धरानस्थित व्यापारिक प्रतिष्ठान बराह ग्रुप अफ कम्पनी अन्तर्गतको बराह फेमिली किचन सञ्चालनमा आएको छ । विवादका बीच बन्द भएको १९ महिनापछि फेमिली किचन सञ्चालनमा आएको हो ।
भानुचोक महेन्द्रपथस्थित बराह कम्प्लेक्सको चौथो तलामा रहेको फेमिली किचन आज सोमबारदेखि सञ्चालनमा आएको हो ।
बराहका सञ्चालक मानबहादुर बिक दियालीले साथ र सहयोगको अपेक्षा गरेको बताएका छन् । बराहले फेमिली किचन सञ्चालनमा ल्याएसँगै अन्य व्यवसाय पनि क्रमशः सञ्चालन गर्ने जनाएको छ ।
बराह सहकारीले करिब १३ हजार शेयर सदस्यको १० हजारदेखि ४० करोड रुपैयाँसम्म रकम जम्मा गरेको छ । वार्षिक साधारणसभामा सहकारीले ३ करोड ६७ लाख ३२ हजार ३ सय ४३ रुपैयाँ ८० पैसा जम्मा गरेको हिसाब सार्वजनिक गरेको थियो । तर रकम चाहिएको बेलामा नपाएपछि सहकारीविरुद्ध शेयर सदस्यहरू आन्दोलित भएका थिए ।
आन्दोलनपछि बराह ग्रुप अफ कम्पनीको अचल सम्पत्तिसमेत रोक्का हुन पुगेको थियो भने व्यवसाय बन्द भएको थियो ।
बराह ग्रुप अफ कम्पनीमा सहकारीसहित अभिमत सेभिङ एण्ड क्रेडिट लिमिटेड, दुबईमा अल बराह मिनी मार्केट एलएलसी, बराह बालसंसार, बराह ज्वेलरी इण्डस्ट्रिज प्रालि, बराह फेमिली किचन, चितवनमा नारायणी बराह ज्वेलरी नारायणी, गोर्खा बराह ज्वेलरी पोखरा, इन्द्र बराह ज्वेलरी हङकङ, इन्द्र बराह ट्राभल्स एण्ड टुर्स, कृपा दृश्य डिजिटल प्रालि रहेका छन् ।
धरानमा सोमबारबाट बराह फेमिली किचन सञ्चालनमा आएपछि उपभोक्ताहरुले शुभकामना दिएका छन् । प्रतिक्रिया मिश्रित छ । धरानमा सपिङ सेन्टरको अवधारणा सुरु गरी एकीकृत व्यवसाय सुरु गरेको बराहले फेमिली किचनसँगै अन्य व्यवसायसमेत क्रमशः सुरु गर्ने जनाएको छ ।