इनरुवा । औषधि पसल अनुगमनका क्रममा सरकारी टोलीलाई अवरोध पु¥याउनेमध्येका तीन जनालाई जिल्ला प्रशासन कार्यालय सुनसरीले तारिखमा छाडेको छ ।
गृहको परिपत्रअनुसार अनुगमनमा गएको टोलीलाई अवरोध र दुव्र्यवहार गर्ने औषधि व्यवसायीमध्येका योगन्द्र मेहता, विष्णु ठाकुर र सरफराज आलमलाई प्रशासनले तारिख दिएको हो ।
अनुगमन घटना विवादपश्चात् औषधि पसल बन्द गरी आन्दोलनमा उत्रिएका व्यवसायीसँग प्रशासनमा बसेको बैठकले योगेन्द्रसहितका तीन जनालाई कागज गराई तारिखमा छाडेको हो । प्रशासन कार्यालयका अनुसार तीनै जनालाई बोलाएको बेला कार्यालयमा उपस्थित हुने गरी तारिख दिइएको छ ।
प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले सरकारी टोलीमाथिको अवरोध दुःखद् भएको भन्दै सरकारी निर्णयउपर बाधा उत्पन्न गर्ने र गराउने कार्य गरे गराएको देखिएकाले उनीहरूको हकमा तारिख दिइएको स्पष्ट पारिन् । उनले त्यस्तो कार्य गर्ने कोही कसैको हकमा स्वीकार्य नहुने बताइन् ।
प्रजिअ पाण्डेले गृहको निर्देशन बमोजिम प्रशासन कार्यालय संयोजक रहने गरी ५ सदस्यीय अनुगमन टोली गठन गरिएको स्पष्ट पार्दै इनरुवा अस्पतालका निमित्त मेसुको प्रसङ्ग झिकेर टोली बाहिरको व्यक्ति भनिनुलाई गलत बुझाइ भएको बताइन् । उनले प्रशासनले गठन गरेको सरकारी संयन्त्रको समितिमा इनरुवा अस्पतालसमेत सदस्य रहे बमोजिम अनुगमनका क्रममा डाक्टर घिमिरेको उपस्थिति रहेको स्पष्ट पारिन् । यद्यपि डाक्टरको प्रसङ्ग जोडेर विवाद र गुनासो आएकाले सो विषयमा समेत छानबिन हुने प्रजिअ पाण्डेले स्पष्ट पारिन् ।
यसैबीच प्रजिअ पाण्डेले औषधि व्यवसायीसँगको बैठकमा अनुगमन टोलीलाई बाधा पुर्याइएको, अवरोध सिर्जना गरिएको र हुल हुज्जत गरी दुव्र्यवहार तथा हातपात प्रयासको घटनालाई दुःखद् मानिएको बताइन् ।
पाण्डेले त्यस्ता कुनै पनि कार्य स्वीकार्य नहुने भएकाले कानूनी राज्यको ठाडो उल्लङ्घन भएको ठहर गर्दै घटनामा संलग्नताको आधारमा तत्काललाई तीन जनाको हकमा प्रशासनले तारिख दिएको बताइन् । घटना सम्बन्धमा दुवै पक्षको कमी कमजोरी र गल्ती सूक्ष्मरूपले छानबिन हुने बताउँदै प्रजिअ पाण्डेले छानबिनका आधारमा दोषी उपरको कारबाहीको प्रक्रिया निक्र्योल गरिने समेत जनाइन् ।
उनले भनिन्, ‘बैठकले दुई पक्षीय छानबिन गर्ने गरी सहमति जुटाएको छ । अनुगमनलाई निरन्तरता दिने र त्यसमा औषधि व्यवसायीले साथ दिने प्रतिबद्धता समेत जनाइएको छ । साथै बैठकले बन्द गरिएका सम्पूर्ण औषधि पसल सञ्चालनमा ल्याउने सहमतिसमेत जुटाएको छ । सोहीअनुसार औषधि पसलहरू खोलिएका छन् ।’
इनरुवामा सोमबार औषधि पसल अनुगमन गर्न गएको प्रशासन नेतृत्वको टोलीलाई मेडिकल सञ्चालकसहितका व्यापारी र व्यवसायीले दुव्र्यवहार तथा हातपातको प्रयास गर्दै २ घण्टा बढी थुनेका थिए । सो क्रममा अवस्था तनावपूर्ण बनेपछि प्रशासनले बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गराई अनुगमन टोलीलाई सुरक्षित फर्काउनु परेको थियो ।