मोरङ । विराटनगर महानगरपालिकाले विद्यालयहरूलाई छात्रवृत्तिको विवरण पेश गर्न २४ घण्टे अल्टिमेटम दिएको छ ।
विराटनगर महानगरपालिकाको संस्थागत छात्रवृत्ति व्यवस्थापन समितिको आइतबार बसेको बैठकले सोमबार कार्यालय समयभित्र छात्रवृत्तिको विवरण पेश नगर्ने विद्यालयहरूमाथि कानूनी कारबाही अगाडि बढाउने निर्णय गरेको छ ।
महानगरका मेयर नागेश कोइरालाको अध्यक्षतामा बसेको बैठकले शैक्षिक सत्र २०७९ को बालविकास कक्षादेखि कक्षा १२ सम्म र शैक्षिक सत्र २०८० को बालविकासदेखि कक्षा १० सम्म अध्ययन गर्ने विद्यार्थीहरूका लागि उपलब्ध गराएको छात्रवृत्ति वितरणको विवरण हालसम्म पेश नगर्ने विद्यालयमाथि कारबाही अगाडि बढाउने निर्णय गरेको हो ।
विवरण पेश नगर्ने विद्यालयको नाम महानगरको वेभसाइटमार्फत् सार्वजनिकसमेत निर्णय गरेको छ । सोमबार ५ बजेसम्म छात्रवृत्तिको सम्पूर्ण विवरण पेश नगरे त्यस्ता विद्यालयमाथि कारबाही प्रक्रिया अगाडि बढाउने मेयर कोइरालाले बताए ।
एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणाली (आईईएमआईएस) अनुसार विराटनगर महानगरपालिका क्षेत्रभित्र संस्थागत विद्यालयको सङ्ख्या ८९ रहेको छ । त्यस्तै (आईईएमआईएस)मा दर्ता नभएका विद्यालयको सङ्ख्यासमेत जोड्ने हो भने महानगरभित्र करिब एक सयको हाराहारीमा संस्थागत विद्यालयहरु सञ्चालनमा रहेका छन् ।
त्यसमध्ये आइतबार कार्यालय समयभित्र ६५ वटा विद्यालयले शैक्षिक सत्र २०७९ को छात्रवृत्ति वितरणको विवरण पेश गरेका छन् । सोही शैक्षिक सत्रमा २७ वटा विद्यालयले अझै विवरण पेश गरेका छैनन् । त्यस्तै २०८० का लागि ५५ वटा विद्यालयले विवरण पेश गरेको शैक्षिक प्रशासन महाशाखाका अधिकृत रमेश खड्काले जानकारी दिए । खड्काका अनुसार २०८० का लागि ३७ वटा विद्यालयले विवरण पेश गर्न बाँकी रहेको छ ।
यसैगरी शैक्षिक सत्र २०८० मा कक्षा ११ को छात्रवृत्ति व्यवस्थापनसम्बन्धी परीक्षा महानगर आफैले लिने तयारी गरेको उपमेयर शिल्पा निराला कार्कीले जानकारी दिइन् ।