भद्रपुर । करोडौँको ठगी गर्ने झापा गौरादहका सुनचाँदी व्यवसायी सोमराज विश्वकर्माकी श्रीमतीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
गौरादह वडा नं १ स्थित घरबाट वुधबार सोमराजकी श्रीमती ४५ वर्षिया सुभद्रा विश्वकर्मालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए ।
उनले अनुसन्धानका लागि सुभद्रालाई पक्राउ गरिएको जानकारी दिए । यसअघि ४ सय ६६ जनाको २४ करोड ६५ लाख ३ सय ५५ रुपैयाँ हिनामिना गरेर फरार रहेका सुनचाँदी व्यवसायी विश्वकर्मा साउन ४ गते साँझ काँकडभिट्टाबाट पक्राउ परेका थिए ।
स्थानीय मानिसहरुको रकम हिनामिना गरी गत असार १४ गतेदेखि सम्पर्कबिहीन भएका विश्वकर्मामाथि पीडितहरुको जाहेरी अनुसार असार २४गते ठगी मुद्दा दर्ता भएको डिएसपी रिजालले जानकारी दिए । उनी ‘मलाई नखोज्नु ’भन्दै सम्पर्कविहीन भएका थिए । गत असार १५ गते वडा नं. १ का वडाध्यक्ष नगेन्द्र भण्डारीको म्यासेन्जरमा चिठी पठाएर उनी सम्पर्कविहीन बनेको प्रहरीले जनाएको छ ।