डेङ्गु महामारीबाट यतिबेला देशमै धरान सबैभन्दा बढी प्रभावित छ । डेङ्गुको सङ्क्रमणबाट धरानमा डेढ महिनाको समयमा ८ जनाको ज्यान गइसकेको छ भने डेङ्गुका सङ्क्रमणबाट हजारौं नगरवासी पीडित बनिसकेका छन् । यतिबेला धरानका घरघरमै डेङ्गुका सङ्क्रमितहरू छन् । यो धरानका लागि ठूलो स्वास्थ्य सङ्कटको अवस्था हो । डेङ्गुको प्रभाव शैक्षिक संस्थाहरूमा पनि देखिएको छ भने स्वास्थ्यकर्मीहरूसमेत पीडित बनिरहेका छन् । यस्तो अवस्थामा धरान उपमहानगरपालिकाले डेङ्गु नियन्त्रणका लागि प्रभावकारी काम गर्न सक्नुपर्ने हो तर, डेङ्गु फैलिएको चार महिनासम्म पनि उपमहानगरपालिकाले प्रभावकारी काम गर्न सकेको देखिँंदैन । केही समययता सामाजिक सञ्जालमा पनि उपमहानगरपालिका डेङ्गु नियन्त्रणमा किन सुस्ताएको हो ? भनेर प्रश्न उठेका छन् ।
धरान उपमहानगरपालिकाकै स्वास्थ्य महाशाखाले डेङ्गु नियन्त्रणको सबैभन्दा प्रभावकारी उपाय लामखुट्टे बस्ने स्थानको खोजी र लार्भा नष्ट गर्ने ‘सर्च एन्ड डिस्ट्रोय’ अभियान हो भन्ने गरेको छ । तर, उपमहानगरपालिकाले डेङ्गु फैलिएको तीन महिनापछि मात्र यस्तो अभियान सुरु ग¥यो, त्यो पनि सुस्त गतिमा । चार वर्षअघि पनि धरानमा यसरी नै डेङ्गु फैलिएको थियो । त्यो बेला स्थानीय सरकारले सबै सरोकारवालासँग समन्वय गरेर समयमै खोजी र नष्ट गर्ने अभियान सञ्चालन गरेको थियो । त्यसबेला ठूलो मानवीय क्षति हुन पाएको थिएन । यसपटक पनि डेङ्गु फैलिने बित्तिकै स्थानीय सरकारको पहलमा अभियान सञ्चालन भएको भए, कतिपयले अकालमै ज्यान गुमाउनु पर्दैनथ्यो कि ? अहिले नागरिकले गरिरहेको प्रश्न पनि यही हो । यसमा उपमहानगरको नेतृत्व चुकेको देखिन्छ । नगरप्रमुख हर्कराज राई र उपप्रमुख अइन्द्रविक्रम बेघाले डेङ्गुविरुद्धको अभियानलाई प्राथमिकतामा राखेको देखिएन । बरु उनीहरू फुुर्सदको समयमा विभिन्न डाँडाकाँडामा वृक्षरोपण गर्न पुगे । व्यक्तिको नाममा रहेको जग्गामा पनि बिरुवा रोपेर विवादमा परे । त्यो समय लामखुट्टेको बासस्थान खोज्ने र नष्ट गर्ने अभियान चलाएको भए आम नागरिकलाई कति राहत हुन्थ्यो ? बिरुवा त फेरि पनि रोप्न सकिन्छ तर, नागरिकको जीवन फेरि पाउन सकिन्न । बोटबिरुवाको पनि महत्व नभएको होइन तर, महामारीका बेला बोटबिरुवाभन्दा मान्छेको जीवन बढी महŒवपूर्ण हुन्छ । यस्तो कुरामा नगरप्रमुख र उपप्रमुखले गम्भीरता देखाउन नसक्नु दुःखद् हो । जब कि उपप्रमुख आफै डेङ्गु सङ्क्रमण भएर निको भएका हुन् ।
चौतर्फी आलोचनापछि उपमहानगरले नगरवासीका लागि डेङ्गुको निःशुल्क परीक्षण र उपचार सुरु गरेको छ । यो सकारात्मक काम हो । यदि यो शिविर एक महिनाअघि सञ्चालनमा आएको भए धेरै नगरवासीलाई राहत हुने थियो । ढिलै भए पनि वा दबावमै भए पनि उपमहानगरपालिकाले गरेको काम सकारात्मक छ । तर, यसलाई व्यवस्थित बनाउनु जरुरी छ । महामारीको मौकामा बजारमा डेङ्गु परीक्षणदेखि खानेकुरा, औषधिहरूमा समेत मनोमानी भइरहेको सर्वसाधारणबाट गुनासो आइरहेको छ । यस्तो विषयमा पनि उपमहानगरपालिकाले चासो देखाउनु जरुरी छ । अर्को महŒवपूर्ण कुरा चाहिँ धरानले चार वर्षदेखि बर्सेनि डेङ्गु महामारी भोग्दै आएको छ । यसरी बर्सेनि भोग्दै आएको समस्या बारे उपमहानगरपालिकाको नेतृत्व सजग रहनुपर्छ । फेरि पनि अर्को वर्ष महामारी फैलिने सम्भावना रहने भएकाले बेलैमा तयारीका साथ रहनु पर्छ तर, यसपटकको काम हेर्दा उपमहानगर त्यस्तो तयारीमा देखिएन । डेङ्गु फैलिएको तीन महिनासम्म पनि अभियान नचलाउनु अनि आम नागरिकबाट चर्को दबाव सिर्जना भएपछि मात्र अभियान सुरु गर्नुले डेङ्गु नियन्त्रणमा किन सुस्तता देखियो भन्ने बुझ्न सकिन्छ । ढिलो भए पनि नगर सक्रिय देखिएको छ । यसलाई अझ सबै सरोकारवालासँग मिलेर अघि बढ्नु आवश्यक छ । अबका दिनमा स्थानीय सरकार यस्तो सुस्त नहोस् ।