कोशी प्रदेश सरकार गठनविरुद्धको रिटउपर पूर्ण इजलासमा सुनुवाई हुँदैछ । रिटउपर सुनुवाईका लागि न्यायाधीशत्रय ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तीलप्रसाद श्रेष्ठ रहेको पूर्ण इजलास गठन गरिएको छ ।
रिट पहिलो नम्बरमा रहेको छ । सोमबार न्यायाधीश सुष्मालता माथेमा र तीलप्रसाद श्रेष्ठको संयुक्त इजलासले रिटलाई पूर्णइजलासमा पठाएको हो ।
‘प्रस्तुत निवेदनको विषयवस्तु हेर्दा जटिल कानुनी प्रश्न समावेश भएको देखिएको र त्यसको निराकरण पूर्णइजलासबाट हुन उपयुक्त देखिएकाले सर्वोच्च अदालत नियमावली, २०७४ को नियम २३ (२) (ग) बमोजिम मिति २०८० साउन ९ गते पूर्ण इजलासमा पेश हुने गरी पेशी तोकी नियमन बमोजिम गर्नू’, इजलासद्वारा जारी आदेशमा भनिएको थियो ।
यसअघि असार २७ गते न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले दीर्घकालीन असर पर्ने निर्णय नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो भने मुख्यमन्त्रि नियुक्ति गर्दाका सक्कलै फाइल माग गरेको थियो ।
कोशी प्रदेशका सभामुख बाबुराम गौतमको पनि हस्ताक्षर जोडेर बहुमत देखाई कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री नियुक्त गर्ने प्रदेश प्रमुख परशुराम खापुङको निर्णय खारेज गर्न मागसहित रिट हालिएको हो ।
‘संविधानको धारा १६८(२) द्वारा निर्मित सरकार असंवैधानिक भएकाले उत्प्रेषणको आदेशद्वारा बदर गरी धारा १६८ (३) अनुसार नयाँ सरकारको बाटो खोल्न परमादेश जारी गर्न माग गरिएको छ ।