भद्रपुर । ज्ञात अज्ञात समस्त पितृहरुको उद्दार गर्ने उदेश्यले झापाको भद्रपुर ७ स्थित सङ्कटहरेश्वर विश्रान्ति घाटमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ गर्ने बृहत् छलफल भएको छ ।

 प्रदेशसभा सदस्य, स्थानीय जनप्रतिनिधि, उद्योगी, कर्मचारी, राजनीतिकदल लगायत  सम्पूर्ण स्थानीय  श्रद्धालु भक्तजनको उपस्थितिमा यो छलफल भएको हो ।

छलफलका क्रममा सबै जनाले उत्साहित भएर तन, मन, धनले सहयोग गरेर पुराण सफल बनाउने निष्कर्ष निकालेका छन् ।

भद्रपुर नगरपालिका वडा नं.८ का वडा अध्यक्ष मनोज सुब्बाले पुराण सफल बनाउनका लागि परिआएको सबै सहयोग गर्ने बताए ।

त्यसैगरी वडा नं.६ का वडा अध्यक्ष रतिया राजवंशीले यो स्थल विश्रान्ति घाट जस्तो नदेखिएर पर्यटकीय स्थलको रुपमा परिणत भएको भन्दै वडाबाट पनि यो स्थल विकासका लागि केही रकम छुट्टयाइएको बताए ।

नेपाली काँङ्ग्रेस भद्रपुर वडा १० का वडा सभापति विष्णु प्रसाद काफ्लेले पुराणको सचिवालय यहाँ नराखेर सबैलाई पायक पर्ने ठाउँमा राखेर कार्य सम्पादन गर्न सुझाव दिएका थिए ।

नगरपालिकाकी उप मेयर राधा कार्कीले  पुराण सफल बनाउन हातमा हात र साथमा साथ मिलाएर जानुपर्ने बताइन् ।

प्रदेशसभा सदस्य मोहन महर्जनले स्थल विकासका निम्ति प्रपोजल बनाएर प्रदेश सरकारमा दिनहुन जानकारी गराएका थिए । पेश गरिएको प्रपोजल पारित गराउन सधैंभरि साथ सहयोग गर्ने बताए ।

घाटका अध्यक्ष हरि निरौलाले छलफलबाट पुराण आयोजक मुल समारोह समिति र ९ वटा उपसमिति गठन गरेको  बताए । यही भदौ ३० गते देखी असोज ६ सम्म पुराण सञ्चालन हुने भएको छ । 

पछिल्लो समय यो घाट निकै चर्चामा छ । भद्रपुर नगरपालिका क्षेत्र भित्र निर्माण गरिएका मध्ये यो घाट  सुबिधा सम्पन्न छ ।

यो स्थलमा भद्रपुर  ७, ८ र १० वडाका सबै जसो मृत्यु वर्ण गरेकाहरुलाई अन्त्येष्टि संस्कारको लागि उपयोग गर्ने गरेका छन् । हालसालै तामाङ जातिले पनि आफ्नो संस्कार अनुसार घाट परिसरमा छुट्टै शवदाह स्थल निर्माण गरेको छ  । विभिन्न सङघ संस्था तथा व्यक्तिले मलामी विश्राम घर, चौतारा, खानेपानी, भगवानका प्रतिमा, जिवनचक्र प्रतिमा, शङखको प्रतिमा जस्ता भौतिक संरचना निर्माण गर्दै आएका छन् ।

सरकारी जग्गामा घर बनाउन नपाईने भएकोले स्थानीय मोहन पोखरेलले छेउमा १ कठ्ठा जग्गा दिएपछि घर निर्माण गरिएको छ ।

बिगत १० वर्ष अगाडिदेखि सुरु भएको घाट भविश्यमा दाहसंस्कार स्थल मात्रै  नभएर धार्मिक तथा पर्यटकीय स्थलको रुपमा विकास गर्न लागेको घाटका अध्यक्ष हरि निरौला वताउँछन् ।

नगरपालिका, प्रदेश सरकार र सङ्घीय सरकारलाई समेत जानकारी गराएकोले प्रदेश सरकारबाट चालू आर्थिक वर्षका लागि १० लाख बजेट  विनियोजन भएको भद्रपुर नगरपालिका वडा ७ का वडाध्यक्ष अभिषेक ढुङ्गानाले बताए ।

मानिस जन्मेपछि ध्रुबसत्य मृत्यु वरण गर्नेपर्ने हुन्छ, हिन्दु सनातन धर्मशास्त्र अनुसार मृत्यु वरण गरेपछि अन्त्य संस्कारको लागि घाटको आवश्यकता भएकोले  घाट निर्माण गरिएको मलामीमा सहभागी भएका गोपाल आचार्यले  बताए ।

अन्त्य संस्कारले हाम्रो समाजलाई संस्कार सर्वगुण सम्पन्न बनाउने भएकोले यस्तो कार्यलाई सबैले सहयोग गरेर संस्कारित समाजको निर्माण गर्न सकिने उनले बताए ।