कोशी प्रदेशमा नयाँ सरकार गठनको लागि बहुमत पुर्‍याउनको लागि  सभामुख बाबुराम गौतमको राजीनामा दिने भएका छन् । 

राप्रपाले तत्काल कुनै पनि सरकार गठनमा सहभागी नहुने जवाफ दिएपछि गठबन्धनले सभामुख गौतमलाई राजीनामा गराएर संविधानको धारा १६८ को उपधारा २ अनुसारको सरकारको दावी गर्ने भएको हो ।

सभामुखको हस्ताक्षरसहित गणना गरेर यसअघि मुख्यमन्त्री बनेका कांग्रेसका उद्धव थापाको नियुक्ति बदर गर्दै सर्वोच्च अदालतले नयाँ सरकार बनाउन गठबन्धनले सभामुखलाई राजीनामा गराउन लागेको हो ।

सभामुखले राजीनामा दिएपछि प्रदेश प्रमुख परशुराम खापुङले दिएको समयमै आज मुख्यमन्त्रीको दाबी पेश गर्ने तयारी भइरहेको छ । 

राप्रपाले सहयोग गर्न नमानेपछि गठबन्धनमा सभामुखलाई राजीनामा गराउने सहमति भएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित कोशी प्रदेशका नेताहरूको बैठकमा राप्रपाले नमाने सभामुखलाई राजीनामा गराउने सहमति बनेको थियो ।

यहाँ कांग्रेसका २९, माओवादी केन्द्रका सभामुखबाहेक १२, एकीकृत समाजवादीका ४ र जसपाका १ गरी ४६ सांसद हुन्छन् । त्यसैले सभामुखलाई राजीनामा गराएर मात्रै सरकार गठनको लागि आवश्यक ४७ सांसद पुग्छ । यहाँ विपक्षी एमालेको ४० र राप्रपाको ६ गरी ४६ सांसद् छन् ।