पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिकाले किसानलाई वितरण गर्न नसकेको बेसारको बिउ रोपेको छ ।

अनुदानमा किसानलाई वितरण गर्न खरिद गरेको बेसार जनप्रतिनिधि, कर्मचारी स्थानीयको पहलमा रोपिएको हो  । बेसारको बिउ बोरामै उम्रिएको समाचार ब्लाष्ट राष्ट्रिय दैनिकमा साउन ६ गते प्रकाशन भएपछि गाउँपालिकाले कुम्मायक–३ को हात्तीपोखरीमा बेसारको बिउ रोपेको हो । आर्थिक वर्ष २०७९/०८० को ३ लाख ४० हजार ४० रुपैयाँमा खरिद गरेको १ सय २० मन बेसारमध्ये ३५ बोरा बेसारको बिउ बारीमा रोपेको हो ।

गाउँपालिकाले यसअघि पनि सोही स्थानमा बेसारको बिउ रोपेको थियो । बाँकी रहेको बेसारको बिउ पनि सोही स्थानमा रोपिएको गाउँपालिका उपाध्यक्ष महेन्द्रबहादुर खड्काले बताए । ‘हामीले बाँकी रहेको बेसार बारीमा रोप्न तयारी गरेका थियौँ । यो विषयमा सामाजिक सञ्जालमा अनावश्यक टिकाटिप्पणी भयो’ खड्काले भने, ‘बाँकी रहेको सबै बेसार रोपेका छौँ । यसको रेखदेख गाउँपालिकाले गर्छ ।’

गाउँपालिकाले कुम्मायक–३ को हात्तीपोखरीमा स्थानीयको २० रोपनी बाँझो जमिनमा बेसार रोपेको छ । वार्षिक १० हजार जग्गाधनीलाई उपलब्ध गराएर सो जग्गामा बेसार रोपेको हो । २० रोपनी क्षेत्रफलमा नआँटेको बेसारको बिउ अन्य खाली जग्गामा रोपेको गाउँपालिकाले जनाएको छ । बाँझो जमिनमा उपाध्यक्ष खड्कासहितको टोलीले हाते ट्याक्टरको प्रयोग गरी बेसार रोपिएको थियो ।

बेसार रोप्न गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवी तुम्बापो, कृषि शाखा प्रमुख सविन खतिवडासहित पालिकाका कर्मचारी र स्थानीयको टोलीलाई दुई दिन लागेको थियो ।