विराटनगर । झापाको मेचीनगरपालिका–११ धाइजनस्थित सूर्य प्लस एण्ड प्रोसेसिङ प्रालिले उत्पादन गरेको ‘जुनेली’ नामको चनाको बोरामा ढुङ्गा र माटो भेटिएको छ ।
उपभोक्ताबाट गुनासो आएपछि विराटनगरको खाद्य पसलमा आइतबार गरेको अनुगमनको क्रममा सिल प्याक चनाको बोरामा ढुङ्गा र माटो भेटिएको हो ।
विराटनगर महानगरपालिकाको नेतृत्वमा विराटनगर–९ स्थित मेनरोडमा रहेको अशोक कुमार एण्ड सन्स खाद्यको होलसेल पसलमा गरेको अनुगमनको क्रममा जुनेली नामको चनाको सिल प्याक बोरामा चनाजस्तै देखिने माटोको डल्ला र ढुङ्गा भेटिएको विराटनगर महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दीपक पौडेलले जानकारी दिए । ‘होटलमा खाजा खान गएका उपभोक्ताहरूबाट खाजा खाने क्रममा चनामा ढुङ्गा भेटिएपछि हामीलाई गुनासो गर्नुभयो । खाद्य प्राविधिकसहितको टोली लिएर चना खरिद गरेर ल्याएको खुद्रा पसलमा सुरुमा अनुगमन गरियो । त्यसपछि होलसेल पसल अशोक कुमार एण्ड सन्समा बिक्रीमा राखिएको चनाको बोरा खोलेर हेर्दा भित्र चनाजस्तै देखिने माटो र मसिनो ढुङ्गा पनि भेटियो’ अनुगमनको नेतृत्व गरेका निमित्त प्रमुख प्रशासकीय अधिकृत पौडेलले भने, ‘पाँच केजी चनामा एक पावा (२ सय ५० ग्राम) चनाजस्तै देखिने माटोको डल्ला र मसिना ढुङ्गाहरू भेटिएको छ ।’
अशोक कुमार एण्ड सन्स खाद्यको होलसेल पसलले विराटनगर–१ मा रहेको माँ सीता इन्टरप्राइजेजबाट चना खरिद गरेर ल्याएको पाइएको छ । त्यसपछि माँ सीता इन्टरप्राइजेजमा पनि अनुगमन गरिएको थियो । अनुगमन गर्ने क्रममा इन्टरप्राइजेजको गोदाममा २३ बोरा ‘जुनेली’ नामको चना भेटिएको छ । ‘हामीले सिल प्याक बोराबाट ‘जुनेली’ नामको चनाको नमुना सङ्कलन गरी ल्याव परीक्षणको लागि पठाएको छौं’ उनले भने, ‘अहिले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयमा पठाएका छौं । केही दिनभित्रमा रिपोर्ट आउनेछ । त्यसपछि खानयोग्य भए नभएको पत्ता लाग्नेछ ।’ रिपोर्ट आएपछि थप कारबाहीको प्रक्रिया अगाडि बढ्ने उनले बताए ।
‘होलसेलदेखि उद्योगबाट सिधै खरिद गरेर ल्याउने इटरप्राइजेजसम्म अनुगमन गरिएको छ’ उनले भने, ‘अशोक कुमार एण्ड सन्समा बिक्रीमा राखिएको चना र उद्योगले उत्पादन गरेको चनाको कलर पनि फरक देखिएको छ । त्यही भएर हामीले तीन बोरा चना पनि बरामद गरेका छौँ ।’ महानगरपालिकाको क्षेत्राधिकारभन्दा अन्यत्र बाहिरको जिल्लामा उद्योग भएकोले क्षेत्राधिकार पर्ने खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरलाई अनुगमन गर्न सुझाव पनि दिएको उनले बताए ।