कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि दाबी पेश गर्ने समयसीमा आज सकिंदैछ । 

प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठनका लागि आज अपराह्न ५ बजेसम्म समय दिएका छन् । 

सभामुख बाबुराम गौतमको समेत समर्थनमा मुख्यमन्त्री बनेका नेपाली कांग्रेसका उद्धव थापाको नियुक्ति सर्वोच्च अदालतले बदर गरिदिएपछि पुनः सरकार गठनका लागि प्रदेश प्रमुख खापुङले दलहरुलाई आह्वान गरेका थिए । 

कोशी प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको छ । जसअनुसार आज नयाँ सरकारका लागि दाबी पेश गरिसक्नु पर्ने हुन्छ ।

कोशी प्रदेशमा कांग्रेस नेतृत्वको गठबन्धनसँग सभामुख बाहेक ४६ सांसद छन् भने प्रतिपक्षी नेकपा एमालेसँग ४० तथा राप्रपासँग ६ सांसद रहेका छन् । सरकार बनाउन ४७ मत आवश्यक पर्छ ।