भारतको हरियाणामा साम्प्रदायिक तनाव उत्पन्न भएको छ । सोमबार नुहमा विश्व हिन्दु परिषद्, मातृ शक्ति दुर्गा वाहिनी र बजरङ्ग दलले आयोजना गरेको ब्रजमण्डल ८४ कोस शोभा यात्राका क्रममा  ढुङ्गा मुढा र गोली हानाहानमा होम गार्डका दुई जवानको मृत्यु हुनुका साथै केही प्रहरी र अन्य २४ जना घाइते भएका थिए । यात्रामा सहभागी व्यक्तिसँगै प्रहरीमाथि पनि ढुङ्गा मुढा गरिएको थियो ।

यसबिच दङ्गाकारीहरूले त्यहाँ आगो लगाइदिए । कैयौँ सवारी साधनमा तोडफोड र आगजनी भएको भारतिय सञ्चारमाध्यमहरूले जनाउको छ । साम्प्रदायिक तनावका कारण सिङ्गो जिल्लामा बुधबारसम्मका लागि इन्टरनेट सेवा बन्द गरिएको छ । यससँगै जिल्लाका सीमा नाकासमेत सिल गरिएको छ ।

झडपमा परी १२ जना प्रहरी घाइते भएका छन् भने तीमध्ये आठ जनालाई अस्पतालमा भर्ना गरिएको एक अधिकारीले जानकारी दिएका छन् । घाइतेमध्ये होडालका प्रहरी नायब उपरीक्षक सज्जन सिंहको टाउकोमा गोली लागेको छ भने एक इन्स्पेक्टरको पेटमा गोली लागेको छ । एउटा भिडियो क्लिपमा कम्तीमा चार वटा कार जलिरहेको देखिएको छ । अर्को भिडियोमा दुई वटा क्षतिग्रस्त प्रहरीको गाडी देखिएको छ । 

मुस्लिम बाहुल्य रहेको नुहको नलहदस्थित नलेश्वर महादेव मन्दिरबाट यात्रा सुरु हुनासाथ समुदायका केही युवाले ढुङ्गा मुढा गर्नुका साथै नाराबाजी समेत गर्न थालेको प्रहरीले जनाएको छ । मध्याह्नदेखि साँझसम्म चलेको झडपमा करिब २४ जना घाइते भएका छन् । सबैलाई विभिन्न अस्पतालमा भर्ना गरिएको छ ।

 सेक्टर ५७ मा निर्माणाधीन एक भवनमा नुहमा तनाव उत्पन्न भएपछि केही मानिसहरूले आगो लगाएका थिए । भवनको बेसमेन्टमा धार्मिक स्थल रहेको बताइएको छ । आगो निभाउनका लागि दमकलका दुई वटा गाडी घटनास्थलमा पुगेका थिए । आगलागीमा एउटा मोटरसाइकल पनि जलेर नष्ट भएको छ । घटनास्थलमा प्रहरी पुगेको छ ।

सेक्टर ५७ मा रहेको धार्मिक स्थलमा राति अबेर राति असामाजिक तत्वले आक्रमण गरेको बताइएको छ । आक्रमणमा परी एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । पूरै क्षेत्रमा ठुलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ । गुरुग्राममा अल्पसङ्ख्यक समुदायका मानिसहरू बसोबास गर्ने क्षेत्रहरूमा प्रहरी बल तैनाथ गरिएको छ।