भद्रपुर । भारतबाट एक सय रुपैयाँ भन्दा बढी मुल्यको सामान ल्याउँदा भन्सार लाग्ने व्यवस्थाको बिरोधमा झापाको मेचीनगर नगरपालिकामा प्रर्दशन भएको छ ।

भारतबाट दैनिक सामान ल्याएर नेपाली बजारमा बेच्ने साना व्यापारीहरुले मङ्गलबार मेचीनगर नगपालिकाको कार्यलयमा पुगेर बिरोध जनाएका हुन । साना व्यापारीहरुले भारतबाट सामान ल्याएर नेपालको विभिन्न ठाउँसम्म पुर्याउने गरेका छन् ।

भारतबाट सामान ल्याउन नपाउदा आफनो रोजीरोटीनै गुमेको भन्दै उनिहरुले यसप्रकारको नियम नलगाउन नगर प्रमुख गोपाल चन्द्र बुढाथोकी तथा उपप्रमुख मिना उपे्रतीसँग माग राखेका छन् । त्यसको जवाफ दिदै नगरप्रमुख तथा उपप्रमुखले यो बिषयमा भन्सार कार्यलय सँग छलफल गरि समस्या समाधानको प्रयास गरिने आश्वासन दिएका थिए । 

सरकारले सिमावर्ती क्षेत्रमा भन्सार छलेर सामान आयात हुँदा राजश्व अशुलीमा गिरावट भएको पाएपछि साउन १ गतेदेखि भारतबाट एक सय रुपैयाँ भन्दा बढीको सामान ल्याउँदा भन्सार लाग्ने नियम कार्यन्वयनमा ल्याएको हो ।

त्यसै अनुसार मेची नगरपालिकाको समन्वयमा मेची उद्योग बाणिज्य सङ्घ, मेची भन्सार कार्यालय, भन्सार एजेन्ट, स्थानीय राजनीति दलका प्रमुखलगायतले १०० भन्दाबढी रकमको सामानलाई भन्सार शुल्क लिने व्यवस्थामा सहजीकरण गर्ने प्रतिबद्धता गरेको थियो ।

सोहीअनुसार मेची भन्सार कार्यालयले भारतको स्थलमार्गबाट नेपाल प्रवेश गर्ने यात्रुहरुले आफ्नो साथमा ल्याएको मालसामानको चेकजाँच गरी १ सय भन्दा बढी मूल्यका सामानको भन्सार शुल्क लिन सुरु गरेको छ । यो व्यवस्था लागु भए सँगै स्थानीय समुदाय यसको पक्ष र बिपक्षमा बाँडिएको छ । 

यसैबिच होटल ब्यवसायी सङ्घ मेचीनगरले पनि एक सय रुपैयाँ भन्दा बढी मुल्यको सामान ल्याउँदा भन्सार लाग्ने व्यवस्थाको बिरोधमा  काँकडभिट्टामा बिरोध र्याली निकालेको छ । ब्यानर र प्ले कार्डसहित सडकमा उत्रेका ब्यवसायीले १ सय भन्दा बढीको सामान ल्याउन पाउनुपर्ने माग राखेका छन् ।

आर्थिक मन्दीले मुलुक जर्जर अवस्थामा पुगेको बेला ब्यवसायीलाई सास्ती दिने खालको अब्यबहारिक नियम ल्याइएको भन्दै उनिहरु प्रर्दशनमा उत्रिएका हुन् ।