– ललिता काण्ड गर्ने, सुन तस्करी गर्ने, व्रह्मलुट गर्ने, देशमा कुशासन सञ्चालन गर्ने, सिंहदरबारका ठेकेदारी गर्नेलाई भन्न चाहान्छु– अब दिनहरु विस्तारै गन्ती हुँदैछन् । 

– अपराधीहरुमाथि कारवाही हुँदैन । ठूलाठूला माछाहरुलाई न अख्तियारले छुन सक्छ न सिबिआईले नै छुन सक्छ । अब फेरि एकपटक नेपाली जनता सडक संघर्षमा आउनु परेको छ । तेस्रो जनआन्दोलनको तयारी गर्नुपरेको छ ।

– सडकबाटै  हामी परिवर्तन गर्छौं । नेपाली जनताको  आन्दोलन हुनेछ । अब हुने तेस्रो जनआन्दोलन कुनै विदेश शक्तिको आडमा होइन । नेपाली जनताले, नेपाली जनताको लागि गर्ने नेपालीको आन्दोलन हुनेछ ।

***

एक सय किलो सुन प्रकरणपछि राप्रपा नेपालका अध्यक्ष कमल थापाले सडकमा हजारौं जनता उतारेका छन् । उनले देश संकटको दलदलमा भासिएको बताएका छन् । शान्तिवाटिकामा हजारौं समर्थकमाझ उनले अबको परिवर्तन सडकबाट हुने उद्घोष गरेका छन् । ‘सडकबाटै  हामी परिवर्तन गर्छौं । नेपाली जनताको  आन्दोलन हुनेछ । अब हुने तेस्रो जनआन्दोलन कुनै विदेश शक्तिको आडमा होइन । नेपाली जनताले, नेपाली जनताको लागि गर्ने नेपालीको आन्दोलन हुनेछ ।’ सम्बोधनका क्रममा अध्यक्ष थापाले भने । उनले तेस्रो जनान्दोलनको तयारी गरिरहेको बताए । यहाँ हामीले अध्यक्ष थापाको सम्बोधनको अंश प्रस्तुत गरेका छौं । 

***

आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरु देश अहिले संकटको दलदलमा भासिएको छ । नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु मिटरब्याजबाट पीडित भएर महिनौंदेखि संघर्षमा उत्रिरहनु भएको छ । तर उहाँहरुले न्याय पाउनुभएको छैन । 

नेपाली सेनाबाहेक राज्यका सबै अंग सबै संरचनाहरुमा धमिरा लागेको छ । भत्किसकेको अवस्था छ । जनताले न्यायको आशा गर्ने अदालतबाट हो । तर अदालतमा पार्टीका कार्यकर्ताहरु भागबण्डाका आधारमा भर्ती हुन्छन् । 

अदालतले पार्टीको  आदेश बमोजिम सेटिङको आधारमा आफ्नो फैसला सुनाउँछ र सर्वसाधारण जनताले झुक्किएर  कागताली पर्दाखेरि न्याय पाउनेबाहेक अहिलेको यो भ्रष्टतन्त्रमा न्याय पाउन सक्ने  अवस्था करिबकरिब समाप्त भएर गइसकेको छ  । स्वच्छ निर्वाचन प्रजातन्त्रको मेरुदण्ड हो । स्वच्छ निर्वाचन गराउने जिम्मा बोकेको निर्वाचन आयोग पार्टीका दाबेदार, चाकडीदारहरुले भरिएको छ । र, पार्टीको आदेशबमोजिम निर्वाचन आयोग कार्य गर्दछ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पार्टीका कार्यकर्ताहरु भर्ती भएका छन् । त्यसको कारणले गर्दा राजनीतिक नेतालाई अख्तियार अनुसन्धान दुरुपयोग आयोगले कारवाही गर्न सक्दैन ।


सिंगो कर्मचारी प्रशासन पार्टीको लाचार छायाँ बनेको छ । सुरक्षा अंगहरु समेत लाचार छायाँको  रुपमा रहेका छन् । इमान्दाररुपमा काम गर्न चाहाने प्रहरीहरुलाई राजनीतिक नेताहरुले काम गर्न दिँदैनन् । आफ्ना अनुकूलका व्यक्तिहरुलाई महत्वपूर्ण ठाउँमा राखेर पार्टीका नीति निर्देशनबमोजिम शक्तिहको प्रयोग गर्ने काम विगतमा भइरहेको छ । जसको  कारणले गर्दाखेरि अपराधिहरुमाथि कारवाही हुँदैन । सानासाना व्यक्तिहरु जो निरीह छन्, जो कमजोर छन्, जसको पार्टी नेतृत्वमा पहुँच छैन, त्यस्ता व्यक्तिहरु मात्रै कारवाहीमा पर्छन् ।

तर ठूलाठूला नेताहरु, ठूलाठूला माछाहरुलाई न अख्तियारले छुन सक्छ न सिबिआईले नै छुन सक्छ । नेपाल प्रहरीको  सिबिआईले ललिता निवास जग्गा काण्डमा जुन साहसका साथ काम गरेको छ, त्यसको निमित्त म नेपाल प्रहरीको नेतृत्व र खासगरी सिबिआईलाई धन्यवाद पनि दिन चाहान्छु । तर  दुःखका साथ भन्दछु, सिबिआईलाई स्वतन्त्र ढंगबाट काम गर्न दिइएको छैन ।

