विराटनगर । जेठ ६ गते सुनसरीको इनरुवा नगरपालिका–४ का १९ महिनाका नितेस मेहता बिरामी भएपछि उनका अभिभावकले इनरुवा–४ स्थित हस्पिटल रोडमा रहेको सायमा पोलिक्लिनिकमा देखाउन लिएर गए । पोलोक्लिनिकमा नाम चलेका विशेषज्ञ चिकित्सकहरूको बोर्ड झुण्डिएकोे देखेपछि राम्रो उपचार सेवा पाउने अभिलाषाले गोमीदेवी मेहताले छोरालाई लिएर आएकी थिइन् ।
विशेषज्ञ चिकित्सकले छोरालाई उपचार सेवा गर्दैछन् भन्ने गोमीदेवीलाई लागेको थियो । छोरा ठीक हुनुको साटो पीडा बढी हुन थाल्यो र छट्पटी बढ्यो । पोलिक्लिनिकमा उपचार सम्भव नभएपछि नितेसलाई नजिकैको जिल्ला अस्पतालमा रेफर गरियो । रेफर गरेको केहीबेरमा मेहताको मृत्यु भयो । पछि बुझ्दै जाँदा पोलिक्लिनिकले सिएमएले स्वास्थ्य उपचार गरेको पाइयो । त्यसपछि लापरबाहीपूर्ण उपचार गरेको पाइएपछि स्वास्थ्य कार्यालयले सायमा पोलिक्लिनिकको दर्ता खारेजीबाहेक अरू कुनै कारबाही गरेन । पोलिक्लिनिकका सञ्चालक सायमा आलमले पीडितलाई क्षतिपूर्ति भन्दै केही रकम दिएपछि लापरबाहीपूर्ण घटना सामसुम भएको थियो । अहिले आलमले पोलिक्लिनिकको नाम हटाएर सायमा फार्मेसी चलाउँदै आएका छन् ।
यस्तै सुनसरी इनरुवाकी ७६ वर्षीया सन्ध्यादेवी राम पेटको समस्या भएपछि इनरुवा हस्पिटल लाइनमा भएको ठाकुर फार्मेसीमा पुगिन् । त्यहाँ नोबेल मेडिकल कलेजको सुगर, पे्रसर तथा छाती रोग विशेषज्ञ चिकित्सक डा. प्रमद अन्सारीको बोर्ड झुण्ड्याइएको थियो । विशेषज्ञ चिकित्सकको बोर्ड देखेर उनी ढुक्क भएर गइन् । पुर्जी काटेर विशेषज्ञ चिकित्सक भनेर उनले देखाइन् । तर, चिकित्सक नभएर फार्मेसी व्यवसायी रहेको अनुगमन टोलीले भेटेको थियो । पछि बुझ्दै जाँदा ठाकुर फार्मेसीले सामुदायिक पोलिक्लिनिक सञ्चालन गरेको पाइएको छ । फार्मेसीको सिफारिस लिएर पोक्लिनिक सञ्चालन गरेर बिरामीलाई ठगी गर्दै आएको सोमबारको अनुगमनको क्रममा भेटिएको हो । स्वीकृति नै नलिई सञ्चालन गरेको पोलिक्लिनिकबाट बिरामीलाई निकालेर अनुगमन टोलीले जिल्ला अस्पताल सुनसरीमा उपचारको लागि पठायो ।
स्वास्थ्य क्षेत्रमा विकृति व्यापक देखिएपछि गृह मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सम्बन्धित निकायलाई सोमबार अनुगमन गर्न निर्देशन दिएको थियो । सोही निर्देशनअनुसार जिल्ला प्रशासन कार्यालय सुनसरीको नेतृत्वमा इनरुवाको हस्पिटल रोडमा रहेका फार्मेसी, पोलिक्लिनिक, मेडिकल हलहरूको अनुगमन गरिएको थियो ।
अनुगमनको क्रममा पोलिक्लिनिक, मेडिकल हल र फार्मेसीहरूले बिरामी ठगी मात्र नगरेर स्वास्थ्यमाथि गम्भीर खेलवाड गरेको पाइएको अनुगमन टोलीका सदस्य जिल्ला अस्पताल इनरुवाका मेसु देवराज घिमिरेले बताए । ‘सुनसरीको इनरुवास्थित हस्पिटल रोडमा रहेका एक दर्जन पोलिक्लिनिक र फार्मेसीहरूमा अनुगमन गरिएको थियो । त्यसक्रममा व्यापकरूपमा बेथिति रहेको भेटियो’ उनले भने, ‘फार्मेसीको स्वीकृति लिने अनि पोलिक्लिनिक सञ्चालन गर्ने गरेको भेटिएको छ । पोलिक्लिनिक भनेर बोर्डमा विशेषज्ञ चिकित्सकको नाम राखिएको छ । तर, उपचार सिएमए र अहेवले गरेको पाइएको छ ।’ यसरी खुलेआम बिरामीलाई फार्मेसी र पोलिक्लिनिकहरूले ठगी मात्र नगरेर उपचारको लागि आएका बिरामीको स्वास्थ्यमाथि पनि खेलवाड गरेको पाइएको छ ।
