धनकुटा । साँगुरीगढी गाउँपालिका वडा नं. ६ नाम्जे स्थित ग्रामीण जनता माध्यमिक विद्यालयले होटल व्यवस्थापन सम्बन्धी पढाइ सुरु गरेको छ ।
विद्यालयले बिहीबार एक कार्यक्रमको आयोजना गर्दै होटल व्यवस्थापनसम्बन्धी होटल स्कुल सञ्चालनमा ल्याएको छ । होटल स्कुलको समुद्घाटन कार्यक्रमका प्रमुख अतिथि साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईले रिबन काटेर गरेका थिए ।
पूर्वी क्षेत्रको प्रमुख पर्यटकीय गन्तव्यको रूपमा परिचित भेडेटारसहित आसपासका क्षेत्रमा व्यावसायिक रूपमा सञ्चालित होटलहरूलाई आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले होटल व्यवस्थापनसम्बन्धी पढाइ सुरु गरिएको ग्रामीण जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक टङ्क भुजेलले बताए । उनका अनुसार होटल व्यवस्थापन सम्वन्धि पठनपाठन अघिल्लो शैक्षिक सत्रदेखि सुरु गरेको भए पनि औपचारिक उद्घाटन अहिले गरिएको हो । अहिले कक्षा १२ मा १२ जना विद्यार्थी अध्ययनरत रहेको उनको भनाइ छ । विद्यालयले विद्यार्थीको प्रयोगात्मक अभ्यासमा सहयोग पुगोस् भनेर नाम्जेमा होटल स्कुल सञ्चालनमा ल्याएको छ । होटल म्यानेजमेन्ट सम्बन्धी पढाइ विद्यालयमा भए पनि विद्यार्थीको प्रयोगात्मक अभ्यास होटल स्कुलमा हुने प्रअ भुजेलले बताए ।
दुई तलाको भवनमा ८ ओटा कोठा रहेका छन् । भवनको माथिल्लो तलाको ४ वटा कोठालाई एट्याच रुम बनाइएको छ भने भूईंतलामा किचेन र रिसेप्सन बनाइएको छ । होटल स्कुलको व्यवस्थापन अध्ययनरत विद्यार्थीले गर्छन् । उनीहरूले अभ्यास गर्न कहिले किचनमा, कहिले रिसेप्सनमा र कहिले सर्भिसमा काम गर्छन्, जसको कारण सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक सीपको पनि विकास भएको विद्यार्थीहरूको भनाइ छ । होटल मेनेजमेन्ट प्राविधिक र प्रयोगात्मक विषय भएकोले यसका लागि होटल स्कुल सञ्चालन गरिएको विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष विष्णुबहादुर आचार्यले बताए ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईले प्राविधिक धारको पठन–पाठनले स्वरोजगार बन्न सहयोग पुग्ने बताए । भेडेटार क्षेत्र पर्यटकीय क्षेत्र हो । यहाँ पछिल्लो समय स्तरीय होटल खुल्ने क्रम बढ्दो छ । जसमा दक्ष जनशक्तिको अभाव छ । उक्त अभावलाई यस विद्यालयले उत्पादन गर्ने जनशक्तिले पूर्ति गर्ने उनले बताए । होटल म्यानेजमेन्ट पढाइ सक्ने बित्तिकै रोजगार पाइन्छ । बेरोजगार भएर बस्नु पर्दैन । यो क्षेत्रको अध्ययन गर्ने विद्यार्थीहरूलाई धेरै अवसर हुने उनले बताए ।
कार्यक्रममा बोल्दै अध्यक्ष राईले होटल म्यानेजमेन्ट पढाइलाई थप गुणस्तरीय बनाउन गाउँपालिकाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले होेटल म्यानेजमेन्ट सङ्कायतर्पmको कक्षा ११ मा भर्ना हुने गाउँपालिकाभरिका जेहेन्दार तथा निम्न वर्गका दुई जना विद्यार्थी (छात्र र छात्रा १–१ जना) लाई गाउँपालिका अध्यक्ष कोषबाट निःशुल्क पठन–पाठन गर्ने व्यवस्था मिलाउने घोषणा तथा प्रतिबद्धता समेत व्यक्त गरे ।