सुनसरी । कोसी गाउँपालिका वडा नम्बर ३ स्थित राष्ट्रिय माध्यमिक विद्यालय सोभनपुर (प्राविधिक धार सिभिल इन्जिनियरिङ) लाई निःशुल्क रूपमा बस हस्तान्तरण गरिएको छ । 

कोसी गाउँपालिकाले नेपाल सरकारबाट भन्सार छुट गराएर ल्याएको ३२ लाख मूल्य बराबरको बस विद्यालयलाई शुक्रबार हस्तान्तरण गरेको राष्ट्रिय माध्यमिक विद्यालय सोभनपुरका प्रअ हरेकृष्ण राउतले जानकारी दिए । एक कार्यक्रमका बीच गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीले  विद्यालयका प्रअ राउत र व्यवस्थापन समितिका अध्यक्ष समसुल मन्सुरीलाई बसको साँचो हस्तान्तरण गरेका थिए ।

विभिन्न पालिकाबाट अध्ययन गर्न आउने विद्यार्थीहरूलाई आवत–जावत गर्न सहज होओस् भन्ने उद्देश्यले विद्यालयलाई बस हस्तान्तरण गरेको कोसी अध्यक्ष अन्सारीले  बताए । आफ्नो प्रमुख प्राथमिकता शिक्षा र स्वास्थ्य क्षेत्र भएको बताउँदै उनले सोहीअनुसार आवश्यकताअनुसार सामुदायिक विद्यालयलाई बस हस्तान्तरण गरेको बताए ।

सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तरका साथसाथै पूर्वाधार क्षेत्रको विकासमा लागिपरेको अध्यक्ष अन्सारी बताउँछन् । हस्तान्तरण गरिएको बसलाई सही तरिकाले सदुपयोग गर्न विद्यालय र व्यवस्थापन समितिलाई सचेत गराउँदै पालिका अध्यक्ष अन्सारीले बस सञ्चालन गर्नका लागि कार्यविधि बनाउनसमेत सुझाए । 

चालक, सह–चालक, इन्धन खरिद, बसको मर्मत सम्भार र रेखदेखबारे विद्यालय स्वयम्ले जिम्मेवारी लिनुपर्ने बताइएको छ । साइकल र पैदल यात्रा गरेर टाढाबाट अध्ययन गर्न आउने समस्या अन्त्य गर्नका लागि बस प्रदान गरिएको बताउँदै प्रअ राउतले बसबाट गरिब तथा विपन्न समुदायका विद्यार्थी बढी लाभान्वित हुने बताउँछन् ।

बस हस्तान्तरण कार्यक्रममा पालिकाकी उपाध्यक्ष अनितादेवी यादव, कोसी–३ का वडाध्यक्ष सुलेमान मन्सुरी, विद्यालय व्यवस्थापन समिति अध्यक्ष, प्रअलगायतको उपस्थिति रहेको थियो ।