बिर्तामोड । एक सय रुपैयाँ भन्दा बढीको सामानमा भन्सार तिर्नुपर्ने मेची भन्सार कार्यालय काँकडभिट्टाबाट एक कन्टेनर सामान भन्सार नतिरी बाहिरिने गरेको रहस्य खुलेको छ ।

घरायसी सामान ल्याउँदा अनिवार्य भन्सार गर्नुपर्ने प्रावधान अघि सारेको केही दिनमा कन्टेनर नै भन्सार नगरी बाहिरिने गरेको पाइएको हो ।

भन्सार प्रक्रिया पूरा नगरी भागेको भनिएको सामानसहितको ना २ ख ४९०२ नम्बरको कन्टेनर शुक्रबार प्रहरीले नियन्त्रणमा लिएपछि त्यसरी भन्सार बिनै भारतबाट सामानहरू आयात हुने रहस्य खुलेको छ ।

भन्सारमा राजश्व नतिरी निस्किएको सो कन्टेनर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाको संयुक्त प्रहरी टोलीले विशेष सूचनाको आधारमा पूर्व पश्चिम राजमार्ग अन्तरगत मेचीनगर ६ स्थित पुरानो भन्सार नजिकैबाट शुक्रबार साँझ ७ बजे सो कन्टेनरलाई नियन्त्रणमा लिएको हो । भन्सारदेखि पुरानो भन्सारको दुरी ५०० मिटर छ । 

प्रहरीले कन्टेनरलाई नियन्त्रणमा लिएसँगै चालक भागेका भएका थिए । कन्टेनर भन्सारबाट निस्किए पनि कुनै कागजात फेला नपरेको जानकारी प्रवक्ता रिजालले दिए । ‘कन्टेनर भन्सार गयो, सामान लोड गरेर आयो तर राजश्व तिरेको कागजात फेला परेन,’ उनले भने । यस विषयमा भन्सार प्रमुख रामप्रसाद रेग्मीसँग बुझ पटक पटक फोन सम्पर्क गर्दा पनि उनी सम्पर्कमा आउन चाहेनन् ।

सो कन्टेनरमा एक करोड भन्दा धेरै मूल्यको सामान फेला परेको प्रहरीले जनाएको छ । रिजालका अनुसार कन्टेनरमा कोको जेल ६० कार्टुन, अफ्जल ८० कार्टुन, काँसको झ्याम्टा २ हजार ४ सय ६५ केजी र साबुन २५ कार्टुन फेला परेको छ ।

जुन सामानको एक करोड एक लाख २७ हजार ५ सय मूल्याङ्कन गरिएको छ । गाडीको २० लाख मूल्याङ्कन गरेर एक करोड २१ लाख २७ हजार ५ सय मूल्याङ्कन गरिएको छ ।

मेची भन्सार प्रशासनले शुक्रबार फेला परेको कन्टेनर ढुवानी ९ट्रान्सपोर्टेसन० को भएको जनाएको छ । भन्सार प्रशासनका अनुसार ‘कन्टेनर भन्सारबाट बाहिरिएको होइन, ढुवानीको कन्टेनर हो ।’

भन्सार प्रमुख रामप्रसाद रेग्मीले कन्टेनर भन्सारबाट बाहिरिएको हुनै नसक्ने बताए । उनले सो कन्टेनर ट्रान्सपोर्टेसनको भएको दाबी गरे । तर पनि घटनाको अनुसन्धान भइरहेको हुनाले अहिले नै केही भन्न नसकिने रेग्मीले बताए ।

यसैबिच भन्सार नतिरी भागेको कन्टेनर राजश्व अनुसन्धान कार्यालय इटहरी पठाइएको छ । लाखौँको सामान बोकेको कन्टेनर भन्सार नतिरी बाहिरिएपछि प्रहरीले नियन्त्रणमा लिएर राजश्व कार्यालय पठाएको हो । 

भन्सार भित्रैबाट भन्सार नतिरी लाखौँ मूल्यको सामान बाहिरिएपछि कर्मचारीको मिलेमतोको आशंका गरिएको छ । केही दिन अघिदेखि सर्वसाधारणले एक सय रुपैयाँभन्दा माथिको सामान नेपाल भित्र्याउँदा अनिवार्य भन्सार तिर्नुपर्ने नियम बनाइएको छ । तर लाखौँको सामान भन्सार नतिरी बाहिरिएपछि तस्करको ठुलो सेटिन हुने गरेको पुष्टि भएको छ ।