विषय प्रवेशः
बाहिरबाट हेर्दा, बुझ्दा र नियाल्दा धरानमा कुनै समस्या छैन भन्ने भाष्य बनेको छ । सबैतिर धरानको चर्चा परिचर्चा भइरहेको छ । यो धरानमा बस्ने हामी भाग्यमानीहरूको लागि मात्र होइन, बाहिर बस्ने जनजनको लागि पनि खुसीको कुरा हो । विशेषतः धरानका मेयर हर्क साम्पाङले गतवर्षको चुनावमा खानेपानीको समस्या समाधान गर्ने नाराकै भरमा चुनाव जिते । त्यसयता धरानको चर्चा दिन दुईगुना र रात चौगुनाको गतिमा पैmलिरहेको छ । निर्वाचन जित्दाको सनसनी सेलाउन नपाउँदै उनले खानेपानी समस्या समाधानको लागि नजिकैको खोलाखोल्सीहरूबाट नितान्त जनश्रम मार्पmत् पानीको पाइप जोड्न थाले । नगरप्रमुख स्वयम् ढुङ्गा, बालुवा, गिट्टी र पाइपसँग रमाउँदै गरेको सञ्जालमा भाइरल हुनथाल्यो । उनले श्रमसंस्कृति विकासको लागि सबैलाई आह्वान पनि गरे । धरानको मात्र होइन बाहिरबाट पनि थुपै्र श्रमदाताहरू सहभागी हुन थाले जुनक्रम अहिलेसम्म पनि जारीनै छ ।
नगरप्रमुखको खानेपानीप्रतिको लगाव र श्रमसंस्कृतिप्रतिको रुझान नै लोकप्रियताको शिखर चढ्ने भ¥याङ बनेको कुरा सत्य हो । यो हामी सबैले गर्व गर्न र सिक्नलायक विषय पनि हो । अझ धराने भएको नाताले यो पङ्क्तिकारलाई झनै बढी गर्व र खुसी महसुस भइरहेको छ । दिनभरि लुँडो, चेस, चिया गफ र माथि डाँडातिर घुमेर रल्लिने र भुलिने धराने जीवनशैलीमा यस्तो श्रमसंस्कृतिको उभार चल्नु चलाउनु चानचुने कुरा होइन । भाते, स्वादे, अल्छे र रसरङ्गमै मात्र रमाउने उपभोगवादी संस्कृति हाबी भएको समाजमा यस्तो श्रमअभियान संस्थागत गर्नु सिर्जनशील विषय हो । यस्तो अभियानलाई सबैले आदर, सम्मान र साथसहयोग दिनै पर्दछ । श्रमसंस्कृतिको दृष्टिकोणबाट नियाल्दा आज धरान श्रमको तीर्थधामजस्तो भएको छ । सबैलाई आकर्षित गरिरहेको छ । बाहिरबाट हेर्दा धरानमा कुनै समस्या नै छैन जस्तो भएको छ । केही समस्या भए पनि नगरप्रमुखको श्रम अभियानले नै चट् गरिदिन्छ भन्ने छ । तर, धरानलाई भित्रबाट नियाल्दा भने थुप्रै समस्या समाधन गर्न बाँकी छ । धरानको समस्या धरानेहरूलाई जति अनुभूति हुन्छ, त्यति अरूलाई हुँदैन । यहाँ बाहिरकाहरूले नदेखेका र नबुझेका समस्याहरू उजागर गरिएको छ ।
डेङ्गु समस्याः
धरानमा डेङ्गुको सङ्क्रमण बढेको तीन महिना भइसकेको छ । यो नेपालकै सबैभन्दा बढी डेङ्गु सङक्रमित हुने नगरमा पर्दछ । यसबाट दर्जनौंको मृत्यु भइसकेको छ भने हजारौं बिरामी परेका छन् । सङक्रमित हुने क्रम झनै बढिरहेको छ । अपवादबाहेक प्रत्येक घरपरिवारमा दुई–तीन जनाभन्दा बढी बिरामी छन् । कुल बिरामीहरूमध्ये एक–चौथाइले पनि अस्पतालको उपचार सेवा पाइरहेका छैनन् । किनभने यसले धान्ने देखिँदैन । अस्पताल गएका सीमित डेङ्गु सङ्क्रमितहरूले पनि समयमा उपचार पाइरहेका छैनन् साथै बेडको समस्या त छँदै छ ।
