त्रिभुवन विमानस्थलबाट भन्सार पास भएर बाहिर निस्किएको एक क्विन्टल सुन बरामद भएपछि विमानस्थल भन्सारका कर्मचारीहरूको मिलेमतो आशङ्कामा केही कर्मचारीलाई पक्राउ गरी छानबिन भइरहेको छ । विमानस्थलको कडा चेकजाँचबीच त कर्मचारीहरूकै मिलेमतोमा क्विन्टल क्विन्टल सुन पास हुने नेपालमा भारतीय सीमा क्षेत्रका भन्सारबाट तस्करहरूले कति सजिलै सामान भन्सार पास गराउँदा हुन् भन्ने सहजै अनुमान गर्न सकिन्छ । कर्मचारीहरूकै मिलेमतोमा हुने तस्करीका कारण नेपालका भन्सार कार्यालयहरू बदनाम छन् । कर्मचारीहरू किन भन्सारमा पुग्न हत्ते गर्छन् भन्ने पनि घाम जत्तिकै छर्लङ्ग छ । आम नागरिकमै भन्सारका कर्मचारी भन्ने वित्तिकै भ्रष्टाचारी, घुस्याहा भन्ने भाष्य स्थापित भएको छ । सर्वसाधारणसम्म यस्तो धारणा फैलिनुमा अरू कसैको होइन, स्वयम् भन्सार कर्मचारीहरूका गतिविधि र नियामक निकायको बेवास्ता कारकका रूपमा देखिन्छन् । यसका धेरै उदाहरणहरू भेटिन्छन् ।

पछिल्लो समय सर्वसाधारण नागरिकका लागि भारतीय बजारबाट एक सय रुपैयाँभन्दा बढीको घरायसी सामान ल्याउँदा भन्सार शुल्क लिइन्छ । एक–दुई किलो चिनी, चामल किनेर फर्किएका नागरिकलाई भन्सारका कर्मचारीले अनेक केरकार गरेर दुःख दिन्छन् तर, ठूला व्यापारीका करोडौंका सामान भने भन्सार शुल्क नै नतिरी नेपाल भित्रिने गरेका छन् । यसको पछिल्लो उदाहरण मेची भन्सारमा देखिएको छ । एक करोडभन्दा बढी मूल्यको सामान बोकेको ट्रक भन्सारमा राजस्व नतिरी निस्किएको पाइएको छ । त्यति धेरै सामान ल्याएको ट्रक भन्सारका कर्मचारीले किन देखेनन् ? वा मिलेमतोमा बेवास्ता गरे ? भन्ने प्रश्न उठेको छ । ट्रकलाई जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाको संयुक्त प्रहरी टोलीले विशेष सूचनाको आधारमा पूर्व पश्चिम राजमार्ग अन्तर्गतको मेचीनगर–६ स्थित पुरानो भन्सार नजिकैबाट नियन्त्रणमा लिएको थियो । घटनाक्रम हेर्दा भन्सारकै मिलेमतोमा कन्टेनर पास भएको देखिन्छ । यो विषयमा गम्भीर अनुसन्धान गरी दोषी पाइए कानूनी कारबाही हुनु आवश्यक छ ।

सानालाई ऐन ठूलालाई चैन भन्ने उखान नेपालमा पहिलादेखि नै प्रचलित हो । अन्य क्षेत्रमा जस्तै भन्सारमा पनि ठूला तस्करलाई खुलेआम छाड्ने अनि सर्वसाधारण नागरिकलाई दुःख–कष्ट दिने काम भइरहेको छ । भन्सारमा हुने यस्ता अनियमितता आधा मात्र रोकिने हो भने पनि देश आर्थिक रूपमा धेरै माथि उठ्थ्यो । तर, जसले यस्ता अनियमितता रोक्नु पर्ने हो, उही नै तस्करी धन्दा सञ्चालन गर्नेहरूसँग मिलेमतो गर्न थालेपछि यसलाई रोक्न सहज छैन । नेपालजस्तो देशमा कर्मचारीतन्त्र भ्रष्टाचारको दलदलमा फसिसकेको छ । त्यसैले यस्तो धन्दा रोक्न राजनीतिक इच्छा शक्ति आवश्यक पर्छ । राजनीतिक दलमा आबद्ध र शक्तिमा पुगेकाहरूमध्ये पनि धेरैजसो यिनै तस्करी धन्दाका सञ्चालकहरूको सञ्जालमा परिसकेको विभिन्न घटनाक्रमहरूले देखाउँछन् । पछिल्लो समयको चर्चित एक क्विन्टल सुन प्रकरण होस् या नक्कली भुटानी शरणार्थी प्रकरण अथवा ललिता निवास जग्गा प्रकरण सबैमा राजनीतिक दलका ठूला नेता र कर्मचारीहरूको मिलेमतो रहेको देखिन्छ । यसो भन्दैमा देशका सबै कर्मचारी र नेता भ्रष्ट छन् भन्न मिल्दैन । भ्रष्टहरूको बाहुल्यताभित्र सानो सङ्ख्यामा सदाचारीहरू पनि अवश्य नै छन् । त्यसैले त विभिन्न काण्डहरू बाहिर आउँछन् । देशको सेवा गरौं भन्ने सोच भएका कर्मचारी र नेतालाई आम नागरिकको साथ सहयोग आवश्यक पर्छ । कर्मचारी र नेताको भेषमा सरकारी कार्यालयहरूमा रहेका बिचौलिया र नेताहरूलाई निरुत्साहित गर्न नागरिकले पनि दबाव सिर्जना गर्नुपर्ने अवस्था छ । यस्तो बेलामा नबोले वा केही कदम नचाले भोलि तिनै भ्रष्टहरूका कारण आम नागरिकको बिचल्ली हुने अवस्था आउन सक्छ ।