विराटनगर । कोशी अस्पतालको उत्तरतर्फ रहेको छ, रेडियोलोजी विभाग । विभागको छेउमा पुरानो साविकको बच्चा वार्ड रहेको छ । त्यही वार्डको एउटा कोठामा थन्क्याएर राखिएका छन्, एनआईसीयूका उपकरणहरू । कोशी प्रदेशको सबैभन्दा ठूलो सरकारी अस्पताल विराटनगरस्थित कोशी अस्पतालमा एक वर्षभन्दा बढीदेखि एनआईसीयूको उपकरण स्टोरमा थन्किएको छ ।

नवजात शिशुलाई राखेर उपचार गरिने एनआईसीयू सेवा बन्द भएको एक वर्षभन्दा बढी भएको छ । यस बीचमा तीन जना मेडिकल सुपरिटेन्टडेन्ट (मेसु) फेरिए । तत्कालीन मेसु डा. यज्ञराज खरेलको पालामा एनआईसीयू सेवा बन्द भयो । त्यसपछि डा. लक्ष्मीनारयण यादव र डा. रविराज सिंह मेसु भए । सिंहको पालामा नयाँ भवनबाट सञ्चालन गर्ने तयारी गर्दै गर्दा उनको ठाउँमा मेसु डा. चन्द्रभाल झा आएका छन् । यसरी एक वर्षमा तीन जना मेसु फेरिए । अस्पतालको स्टोरमा थन्किएको उपकरणमा माकुराको जालो फैलियो । तर, थन्किएको उपकरण जडान गरी एनआईसीयू सञ्चालनमा ल्याउनेतर्फ अस्पताल प्रशासनको ध्यान गएको छैन । जसले गर्दा आर्थिक रूपमा विपन्न सामुदायका बिरामीले चर्को शुल्क तिरेर निजीमा उपचार गराउन बाध्य भएर जानुपर्ने अवस्था रहेको छ ।

नयाँ भवन बनेर बच्चा वार्ड सरेको एक वर्ष हुन लाग्दा पनि बन्द गरेको एनआईसीयू सेवा सुचारू नगर्दा बिरामीले सास्ती पाएका छन् । ठाउँ अभाव र दक्ष जनशक्ति नभएको कारण देखाउँदै कोशी अस्पताल प्रशासनले एक वर्ष अगाडिदेखि एनआईसीयूका उपकरणहरू स्टोरमा थन्क्याएर राखेको छ । स्टोरमा एनआईसीयूमा आवश्यक पर्ने उपकरणहरू ताला लगाएर राखेको छ ।

अस्पतालको बच्चा वार्ड पुरानो भवनबाट सरेर नयाँ भवनमा गएको एक वर्ष हुनलाग्दा पनि अस्पताल प्रशासनले एनआईसीयू सुचारु गर्न चासो देखाएको छैन । पुरानो भवनमा रहँदा पाँच शø्याको एनआईसीयू सुचारु रहेको थियो । २ करोड ६ लाख ८६ हजार ९ सय ५७ रुपैयाँ लागतमा निर्माण भएको लिफ्टसहितको नयाँ भवनमा बच्चा वार्ड सरेको एक वर्ष हुनलाग्दा पनि एनआईसीयू सुचारु हुन नसकेको हो । नयाँ भवनमा बच्चा वार्ड गतवर्ष १६ साउनमा सरेको थियो । अहिले बच्चा वार्डमा ३२ शøया रहेको छ । भेन्टिलेटर आवश्यक पर्ने नवजात शिशुदेखि बालबालिकाहरूलाई एनआईसीयूमा राखेर उपचार गरिन्छ । कोशीको गाइनो वार्डमा दैनिक २० देखि २५ वटासम्म प्रसूति हुने गरेका छन् । जसमध्ये हप्तामा ५ देखि १० जनासम्म नवजात शिशुलाई एनआईसीयूमा राखेर उपचार गर्नुपर्ने हुन्छ ।

तर, अस्पतालको एनआईसीयू सुचारु नहुँदा विपन्न परिवारका बिरामी समस्यामा परेका छन् । ‘पैसा हुनेले त निजीमा गएर उपचार गर्छन् । कोशीमा आउने विपन्न हुन्छन् । त्यसमाथि निजीमा उपचार गर्दा चर्को शुल्क तिर्नुपर्ने अवस्था रहेको छ’ कोशी अस्पतालमा भेटिएका खगेन्द्र बराइलीले भने, ‘कोशीमा भए दिनको एक हजार रुपैयाँमा उपचार हुने रहेछ । निजीको एनआईसीयूमा राखेर उपचार गर्दा दिनको ८ देखि १५ हजार रुपैयाँसम्म तिर्नुपर्दो रहेछ ।’ मोरङको कानेपोखरी गाउँपालिका–६ का बराइलीले एक वर्षको छोरी निमोनियाले ग्रस्त भएपछि कोशी अस्पतालमा लिएर आएका थिए । यहाँका चिकित्सकले बिरामीको अवस्था हेरेपछि एनआईसीयूमा राखेर उपचार गरिनुपर्ने सुझाव दिए । आर्थिक अवस्था नाजुक भएको बराइली परिवारले सस्तोमा उपचार हुने भएकोले कोशीमा बिरामी लिएर आएको बताए । तर, कोशी अस्पतालमा एक वर्षदेखि एनआईसीयू बन्द रहेको छ । कोशीमा एनआईसीयू बन्द भएको कारणले चर्को शुल्क तिरेर निजीमा छोरीको उपचार गराउन बाध्य भएको बराइलीले सुनाए ।

कोशी अस्पतालका बच्चा विभागका प्रमुख डा. रामनारायण चौधरीले जनशक्ति अभावको कारणले एनआईसीयू सञ्चालन नभएको बताए । ‘अहिले ज्वरो र इन्फेक्सन भएका बिरामी बालबालिका आउने गरेका छन्’ डा. चौधरीले भने, ‘यहाँ उपचार हुनसक्ने बिरामीलाई वार्डमा राखेर उपचार गर्दै आएका छौँ । गाह्रो भएका बिरामी र एनआईसीयूमा राखेर उपचार गर्नुपर्ने बिरामीलाई एनआईसीयू भएको हस्पिटल लैजान सुझाव दिँदै आएका छौँ ।’

कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चन्द्रभाल झाले पुरानो भवनबाट नयाँ ठाउँमा सारेर एनआईसीयू सञ्चालनको तयारीमा लागिपरेको बताए । ‘पुरानो आईसीयूमा एनआईसीयू सञ्चालन गर्ने तयारी गरिएको छ’ उनले भने, ‘निर्माण कार्य पनि भइरहेको छ । थप जनशक्तिको व्यवस्थापन गरेर एनआईसीयू सञ्चालन गर्ने तयारी गरिएको छ ।’ चाँडै एनआईसीयू सञ्चालनमा लागिपर्ने उनले बताए ।