कोशी प्रदेश सरकारको मुख्य मन्त्री नियुक्ती बदरको माग राख्दै परेको रिटमाथि सर्वोच्च अदालतको पूर्ण इजलासमा भएको सुनुवाई हेर्दा हेर्दैमा सकिएको छ ।

आज भएको रिटमा निवेदकका तर्फबाट अधिवक्ताहरु टीकाराम भट्टराई, भीमार्जुन आचार्य, बद्रीबहादुर कार्कीलगायतले बहस गरेका छन् । त्यस्तै, प्रतिवादी मध्ये प्रदेश सरकारका तर्फबाट महान्यायाधिवक्ता दिनमणी पोखरेल, सहन्यायाधीवक्ता लगायतले बहस गरेका छन् ।

प्रतिवादीका तर्फबाट निजी वकिलहरुले उक्त मुद्दामाथि बहस गर्न बाँकी छ । उक्त मुद्दामाथिको सुनुवाई भोलि बिहान ११ बजेपछि हुने जनाइएको छ ।मंगलबार न्यायाधीश ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तीलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा उक्त मुद्दा सुनुवाई भएको हो ।

कोशी प्रदेशका सभामुख बाबुराम गौतमको पनि हस्ताक्षर जोडेर बहुमत देखाई कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री नियुक्त गर्ने प्रदेश प्रमुख परशुराम खापुङको निर्णय खारेज गर्न मागसहित रिट हालिएको हो । 

‘संविधानको धारा १६८(२) द्वारा निर्मित सरकार असंवैधानिक भएकाले उत्प्रेषणको आदेशद्वारा बदर गरी धारा १६८ (३) अनुसार नयाँ सरकारको बाटो खोल्न परमादेश जारी गर्न माग गरिएको छ ।