धरानलाई पर्यटनका लागि पूर्वाधारयुक्त नगर बनाउने नारा धरान उपमहानगरपालिकाले पहिलादेखि नै अघि सार्दै आएको छ । धरानका कतिपय स्थानलाई पर्यटकीय स्थलका रूपमा विकास गर्नका लागि बजेट पनि विनियोजन हुने गरेको छ । केही दिनयता भने पर्यटन व्यवसायीहरू धरान उपमहानगरपालिकाले नै पर्यटन व्यवसाय ध्वस्त बनाउन लागेको भन्दै चिन्ता व्यक्त गरिरहेका छन् । पर्यटन व्यवसायीहरूले धरानका नगर प्रमुखकै गतिविधिका कारण आफूहरू हतोत्साहित बनेको बताइरहेका छन् । उनीहरूले सोमबार उद्योग वाणिज्य सङ्घ सुनसरीको कार्यालयमा अन्तरक्रिया कार्यक्रम नै आयोजना गरेर नगरप्रमुखका गतिविधिप्रति विरोध जनाएका छन् । एकातिर उपमहानगरपालिकाको नारा पर्यटन विकास गर्ने छ, तर नगरप्रमुखको काम पर्यटनलाई ध्वस्त बनाउने गरी अघि बढिरहेको छ । नगरप्रमुखको यस्तो गतिविधिले त्यसै पनि खस्किरहेका पर्यटने क्षेत्रलाई झनै तहसनहस बनाउने अवस्था सिर्जना भएको व्यवसायीहरूको भनाइ छ । यो विषयलाई धरानको समाजले मूल्याङ्कन गर्नु जरुरी छ ।
केहीदिन अघि नगरप्रमुख साम्पाङ नेतृत्वको टोलीले धरान–४ स्थित छोटीमोरङमा व्यक्तिको नाममा रहेको जग्गामा वृक्षरोपण गरिदिएपछि उनी फेरि विवादमा आएका छन् । साहसिक पर्यटनका लागि चिनिने प्याराग्लाइडिङ उडान गरिँंदै आएको सो ठाउँमा वृक्षरोपण गरिनुको पछाडि प्याराग्लाइडिङ व्यवसायीको दुश्मनी पनि देखिएको छ । खासमा त्यहाँ वृक्षरोपण गर्न प्याराग्लाइडिङ क्षेत्रकै व्यक्तिले उक्साएको भरमा नगरप्रमुख पनि लागेको देखिएको छ । पहिला प्याराग्लाइडिङमा सँगै काम गरेका व्यक्तिले पछि यो व्यवसायलाई ध्वस्त बनाउन भूमिका खेलेको विभिन्न घटनाक्रमले पनि देखिएको छ । आफूले प्याराग्लाइडिङ गर्न नपाएको झोंकमा नगरप्रमुख साम्पाङसहितको टोली वृक्षरोपण गर्न पुगेका व्यक्तिकै सक्रियतामा प्याराग्लाइडिङको ल्यान्डिङ गर्ने स्थानमा पनि खानेपानी ट्याङ्की निर्माण गरिएको छ । यसरी व्यक्तिगत रिसइबी साध्ने नाममा समग्र धरानको पर्यटनसँग जोडिएको प्याराग्लाइडिङलाई ध्वस्त बनाउन लाग्नु आफैमा अपराधकर्म हो । यस्तो मानसिकता त्यागेर धरानको पर्यटन विकासमा लाग्नु धरानवासीका लागि आवश्यकताको विषय हो । वृक्षरोपण गर्नेहरूले सो क्षेत्र सर्दु जलाधार क्षेत्रको जग्गा भएको दाबी गरेका छन् । यो विषयमा पहिला नै अदालतमा मुद्दा विचाराधीन अवस्थामा छ । अदालतमा विचाराधीन मुद्दा रहेको जग्गामा वृक्षरोपण गर्नु नगरप्रमुख राई र उनको समूहको गल्ती हो । विचाराधीन भनेको फैसला भइसकेको अवस्था होइन । मुद्दा छिनोफानो भइनसकेको जग्गामा जबरजस्ती वृक्षरोपण गर्न मिल्दैन । नगरप्रमुख र उनका समर्थकहरू यहीँ चुकेको देखिन्छ ।
नेपालमा प्याराग्लाइडिङका लागि पोखरा चर्चित छ तर, पछिल्लो समय पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि प्याराग्लाइडिङ गर्न नमिल्ने हुँदा बन्द हुने अवस्थामा छ । प्याराग्लाइडिङका लागि पोखरा पुग्नेहरूका लागि गतिलो विकल्प चाहिएको छ । धरान पोखराको विकल्प हुनसक्ने भन्दै पर्यटन व्यवसायीहरू प्याराग्लाइडिङको विकासका लागि काम गरिरहेका छन् । यस्तो अवस्थामा स्थानीय सरकारले सहयोग गर्नु पर्नेमा उल्टै व्यक्तिगत रिसइबी साध्ने नाममा उपमहानगरको दुरुपयोग भइरहँदा पर्यटन व्यवसायमा नकारात्मक असर परेको छ । धरानमा ठूला उद्योगधन्दा छैनन्, रोजगारीको ठूलो अवसर पनि छैन । यहाँको व्यापार व्यवसाय पनि पछिल्लो समय घट्दो क्रममा छ । यस्तो बेला नयाँ नयाँ आर्थिक स्रोतको खोजी हुनुपर्ने हो । त्यसका लागि पर्यटनको एउटा सम्भावना छ । धरानलाई आधार बनाएर पूर्वक्षेत्रको धार्मिक र साहसिक पर्यटनको विकास गर्न सकिन्छ । तर, नगरप्रमुखकै नेतृत्वमा यस्ता कुरालाई बेवास्ता गरी पर्यटन व्यवसायीलाई निरुत्साहित बनाउने काम हुँदा धरानको पर्यटन विकास तत्काल सम्भव देखिँंदैन । पर्यटन व्यवसायीलाई स्थानीय सरकारले सहयोग गर्नु जरुरी छ । त्यसको अर्थ कानूनको बेवास्ता गर्नुपर्छ भन्ने होइन । सबै कानूनको पालना गरेरै पर्यटन व्यवसायलाई माथि उकास्न स्थानीय सरकारले सहकार्य गर्नुपर्छ, हतोत्साहित बनाउने होइन ।