धरानमा डेङ्गु सङ्क्रमितहरूको सङ्ख्या दिनानु दिन बढ्दो छ । केही दिनयता डेङ्गुका बिरामी अत्यधिक बढेका छन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले डेङ्गुको उपचारका लागि छुट्टै वार्ड नै सञ्चालनमा ल्याएको छ । प्रतिष्ठानमा जाँच गर्न पुग्नेमध्ये ८५ प्रतिशतमा डेङ्गु देखिने गरेको छ । डेङ्गुकै कारण हालसम्म सात जनाको ज्यान गइसकेको छ । स्वास्थ्य क्षेत्रका विज्ञहरूको भनाइमा धरानमा डेङ्गुको महामारी अझै केही महिना फैलिने सम्भावना छ । धरानका घरघरमै डेङ्गुका बिरामी भेटिएका छन् । डेङ्गु सङ्क्रमितको सङ्ख्या हजारौं पुगिसकेको छ । स्वास्थ्य क्षेत्रमा यति ठूलो महामारीको अवस्था आउँदासमेत स्थानीय सरकार भनिने धरान उपमहानगरपालिकाले भने यसलाई अझै गम्भीररूपमा लिएको देखिंँदैन ।
धरानमा डेङ्गु फैलिन थालेको तीन महिनाभन्दा बढी भइसक्यो । डेङ्गुबाट ज्यान जान थालेको नै एक महिना भइसक्यो । डेङ्गु फैलिन सुरु भएदेखि नै स्थानीय सरकारले सतर्कता अपनाएर नियन्त्रणका लागि आफ्नो अधिकतम् शक्ति प्रयोग गर्नुपर्ने हो तर, धरान उपमहानगरपालिकाको भूमिका औपचारिकतामा मात्र सीमित भयो । वडा कार्यालयहरूले लामखुट्टे भगाउन धुवाँ उडाउने काम गरे पनि त्यसले मात्र डेङ्गु नियन्त्रण गर्न सम्भव थिएन । लामखुट्टे बस्ने ठाउँ खोजी गरेर नष्ट गर्नु नै डेङ्गु नियन्त्रणको प्रभावकारी उपाय भएको स्वास्थ्य क्षेत्रका विज्ञहरूले बताइरहँदा उपमहानगरको नेतृत्वले यस्तो काममा गति दिन सकेन । डेङ्गुले नगरवासीको धमाधम ज्यान गइरहँदा नगरप्रमुख हर्कराज राई भने जातीय र धार्मिक विवादलाई चर्काउन व्यस्त छन् । उनी कहिले प्याराग्लाइडिङ व्यवसायीसँग व्यक्तिगत दुस्मनी साध्ने साधन बनेर अर्काको निजी जग्गामा वृक्षरोपण गर्न पुग्छन् त कहिले धार्मिक र जातीय हिंसा भड्काउने अभिव्यक्ति सामाजिक सञ्जालमा लेखेर बस्छन् । जनसहभागिता जुटाउन माहिर अभियन्ता नगरप्रमुखले वृक्षरोपणभन्दा आफ्ना समर्थक जुटाएर लामखुट्टे बस्ने स्थान खोजी र नष्ट गर्ने अभियान चलाएको भए महामारी नियन्त्रणमा सहयोग पुग्थ्यो । तर, यतातिर उनको ध्यान केन्द्रित भएन । वृक्षरोपण त फेरि गर्दा पनि हुन्छ तर, महामारीका बेला मान्छेको जीवन बचाउनु महत्वपूर्ण हुन्छ भन्ने नगरप्रमुखले बुझ्न जरुरी छ ।
पछिल्लो समय चौतर्फी आलोचना बढेपछि नगरप्रमुख राईले लामखुट्टे खोज र नष्ट गर अभियानमा सक्रियता देखाएका छन् । ढिलै भए पनि उनको सक्रियता स्वागतयोग्य छ तर, यही सक्रियता एक महिनाअगाडि नै देखाएको भए यो महामारीबाट ज्यान गुमाउनेहरूमध्ये कसैको ज्यान बच्न पनि सक्थ्यो कि ? अब ढिलै भए पनि यो अभियानलाई तीव्र गतिमा अगाडि बढाउनु आवश्यक छ । नगरप्रमुख, उपप्रमुख वा वडाध्यक्षहरू आफै खट्नु एउटा भावनात्मक कुरा हुनसक्छ तर, उनीहरू स्वास्थ्य क्षेत्रका विज्ञ होइनन् । त्यसकारण स्वास्थ्य क्षेत्रकै जानकार व्यक्तिहरूलाई परिचालन गरेर अरूले सहयोग गर्नु आवश्यक छ । यस्तो महामारीका बेला स्थानीय सरकारले धरानभरका मेडिकलका जनशक्ति, निजी अस्पतालका जनशक्ति देखि यो विषयमा अध्ययन गरिरहेका विद्यार्थीलाई सहयोगीका रूपमा परिचालन गरेर लामखुट्टेको बासस्थान खोजी र नष्ट गर्ने अभियान चलाउनु आवश्यक छ । उनीहरूका साथमा नगरवासीले पनि सहयोग अवश्य नै गर्नेछन् । त्यसबाहेक नगरवासीलाई सचेत गराएर उनीहरूलाई पनि आ–आफ्नो घर वरपर सरसफाइ गर्न आह्वान गर्नुपर्छ । महामारी अझै फैलिने सम्भावना रहेकाले यसलाई जतिसक्दो चाँडो न्यूनीकरणको उपाय अपनायो, त्यति राम्रो हो । स्थानीय सरकारले सक्रियता देखाएमा नगरवासीले पनि साथ दिनेछन् । त्यसैले डेङ्गु नियन्त्रणका लागि स्थानीय सरकार अघि बढेर नेतृत्व लिनु आवश्यक छ । स्थानीय सरकारले आफ्नो भूमिका बढाउनु पर्छ ।