भद्रपुर । भारतबाट एक सय रुपैयाँभन्दा बढी मूल्यको सामान ल्याउँदा भन्सार लाग्ने व्यवस्थाको विरोधमा झापाको मेचीनगर नगरपालिकामा प्रदर्शन भएको छ ।
भारतबाट दैनिक सामान ल्याएर नेपाली बजारमा बेच्ने साना व्यापारीहरूले मङ्गलबार मेचीनगर नगपालिकाको कार्यालयमा पुगेर विरोध जनाएका हुन् ।
साना व्यापारीहरूले भारतबाट सामान ल्याएर नेपालका विभिन्न ठाउँसम्म पु¥याउने गरेका छन् । भारतबाट सामान ल्याउन नपाउँदा आफ्नो रोजीरोटी नै गुमेको भन्दै उनीहरूले यस प्रकारको नियम नलगाउन नगरप्रमुख गोपालचन्द्र बुढाथोकी तथा उपप्रमुख मीना उपे्रतीसँग माग राखेका छन् । त्यसको जवाफ दिँदै नगरप्रमुख तथा उपप्रमुखले यो विषयमा भन्सार कार्यालयसँग छलफल गरी समस्या समाधानको प्रयास गरिने आश्वासन दिएका थिए ।
सरकारले सीमावर्ती क्षेत्रमा भन्सार छलेर सामान आयात हुँदा राजश्व असुलीमा गिरावट भएको पाएपछि साउन १ गतेदेखि भारतबाट एक सय रुपैयाँभन्दा बढीको सामान ल्याउँदा भन्सार लाग्ने नियम कार्यान्वयनमा ल्याएको हो । त्यसैअनुसार मेची नगरपालिकाको समन्वयमा मेची उद्योग वाणिज्य सङ्घ, मेची भन्सार कार्यालय, भन्सार एजेन्ट, स्थानीय राजनीतिक दलका प्रमुखलगायतले १ सयभन्दा बढी रकमको सामानलाई भन्सार शुल्क लिने व्यवस्थामा सहजीकरण गर्ने प्रतिबद्धता गरेका थिए ।
सोहीअनुसार मेची भन्सार कार्यालयले भारतको स्थलमार्गबाट नेपाल प्रवेश गर्ने यात्रुहरूले आफ्नो साथमा ल्याएको मालसामानको चेकजाँच गरी १ सयभन्दा बढी मूल्यका सामानको भन्सार शुल्क लिन सुरु गरेको छ । यो व्यवस्था लागू भएसँगै स्थानीय समुदाय यसको पक्ष र विपक्षमा बाँडिएको छ ।
यसैबीच होटल व्यवसायी सङ्घ मेचीनगरले पनि एक सय रुपैयाँभन्दा बढी मूल्यको सामान ल्याउँदा भन्सार लाग्ने व्यवस्थाको विरोधमा काँकडभिट्टामा विरोध र्याली निकालेको छ । ब्यानर र प्ला–कार्डसहित सडकमा उत्रेका व्यवसायीले १ सयभन्दा बढीको सामान ल्याउन पाउनुपर्ने माग राखेका छन् । आर्थिक मन्दीले मुलुक जर्जर अवस्थामा पुगेको बेला व्यवसायीलाई सास्ती दिने खालको अव्यावहारिक नियम ल्याइएको भन्दै उनीहरू प्रदर्शनमा उत्रिएका हुन् ।