हस्पिटल लाइनस्थित इनरुवा नगरपालिकाका उपमेयर विनिता मेहताका श्रीमान् योगेन्द्र मेहताले सञ्चालन गरेको नेसनल मेडिकलले सिएमए राखेर उपचार गर्ने गरेको पाइएको छ । विशेषज्ञ चिकित्सकको बोर्ड झुण्ड्याएर नेसनल मेडिकलमा सिएमए तारणी यादवले उपचार गर्ने गरेको पाइएको छ । यादव सप्तरीको रूपनी स्वास्थ्य चौकीमा कार्यरत सिएमए हुन् । पोलिक्लिनिकमा विशेषज्ञ चिकित्सकबाहेक अरूले स्वास्थ्य जाँच गर्न नपाउने स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईंले बताए ।
‘फार्मेसीले औषधि व्यवस्था विभागबाट स्वीकृति लिनुपर्ने हुन्छ भने पोलिक्लिनिकले स्वास्थ्य कार्यालयबाट लिनुपर्छ’ उनले भने, ‘पोलिक्लिनिकमा विशेषज्ञ चिकित्सकले स्वास्थ्य जाँच मात्र गर्ने हो । थप उपचार गर्नुपर्ने अवस्था आए सम्बन्धन प्राप्त गरेको अस्पतालमा रेफर गरेर उपचार गर्नुपर्ने हुन्छ ।’ तर, च्याउसरी खुलेका इनरुवाका पोलिक्लिनिक र फार्मेसीमा विशेषज्ञ चिकित्सकको बोर्ड झुण्ड्याएर सिएमए, अहेव र फर्मासिस्टले उपचार गरेर बिरामीको स्वास्थ्यमाथि खेलवाड गर्ने गरेको अनुगमनको क्रममा भेटिएको हो । ‘१३ वटा फार्मेसी, पोलिक्लिनिक र मेडिकल हलहरूमा अनुगमन गरियो’ उनले भने, ‘धेरैलाई मापदण्ड पूरा गरी प्रक्रियामा ल्याएर सञ्चालन गर्न हामीले निर्देशन दिएका छौँ ।’ मापदण्ड र नीति, नियम विना सञ्चालन गरेको पोलिक्लिनिक र मेडिकल हलले अटेरी गरे कारबाहीको दायरामा ल्याउने उनले बताए ।
अनुगमनमा आएका सरकारी टोली दुई घण्टा थुनिए
विराटनगर । इनरुवामा रहेका मेडिकलहरूको अनुगमन गर्न पुगेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृतको टोलीलाई मेडिकल व्यवसायीहरूले दुई घण्टा थुनेका छन् । स्वास्थ्य क्षेत्रमा चरम बेथिति देखापरेपछि अनुगमनमा पुगेको टोलीलाई सोमबार व्यवसायीहरूले दुई घण्टा थुनेका हुन् ।
अनुगमनका क्रममा कागजपत्र चेकजाँच गर्ने क्रममा मेडिकल व्यवसायीले अनुगमन गर्न गएको टोलीलाई मेडिकल हलभित्रै थुनेका छन् । मेडिकल सञ्चालकहरूले अनुगमन गर्न पुगेको टोलीलाई विराट डाइग्नोस्टिक मेडिकल हलको सटर झारेर थुनेका थिए ।
अनुगमनमा प्रमुख प्रशासकीय अधिकृत केशव खतिवडा, जिल्ला जनस्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईं, जिल्ला अस्पताल इनरुवाका मेसु देवराज घिमिरेलगायत रहेका थिए ।
उनीहरूले इनरुवा नगरपालिकाका उपमेयर विनिता मेहताको मेडिकलमा समेत चेकजाँच गरेका थिए । चेकजाँचका क्रममा उपमेयरका श्रीमान् योगेन्द्र मेहतासँग विवाद भएको थियो । विवादपछि अर्को मेडिकलमा अनुगमन गर्न गएका बेला उपमेयरका श्रीमान् योगेन्द्रको नेतृत्वमा अनुगमन टोलीलाई थुनेको जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख प्रशासकीय अधिकृत केशव खतिवडाले बताए ।
अनुगमनका क्रममा नुरुव फार्मेसी, शशी मेडिकल, सायमा फार्मेसी, कोशी डिजिटल एक्स–रे, इमेज मेडिकल हल, दीपशिखा फार्मेसी, अल्का फार्मेसी, ठाकुर फार्मेसीको अनुगमन गरेको थियो । यस्तै नूतन ल्याव, जनसेवा फार्मेसी, हिमाल आई केयर सेन्टर, रीमा मेडिकल हल र नेसन मेडिकल हलको पनि अनुगमन गरेको थियो । यता व्यवसायी मेहताले भने अनावश्यकरूपमा अनुगमन टोलीले प्रश्न गरेको र पूर्वाग्रही भएर प्रस्तुत भएकाले व्यवसायीहरूले विरोध गरेको बताए ।