वराहक्षेत्र । वराहक्षेत्र नगरपालिकाको वडानम्बर १ स्थित भवानीथान मन्दिर क्षेत्रमा अवैध रुख कटान गरिएको घटनाका आरोपी विपेन मगरविरुद्ध सुनसरी जिल्ला अदालतमा मुद्दा सुनुवाइ सुरु भएको छ । असार २४ गते मुद्दाको पहिलो तारिखमा आरोपी मगर अदालतमा उपस्थित भएका छन् ।
तारिखमा गएका मगरले अदालतमा कुनै सुनुवाइ नभएको मात्र उपस्थिति जनाएको बताए । पर्यटन प्रवद्र्धन गर्न प्याराग्लाइडिङ उडाउने भन्दै २०७९ साल भदौ महिनामा भवानीथान मन्दिरक्षेत्रमा गैरकानूनीरूपमा २३ वटा रुख काटेको आरोप विपिन भनिने विपेन मगरलाई लगाइएको हो ।
मगरविरुद्ध पक्राउ अनुमति माग गर्दै वराह सव–डिभिजन वन कार्यालय चतराले जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । अदालतले जेठ ४ गते मगर विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।
मगर आफैले धरानस्थित सव–डिभिजन वन कार्यालय तीनकुनेका प्रमुख विक्रम अमात्यबाट आफ्नो थुनुवा पुर्जी लिएर वराह सव–डिभिजन पुगेको बताएका छन् । घटनाको मुचुल्कामा २३ रुख नभई रुखको ठुटा भेटिएको रेञ्जर तथा अनुसन्धान अधिकृत शिशुराज झाले बताए । वन कार्यालयलाई अवैध रुख कटान घटनालाई ढिलो अनुसन्धान गरी मुचुल्का उठाएको आरोप लागेको थियो ।
वराह सव–डिभिजन वन कार्यालयले मगरविरुद्ध जेठ १० गते ‘रुख बिरुवा हानि नोक्सानी’ मा मुद्दा दायर गरिएको अनुसन्धान अधिकृत झाले बताए ।
जेठ २३ गते मगर २५ हजार रुपैयाँ धरौटीमा छुटेका हुन् । वराहक्षेत्र वडा नं. १ को जनप्रतिनिधि सदस्यद्वय दिलमाया सार्की र दीपक राईको रोहवरमा छाडिएका विपेन भदौमा दोस्रो तारिखमा जाने भएका छन् ।
‘हामीले आफ्नो तर्फबाट गर्ने सबै कानूनी कारबाही पूरा गरेका छौँ, केस अहिले अदालतमा छ, के हुन्छ, त्यसको लागि पर्खनु पर्ने हुन्छ’–झाले भने ।