सुनसरी । भारतबाट भइरहेको ब्रोइलर कुखुरा तस्करीका कारण नेपालमा बर्डफ्लु फैलिन सक्ने र व्यवसायीसमेत जोखिममा पर्ने अवस्था आएको सुनसरीका कुखुरा व्यवसायीहरूले बताएका छन् । खुल्ला सीमाका कारण भइरहेको प्रतिबन्धित ब्रोइलर कुखुरा तस्करीले बर्डफ्लु देशैभर फैलिन सक्ने सम्भावना बढ्नुका साथै आफूहरूको व्यवसाय चौपट भएको भन्दै त्यसमा कडाइ गर्नुपर्नेमा उनीहरूले जोड दिँदै आएका छन् ।
यद्यपि भारतीय बजारबाट सुनसरीसहितका जिल्लाका विभिन्न सीमा नाका हुँदै दैनिक रूपमा प्रतिबन्धित ब्रोइलर कुखुरा नेपाल भित्रिने गरेको पाइन्छ । त्यसरी विभिन्न सीमावर्ती क्षेत्र हुँदै तस्करी गरेर भारतबाट अवैधरूपमा तस्करहरूले भिœयाउने प्रतिबन्धित ब्रोइलर कुखुराले बर्डफ्लुको जोखिम बढाएको पोल्ट्री तथा मासु व्यवसायी सङ्घ सुनसरीका अध्यक्ष कुलबहादुर कुँवर (मनोज) बताउँछन् ।
नेपालसँग सीमा जोडिएका भारतका विभिन्न राज्यहरूमा केही समयअगाडि बर्डफ्लु देखिएपछि पशुजन्य वस्तुको आयात रोक्न सीमामा थप कडाइ गरेको प्रहरीले बताइरहेका बेला ब्रोइलर कुखुरा भित्रिने क्रम अझै नरोकिएको उनको भनाइ छ । सोही कारण सीमावर्ती क्षेत्रहुँदै नेपालमासमेत बर्डफ्लु भित्रिने जोखिम बढेको उनले बताए । भारतबाट सीमावर्ती क्षेत्र हुँदै नेपाल भिœयाइने त्यस्ता भारतीय प्रतिबन्धित कुखुरा सदरमुकाम इनरुवा, इटहरी, धरान, दमकलगायतका स्थानसम्म पु¥याउँदा आफूहरूको व्यवसाय चौपट भएको कुँवरले गुनासो गरे । भारतमा सस्तोमा पाइने भएकोले सीमावर्ती क्षेत्रबाट ब्रोइलर कुखुरा नेपाल भित्र्याउन तस्करहरू सक्रिय रहँदै आएका छन् । नेपालमा २ सय ८० देखि ३ सय प्रतिकेजीसम्म पाइने कुखुराको मासु भारतमा भने नेपाली २ सयदेखि २ सय २० रुपैयाँ केजीसम्म पाउने गरेको छ । सीमावर्ती क्षेत्रबाट तस्करी गराएर ल्याउने ब्रोइलर कुखुरा स्टक गरेर आफ्नो फर्मबाट बिल काटेर केही व्यवसायीहरूले सुनसरीका विभिन्न स्थानसम्म पठाउने गरेका छन् ।
भारतीय भनी नियन्त्रणमा लिएको कुखुरा छाडियो
यसैबीच मङ्गलबार बिहान मधेस प्रदेशको सिरहा जिल्लाबाट ल्याएको भनिए पनि भारतीय कुखुराको आशङ्कामा नियन्त्रणमा लिएको कुखुरा जरिबाना गरी छाडिएको छ । पोल्ट्री तथा मासु व्यवसायीहरूको आग्रहअनुसार पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको स.१ च १६८४ नम्बरको पिकअपसहित ४ सय थान ब्रोइलर कुखुरा र दुईजनालाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि पशु क्वारेन्टाइन कार्यालय भण्टाबारीलाई बुझाएको सशस्त्र प्रहरी सुनसरीका प्रवक्ता प्रेमप्रसाद सिग्देलले जानकारी दिए ।
विजक र क्वारेन्टाइनका साथै पशु क्वारेन्टाइन कार्यालय भण्टाबारीमा दरपीठ नभएको सूचना प्राप्त भएपछि सशस्त्र प्रहरीले इनरुवा नगरपालिका वडानम्बर ४ स्थित हनुमान मन्दिरक्षेत्रबाट ब्रोइलर बोकेको गाडीसहित सिरहा जिल्लाको गोलबजार नगरपालिका वडानम्बर १० बस्ने २० वर्षीय रविन विश्वकर्मा र वडानम्बर ४ का २० वर्षीय बालकृष्ण साहलाई नियन्त्रणमा लिई क्वारेन्टाइन कार्यालयमा बुझाएको थियो ।
यद्यपि ब्रोइलर कुखुरासहित गाडी र मान्छेलाई हदैसम्मको जरिबाना काटेर छाडिएको पशु क्वारेन्टाइन कार्यालय भण्टाबारीले जनाएको छ । जगतनारायण यादव भन्ने पशु प्राविधिकले भेटेरिनरी प्रमाण–पत्र दिएको देखिए पनि आफूहरूले उक्त प्राविधिकलाई बुझ्दा भैंसीको लागि भनेर भेटेरिनरी प्रमाण–पत्र दिएको भनी प्रतिक्रिया दिएको पोल्ट्री व्यवसायी राकेश श्रेष्ठको भनाइ छ । यता यसबारे प्रतिक्रिया लिन पटक–पटक सम्पर्क गर्ने प्रयास गरे पनि भेटेरिनरी प्रमाण–पत्र दिने प्राविधिक सम्पर्कमा आउन चाहेनन् ।
तस्करी गरी ल्याइने भारतीय कुखुराको कारण आफूहरूको व्यवसाय चौपट भएको बताउँदै आफूहरूको व्यवसाय पूरै धरासायी हुने भएकोले यसतर्फ सम्बन्धित निकायले ध्यान दिनुपर्ने बताउँदै पोल्ट्री तथा मासु व्यवसायी सङ्घ सुनसरीका अध्यक्ष कुलबहादुर कुँवर (मनोज ) भन्छन्, ‘भारतमा हरेक कुरा सस्तोमा पाइन्छ, उता ४२ रुपैयाँमा पाइने दाना नेपालमा ८५–९० रुपैयाँमा पाइन्छ । यहाँ ७५–८० रुपैयाँमा पाइने कुखुराको चल्ला भारतमा १५ रुपैयाँमा पाइन्छ अनि कसरी भारतीय कुखुरासँग प्रतिस्पर्धा गर्न सकिन्छ ।’ पोल्ट्री तथा मासु व्यवसायी सङ्घ सुनसरीले तस्करी नियन्त्रण गर्न भन्दै जिल्ला प्रशासन कार्यालय सुनसरीलाई केही महिनाअगाडि ध्यानाकर्षण पनि गराएको थियो । खुल्ला सिमानाको फाइदा उठाएर चोरीतस्करी गरी अवैध कुखुरा, अण्डा र तयारी मासुसमेत आयात भएको भन्दै त्यसलाई रोक्नुपर्ने माग गर्दै सङ्घले सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेलाई सङ्घले ध्यानाकर्षण पत्र बुझाएको थियो ।