धरान । राष्ट्रिय स्वतन्त्र पार्टीले धरानमा सङ्गठन विस्तार तीव्र पारेको छ ।

पार्टीले दुई महिनामा धरानमा ११ वटा वडा समिति गठन गरेको छ भने अन्य वडामा पनि समिति गठनको तयारी भइरहेको जनाएको छ । पार्टीको नगर समिति गठन भएको दुई महिनामा विभिन्न सामाजिक कार्यमा पनि सक्रियता देखाएको छ ।

यो अवधिमा वृक्षरोपण, रक्तदान, धरानका मन्दिरहरूमा सरसफाइ, लागूपदार्थ दुव्र्यसनविरुद्ध सचेतना कार्यक्रम, भ्रष्टाचार तथा बेथितिविरुद्ध खबरदारीलगायतका कार्यक्रम गरेको पार्टीका नगर समिति सचिव सुमन श्रेष्ठले जानकारी दिए ।

पार्टीले धरानमा देखिएका बेथितिहरूविरुद्ध सरोकारवाला निकायहरूलाई ध्यानाकर्षण पत्रसमेत बुझाएको सचिव श्रेष्ठले बताए । उनी भन्छन्, ‘छोटो समयमा धेरै धरानवासीले सकारात्मक प्रतिक्रिया दिनुभएको छ । हामी विकृतिविरुद्ध लागिरहने छौं ।’