त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरबाट एक क्विन्टल सुन पक्राउ गरिएको विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आफ्नो अडान यथावत् राखेपछि सोमबारका लागि बोलाइएको प्रतिनिधि सभा बैठक नबसी स्थगित भएको छ ।
सरकारको आग्रहमा सभामुख देवराज घिमिरेले मंगलबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् । एमालेले सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग गर्दै आएको छ ।
सुन प्रकरणको छिनोफानो नभएसम्म सदन चल्न नदिने एमालेको अडान छ । विमानस्थल बाहिरबाट ठूलो परिणामको सुन बरामद भएपछि एमालेले गृहमन्त्रीकै संलग्नता भएको आरोप लगाउँदै राजीनामा माग्दै आइरहेको छ ।
यसअघि गत १० साउनमा बसेको प्रतिनिधिसभा बैठकमा पनि एमालेले सोही माग राखेको थियो । माग सम्बोधन नभएसम्म प्रतिनिधिसभा बैठक चल्न नदिने एमालेको अडान छ ।
संसद खुलाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ मुख्य घटक नेपाली कांग्रेस र प्रतिपक्षी दल नेकपा एमालेका शीर्ष नेतासँग छलफल गरेका थिए ।