वराहक्षेत्रस्थित चतराका युवाले ऐतिहासिक किल्ला, गढी, दरबार र भग्नावशेषको संरक्षणमा सरोकारवाला निकायले चासो नदेखाएको आरोप लगाएका छन् । 

पछिल्लो समय ऐतिहासिक तथा पुरातात्त्विक महत्त्वका क्षेत्रहरू संरक्षणको अभावमा नामेट हुने अवस्थामा पुगेकामा चिन्ता व्यक्त गर्दै युवाहरूले स्थानीय सरकारलाई जिम्मेवार हुन माग गरेका छन् । 

पदयात्रासँगसँगै ऐतिहासिक र पर्यटकीयस्थलका बारेमा खोज, अनुसन्धान र प्रवद्र्धन गर्ने साझा तथा स्वतन्त्र समूह ‘चतरा हाइकिङ’ का पदयात्रीहरूले ‘हाइकिङ’ का क्रममा हिन्दुपति राजाको दरबार सरसफाइ गर्दै सम्बन्धित निकायलाई संरक्षणमा ध्यान दिन आह्वान गरे ।

चतरा बजारबाट छिन्नमस्ता भगवतीको मन्दिर हुँदै उत्तर लागेपछि हरिहर सेन (हिन्दुपति राजा) को दरबारको भग्नावशेष पुगिन्छ । नेपाल सकारले लागू गरेको भूउपयोग नियमावली २०७६ लाई प्रभावकारी कार्यान्वयन गर्न नसक्दा यस्ता ऐतिहासिक तथा पुरातात्त्विक महत्त्वका क्षेत्रहरूको अस्तित्व सङ्कटमा पर्दै गएको चतरा हाइकिङका आयोजक भीषण राई बताउँछन् । 

‘स्थानीय सरकारसँग भिजन नभएर हो कि, नदेखेर हो ? वराहक्षेत्रका ऐतिहासिक पुरातात्विक स्थल संरक्षण हुन सकेका छैनन् ।’ नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्यसमेत रहेका चतरा हाइकिङका आयोजक राई भन्छन्, ‘नगरकै नीति अभावका कारण ऐतिहासिक क्षेत्र संरक्षणको अभावमा नामेट भइरहेका छन्, यसको प्रत्यक्ष उदाहरण वराहक्षेत्र–१ मा पर्ने हिन्दुपति राजाको दरबार र भवानी थान ‘लालकोट गढी’ लाई लिन सकिन्छ ।’

यो क्षेत्र ४ सय वर्ष पुरानो मानिन्छ तर, संरक्षण नहुँदा महत्त्व ओझेलमा परेको छ भने केही किल्ला र गढीहरू अतिक्रमणको चपेटामा परेका छन् । सेनवंशी राजा लोहाङ सेनले पूर्वमा राज्य विस्तारका क्रममा स्थापना गरेको बागदलबारीस्थित लालकोट रङ्गमहल दरबार र दरबारको रक्षार्थ स्थापना गरिएको गढी ‘लालकोट गढी’ (भवानी थान गढी) समेत संरक्षण गर्न स्थानीय सरकारले चासो नदेखाएको हाइकिङमा सहभागी युवराज भट्टराई बताउँछन् । 

भट्टराईका अनुसार त्यहाँ हिन्दुपति राजाका सेनाहरूलाई युद्धसम्बन्धी तालिम दिँदा प्रयोग भएका प्रस्तरहरू अझै देख्न सकिन्छ । ‘यो सामरिक महŒवको क्षेत्र पनि हो, अन्य ठाउँमा यस्ता महŒवका स्थान हुन्थे भने पर्यटनको विकास उहिल्यै भइसक्ने थियो, तर हाम्रो ठाउँमा महŒव बुझ्ने सरोकारवाला भएनन्’ –भट्टराईले दुःखेसो पोख्दै भने । 

इतिहासअनुसार राजा लोहाङसेनको अवसानपछि हरिहर सेनले यो क्षेत्रमा तीव्र विकास गरेको ऐतिहासिक दस्तावेजमा पाउन सकिन्छ । सो तथ्य साफल्य अमात्यद्वारा लिखित ‘प्राचीन नेपाल’ मा सेनहरूद्वारा पूर्वी राज्य विस्तार गरिएका सन्दर्भहरू उल्लेख गरिएको छ । लोहाङ सेनका नाति हरिहर सेन, जसले आफूलाई ‘हिन्दुपति’ घोषणा गरे । उनै हरिहर सेनको दरबारको भग्नावशेष सो क्षेत्रमा अझै देख्न सकिन्छ ।

सो क्षेत्रलाई स्थानीयहरूले हिन्दुपति राजाको दरबार भन्ने गरेका छन् भने भवानी स्थान गढी स्थापना गरेको ऐतिहासिक तथ्य छ ।

इमानसिह चेम्जोङद्वारा लिखित विजयपुरको सक्षिप्त इतिहास, २०५९ मा समेत यहाँका प्रसङ्गहरू उल्लेख छन् । त्यस्तै ज्ञानमणि नेपालद्वारा लिखित २०५५ सालमा प्रकाशित ‘नेपाल निरूपण’ मा समेत यहाँको तथ्य उल्लेख भएको छ ।

वराहक्षेत्रस्थित हिन्दुपति राजाको दरबारस्थल र भवानीथान गढीको यसअघि नेपाली सेनाको पूर्वी पृतनाले अनुगमन निरीक्षण गरेको थियो । नेपाली सेनाले सामारिक महŒव राख्ने ऐतिहासिक, पुरातात्त्विक स्थलको संरक्षण गर्न देशभरका सैनिक कार्यालयहरूलाई निर्देशन दिएअनुसार अनुगमन निरीक्षण गर्न आएको वडाध्यक्ष किसन थापाले जानकारी दिए । 

निर्देशनअनुसार पूर्वी पृतना सैनिक मुख्यालयले हिन्दुपति राजाको दरबार, त्यहाँ रहेका सामरिक महत्त्वका स्थल, सूर्यकुण्डस्थित गढीक्षेत्रबारे अध्ययन थालेको वडाध्यक्ष थापाले बताए । नेपाल एकीकरणका सन्दर्भमा प्रयोग भएका पदमार्ग, किल्ला र गढी लोप हुँदै गएको र भावी पुस्तालाई त्यसको महत्त्वबारे जानकारी गराउने उद्देश्यले त्यस्ता क्षेत्रको संरक्षण, सम्वर्धनमा सेनाले चासो दिएको हो । 

चतरा बजारबाट छिन्नमस्ता भगवतीको मन्दिर हुँदै उत्तर लागेपछि हरिहर सेन (हिन्दुपति राजा) को दरबारको भग्नावशेष पुगिन्छ । यही बाटो भएर पदयात्रीहरूले भग्नावशेष हुँदै  अर्चले (जुगपाख्री), भवानी थान गढी (लालकोट गढी), सूर्यकुण्ड धापा, चियाबारी, कटहरे र खारखोला हुँदै पुनः छिन्नमस्ता मन्दिर क्षेत्र आइपुगेर १८.२ किमीको यात्रा तय गर्ने गरेका छन् । सोही क्रममा पदयात्रीहरूले दरबार क्षेत्र र गढी क्षेत्रको सरसफाइसमेत गरेका हुन् ।