विजयपुर । धरान उपमहानगरले पछिल्ला तीन दिन बजार अनुगमन गरेको छ ।
अनुगमनका क्रममा भाटभटेनी सुपरमार्केटमा कम तौलका फलफूल भेटिएको धरान उपमहानगरका बजार अनुगमन अधिकृत बेदप्रसाद सापकोटाले जानकारी दिए । उनका अनुसार फलफूलको प्याकेटमा लेखिएको तौलभन्दा कम तौल पाइएको थियो ।
तौल कम पाइएपछि गुणस्तर तथा नापतौल कार्यालय, विराटनगर र धरान उपमहानगरको अनुगमन समितिको बैठक बसेको थियो । नापतौल कार्यालयको मापदण्डअनुसार नमुना छनौट नगरिएको र कतिपयमा फलफूल सुकेर पनि कम तौल हुनसक्ने निष्कर्ष निकालेको थियो । भाटभटेनीलाई तौल गरेर मात्रै बिक्री गर्ने व्यवस्था गर्न निर्देशन गरिएको बजार अनुगमन अधिकृत सापकोटाले जानकारी दिए ।
त्यस्तै अनुगमनमा धरान–१२ महेन्द्र पथमा सञ्चालित शुभम् स्वीट्सले खाद्य अनुज्ञा नलिई लेभलिङ गरेको पाइएको थियो । उत्पादित वस्तु लेभलिङका लागि खाद्य अनुज्ञा अनिवार्य हुन्छ । शुभम् स्वीट्सलाई १५ दिनमा खाद्य अनुज्ञा लिई उपमहानगरमा पेश गर्न निर्देशन दिइएको छ ।
त्यसैगरी धरान–१२ चतरालाइनको श्रेष्ठ चिप्स उद्योगबाट सामान बरामद गरिएको छ । अघिल्लो दिन उत्पादन गरेको चिप्स भोलिपल्टको मिति हालेर उत्पादन गरेकै दिन बजारमा पठाएकाले बरामद गरिएको अधिकृत सापकोटाले बताए । धरान १६ को थापा किराना पसलमा पनि लेभलिङ नभएको सामान फेला परेको थियो । उपमहानगरले शुक्रबारदेखि खाद्यान्न, होटललगायतको अनुगमन गरेको हो ।
तीन दिनमा धरान वडा नं. १, २, ३, ७, ८, ९, १२, १६ मा अनुगमन गरेको थियो । बजार अनुगमनका क्रममा अधिकांश होटलमा सरसफाइ गर्नुपर्ने पाइएको थियो । बजार अनुगमन अधिकृत सापकोटाका अनुसार शुक्रबार नरिवल बरामद गरिएको छ । दर्ता नगरी फुटपाथमा बिक्री गर्ने, अत्यधिक मूल्य असुल्ने मौसमी व्यापारीको नरिवल बरामद गरिएको हो ।