागरिकले साथ दिए भने अपराधी उम्कन पाउँदैनन् । आखिर अपराधी पनि यही समाजका मान्छे हुन्, अन्य ग्रहबाट आउने होइनन् । यदि प्रहरीले आम नागरिकसँग मिलेर अपराध नियन्त्रण गर्ने नीति अवलम्बन गर्ने हो भने नागरिकले नै अपराधी देखाइदिने वा पक्राउ गरेर बुझाइदिन सक्छन् । अनि उनीहरूमार्फत् समाजमा शान्ति सुरक्षा कायम गर्न सहज हुन्छ । हालसम्मको अभ्यासमा प्रहरीले मात्र यस्तो नीति कार्यान्वयन गर्न नसकेकाले सरकारले नै प्रहरी नागरिक सहकार्यको नीति ल्याएर गाउँ गाउँ, टोल टोलमा जनचेतना र दीर्घकालका लागि अपराध न्यूनीकरणका कार्यक्रम लागू गर्नु आवश्यक हुन्छ । आम नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउनु राज्यको दायित्व पनि हो ।