जसको कारणले गर्दा त्यही ललिता निवास सरकारी जग्गा कब्जा गर्ने काण्डमा टिप्पणी उठाउने, राय दिने सामान्य तहका कर्मचारीहरु केही व्यवसायीलाई पक्रेर अनुसन्धान गरिरहेको छ । तर जसले त्यो ललिता निवासको जग्गा बालुवाटारको प्रधानमन्त्री निवासको सरकारी जग्गा कब्जा गर्नका निमित्त हड्प्नको निमित्त जसले ललिता काण्ड गर्ने, सुन तस्करी गर्ने, व्रह्मलुट गर्ने, देशमा कुशासन सञ्चालन गर्ने, सिंहदरबारका ठेकेदारी गर्नेलाई भन्न चाहान्छु– अब दिनहरु विस्तारै गन्ती हुँदैछन् । 

सडकबाटै  हामी परिवर्तन गर्छौं । नेपाली जनताको  आन्दोलन हुनेछ । अब हुने तेस्रो जनआन्दोलन कुनै विदेश शक्तिको आडमा होइन । नेपाली जनताले, नेपाली जनताको लागि गर्ने नेपालीको आन्दोलन हुनेछ । यो आन्दोलनले विगतमा भत्काइएका, विस्थापित गरिएका राज्यका संरचना र संस्थाहरुलाई पुनस्थापित गर्ने छ । र, नेपालमा शान्ति, स्थायित्व कायम गरेर सुशासन र समृद्धिको लक्ष्य हाँसिल गरिनेछ । नेपाललाई हिन्दू अधिराज्य बनाएर छाड्नेछौं भन्ने म तपाईंहरुलाई विश्वास दिलाउन चाहान्छु । 

गिरिजाप्रसाद कोइरालाले यही ठाउँमा सय–दुई सय जना व्यक्तिहरु लिएर आएर महिनौंसम्म आन्दोलन गरेको मैले देखेको छु । ०६२–६३ का आन्दोलनका कमाण्डर गिरिजाबाबुले दुईसय– तीन सयजनाबाट आन्दोलन सुरु गर्नुभएको थियो । तीनचार महिनाभित्रबाट नै त्यो आन्दोलनले उग्र रुप लियो । र, ठूलो राजनीतिक परिवर्तन भयो । आज प्रतिकूल मौसमका बावजुद यो हजारौंको संख्यामा आज युवाहरु भाइबहिनीहरु पानीको  पर्वाह नगगरीकन, वर्षादको प्रवाह नगरीकन यो सडक आन्दोलनमा सहभागी हुनु भएको छ । 

म तपाईंहरुलाई निवेदन गर्न चाहान्छु, हाम्रो पार्टीको केन्द्रीय कार्यसमितिको बैठक आगामी भदौको पहिलो हप्तामा बस्नेछ । त्यो बैठकबाट राजसंस्थासम्बन्धि हाम्रो अवधारणालाई पुनर्विचार गरेर हामी नयाँ ढंगबाट अगाडि बढ्ने संकल्पका साथ हामी आउने छौं । र, भदौ महिनादेखि नै हामी जनान्दोलनको प्रारम्भ गर्ने छौं ।

र, त्यो जनान्दोलन हामी देशका कुनाकाप्चासम्म पुर्याउँदै केही महिनाभित्रमा नै सडकबाटै (यहाँ प्रहरी दाजुभाइ तथा दिदी बहिनीहरु पनि हुनुहुन्छ, तपाईंहरु मार्फत् म सिंहदरबारमा बसेका सिंहदरबारका ठेकेदारहरुलाई भन्न चाहान्छु अब तपाईंहरुले ब्रह्मलुट गर्ने, भ्रष्टाचार गर्ने, ललिता काण्ड गर्ने, सुन तस्करी गर्ने, देशमा कुशासन गर्ने दिनहरु विस्तारै गन्ती हुँदैछन् ।

सडकबाटै हामी परिवर्तन गर्छौं । नेपाली जनताको आन्दोलन हुनेछ । अब हुने तेस्रो आन्दोलन विदेशी शक्तिको आडमा होइन, अब आउने तेस्रो जनान्दोलन नेपाली जनताले  नेपाली जनताले, नेपाली जनताको लागि गर्ने नेपालीको आन्दोलन हुनेछ । यो आन्दोलनले विगतमा भत्काइएका, विस्थापित गरिएका राज्यका संरचना र संस्थाहरुलाई पुनस्थापित गर्ने छ । र, नेपालमा शान्ति, स्थायित्व कायम गरेर सुशासन र समृद्धिको लक्ष्य हाँसिल गरिनेछ । नेपाललाई हिन्दू अधिराज्य बनाएर छाड्नेछौं भन्ने म तपाईंहरुलाई विश्वास दिलाउन चाहान्छु ।