तर, डेङ्गुले यति भयावह मोड लिइसक्दा पनि यसको रोकथामको लागि कुनै ठोस पहल तय भएको छैन । आजसम्म आइपुग्दा पनि यसलाई परास्त गर्न सरोकारवाला निकायहरू रणनैतिक गुरुयोजनासहित लागेको देखिँदैन । धरानको अवस्था भयावह देखिन्छ । सामान्य फगिङजस्ता रोकथामको प्रयासहरू त भई नै रहेको छ तर, यो त्यति प्रभावकारी भएको देखिँदैन । डाक्टरहरूका अनुसार यसको सङ्क्रमण असोज कात्तिकसम्म रहन्छ । त्यो भनेको अभैm तीन–चार महिना बाँकी छ । यसरी डेङ्गुको सङ्क्रमण दिनदिनै बढ्दै जानु अनि सरोकारवाला निकाय र नेताहरूले पर्याप्त जोड र ध्यान नदिनु आदि कारणले जनगुनासो बढिरहेको छ ।
धार्मिक सद्भाव खल्बलिने अवस्थाः
धार्मिक, सांस्कृतिक तथा जातीय मुद्दाहरू असाध्यै इमोसनल हुने गर्दछ । इमोसनल हुनु भनेको संवेदनशील हुनु हो । कतिपय अवस्थामा शासकहरूले यस्तै भावनात्मक कमलो आयामहरूको कभरमा राजकीय स्वार्थ पूरा गरेका थुप्रै दृष्टान्तहरू छन् । सानो क्षम्य गल्तीमा पनि ठूला–ठूला हिंसा र मारकाटहरू भएका छन् । यसमा द्वन्द्वात्मक र आलोचनात्मक विचार र विमर्श हुँदैन । यसमा एकोहोरो आस्था र विश्वासले घर गरेको हुन्छ । यस्तै आस्थाको पराकाष्ठा भावना र संवेदनाको अतिवादी रूपहरूमा अभिव्यक्त हुने गर्दछ, जुन निकै संवेदनशील हुन्छ । यसकारण यस्तो इमोसनल विषयमा कसैले पनि लुज टकिङ गर्नु घातक हुन्छ ।
भर्खरै धरानमा पनि हिन्दु र क्रिश्चियन बीच भनाभनको अवस्था सिर्जना भएको छ । एकजना श्रीनिवास भन्ने हिदु धर्मगुरुले धरान–१४ मा रहेको पुरानो गोपाल मन्दिरनजिकै नयाँ चर्च बनाइएको विषयलाई गम्भीरतापूर्वक उठाएका छन् । उनले पुरानो मन्दिर नजिकै यसरी इशाईहरूको चर्च निर्माण गरिनु आपत्तिजनक भन्दै विरोध गरेका छन् । उनले नगरप्रमुख हर्क साम्पाङलाई क्रिश्चियन भएको दाबी गर्दै उनकै डिजाइनमा यहाँ चर्च बनाइएको भन्ने आरोप लगाएका छन् । धार्मिक द्वन्द्व भड्काउनकै लागि यसरी अतिक्रमण गरेको भन्दै यस विरुद्ध जस्तोसुकै किसिमको सङ्घर्ष गर्न तयार रहेको भनेर विषयलाई उत्तेजित र भड्किलो बनाएको छ । यता नगरप्रमुख हर्क साम्पाङले पनि हामी भूमिपुत्रहरू हौं, त्यसकारण हामीलाई कसैले पनि सिकाउनु पर्दैन भन्दै कडा प्रतिक्रिया दिएका छन् ।
यस्तो इमोसनल रवैयाले सामाजिक तथा धार्मिक सद्भाव खल्बलिने खतरा हुन्छ । त्यसैले यस्ता विषयहरूमा धेरै उत्तेजित अभिव्यक्ति दिनुभन्दा बरू असाध्यै कम बोल्नु राम्रो हुन्छ । इमोसन र आवेगमा आउनु हुँदैन । आखिर नेपालजस्तो धार्मिक सहिष्णुताको उच्च अभ्यास भएको मुलुकमा मन्दिरनजिकै चर्च बनाए पनि धेरै बिग्रिहालेको केही छैन । होइन गम्भीर आपत्ति नै हो भने त्यसलाई छलफल र वार्ताबाट समाधान गर्न सकिन्छ । तर, त्यसो नगरी बाहिर(बाहिर उत्तेजित र भड्किलो अभिव्यक्ति दिँदै हिँड्नु भनेको सहिष्णुताको डोरोलाई चुँडाल्नु हो । त्यो भनेको द्वन्द्व निम्त्याउनु नै हुन्छ । यता नगरप्रमुखले पनि शीघ्र जोसिलो प्रतिक्रिया नजनाएको भए राम्रो हुन्थ्यो । यस्तै रवैयालाई अझ उकास्ने हो भने भोलि धरानमा धार्मिक सद्भाव नतोडिएला भन्न सकिन्न । त्यसैले यो पनि धरानभित्रको गम्भीर समस्या बनिरहेको छ ।
इटहरीसँगको सीमा विवादः
धरान र इटहरी सीमा जोडिएका नगरपालिकाहरू हुन् । दुवै नगरपालिकाको बीचमा रहेको चारकोसे झाडीलाई सिमाना मान्ने गरिएको छ । तर, पछिल्लो समय दुवै नगरपालिकाको सीमा विवाद उत्कर्षमा पुगेको छ । धरानका नगरप्रमुख हर्क साम्पाङले पानीपियासम्म धरानको सीमा दाबी गर्दै सीमा बोर्ड राखेका थिए भने इटहरीका मेयर हेमकर्ण पौडेलले पनि सेउती खोलामा बोर्ड राख्न भ्याए । दुवै पक्षबीच इमोसनल क्रिया प्रतिक्रियाहरू भइसकेका छन् । सञ्जाल युद्ध उत्कर्षमा पुगेको छ । एकले अर्कोलाई धम्क्याउने, नजरअन्दाज गर्ने क्रम र अपमान गर्ने क्रम तीव्ररूपमा भइरहेको छ ।
वस्तुतः सीमा विवाद पनि इमोसनल विषय नै हो । यसमा पनि विचार राजनीति निर्णायक हुँदैन । भावनामा छचल्किएपछि त्यसको बाछिटा कहाँसम्म पुग्ने हो यसै भन्न सकिन्न । तर, धरान र इटहरीका नगरप्रमुखहरू ‘कुलडाउन’ भएर छलफल वा संवादबाट समस्याको समाधान गर्ने पक्षमा भन्दा पनि उत्तेजित र भड्किलो अभिव्यक्तिद्वारा सस्तो लोकप्रियताको राजनीति गरिरहेका छन् । यो तत्कालको लागि स्वार्थगत साइनो सम्बन्ध अनुरूप कसैलाई फाइदा भए पवि दीर्घकालीन रूपमा कसैलाई पनि फाइदा हुने देखिँदैन । त्यसैले धरानको लागि सीमा विवाद पनि टड्कारो समस्या बनेको छ ।
सुशासनको समस्याः
स्थानीय सरकार गठन भएको पनि छ वर्ष नाघेको छ । तर, स्थानीय सत्ताभित्र जनजीविका, जनतन्त्रलगायतका सुशासनका कुराहरू ओझेल परिरहेका छन् । चुनावी माहौल र सामाजिक सञ्जाल केन्द्रित राजनीति हाबी भएपछि जनजीविका र जनतन्त्र मुख्य सवाल बनिरहेको देखिँदैन । के गर्दा सस्तो लोकप्रियता हासिल गर्दै आगामी चुनाव जित्न सकिन्छ भन्ने भन्दा नेपाली राजनीतिमाथि उठ्न सकिरहेको छैन । लोकप्रियता सामाजिक सञ्जालमा नाप्न थालिएको छ । धरान पनि यसको अपवाद हुने कुरा भएन । अर्थात् धरानमा मूलतः अहिले नगरप्रमुख हर्क साम्पाङ सरकार प्रमुख हुनुहुन्छ । उहाँ धराने जनतालाई पानी खुवाउने महाअभियान अन्तर्गत श्रम अभियानमा हुनुहुन्छ । यस महान् कार्यको लागि यो पङ्क्तिकार सलाम गर्न चाहन्छ । यस कार्यको निरन्तरताको लागि शुभकामना पनि भन्न चाहन्छु ।
तर, धरानको सरकारले हेर्ने भनेको खानेपानी र श्रम संस्कृतिलाई मात्र होइन । यहाँको सरकारले हेर्ने भनेको धरानको समग्र विकास हो । त्यो भनेको यहाँको सुशासन हो । शिक्षा, स्वस्थ्य, रोजगारी, विकास–निर्माणलगायतका दैनिक नागरिकहरूसँग जोडिएका तमाम् सवालहरू हुन् । यसतर्पm नगरले स्पष्ट कार्ययोजना र कार्यक्रम बनाएर अल्पकालिक र दीर्घकालीन खाका पेश गरेको देखिँदैन । कार्यपालिका बैठकमा बृहत् छलफल गर्नुपर्नेमा त्यो पनि भएको छैन । धरान र धराने जनताको विकास र समृद्धिको लागि समग्र मार्गचित्र कोर्नु सर्वाङगीण विकासभित्र पर्दछ । यसतर्पm पर्याप्त ध्यान नदिई नगरप्रमुखले श्रमलाई मात्र जोड गरेको भन्ने जनगुनासो आइरहेको छ । यो पनि धरानको मौलिक समस्या बनिरहेको छ ।
निष्कर्षः
त्यसैले बाहिरबाट हेरेको र देखेको धरान र धरानभित्रै बसेर भोगेको धरान निकै भिन्न छ । धरान बुभ्mन, पढ्न र अध्ययन गर्न धरानभित्र छिर्नु पर्दछ । बाहिरबाट देखेको रूप हो भने धरानभित्रै भोगेको सार हो । सार्वभौमतः सार मुख्य हुन्छ । त्यसैले नगरप्रमुखले पनि श्रमअभियानसँगै धरानको अरू समग्र समस्यातिर पनि ध्यान दिन जरुरी छ । सबैतिर सन्तुलित नेतृत्व प्रदान गर्नु कुशल नेताको विशेषता हो । हाम्रो नगरप्रमुख श्रम अभियन्ता र पानी अभियन्ताको रूपमा काम गर्ने संस्थाको अध्यक्ष मात्र होइन । वस्तुतः वहाँ नगर सरकारको प्रमुख भएको हुँदा धराने जनताका समग्र समस्याहरूमा समान नजर राख्नै पर्दछ ।
त्यसकारण प्राथमिकरूपमा विकराल महामारी बन्दै गएको डेङ्गु नियन्त्रणको लागि विशेष स्वास्थ्य कार्यदल बनाएर परिचालन गर्नुपर्दछ । तत्काल र भावी उन्मूलनको खाका तय गर्नु पर्दछ । धार्मिक सद््भाव खल्बलिने गरी कुनै पनि अभिव्यक्ति दिनु हुँदैन । कसैले दिन्छ भने पनि उसलाई सम्झाएर समस्याको हल गर्नुपर्दछ । यसमा नगरप्रमुख विवादित नबन्दा नै राम्रो हुन्छ । इटहरीसँगको सीमा विवाद पनि चोटिलो र घोचिलो प्रतिक्रियाबाट होइन, संवाद र ऐतिहासिक तथ्यको आधारमा समाधान खोज्नु पर्दछ । यो दुइटा नगरपालिकाको मात्र सवाल हो, जस्तो लाग्दैन । यो नेपाल राज्य र सरकारकै समस्या हो । यसमा धरान र इटहरी फसिरहनुको कुनै औचित्य छैन । सस्तो लोकप्रियतासहितको चुनावी माहौल बनाउनु नै छ भने मेरो भन्नु केही छैन । नत्र धरानको विकास र समृद्धिको लागि सुशासनका समग्र ‘इन्डिकेटर’ हरू अन्वेषण गर्नु पर्दछ । तब मात्र समस्याहरू समाधन हुनेछन् साथै टाढा–नजिक जहाँबाट हेरे पनि एउटै धरान देखिनेछ ।