राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस र एमाले मिलेरै सरकार चलाउन सुझाव दिएका छन् । 

विराटनगर विमानस्थलमा आज कोशी प्रदेश एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीसहित एउटै प्लेनमा विराटनगर झरेका उनले यस्तो बताएका हुन् ।

‘मैले एमाले नेता हिक्मतकुमार कार्कीलाई पनि भनेको छु । तपाईहरुले ल्याएको व्यवस्था हो । कांग्रेस र एमाले मिलेर आधा आधा गर्दा राम्रो हुन्छ भनेर सुझाव दिएको छु,’ कार्कीसँगै रहेका उनले भने, ‘हामीले सरकार निर्माणको प्रक्रिया धाराहरुमा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई कुनै चासो छैन । कांग्रेस र एमाले मिलेर सरकार चलाउनू भन्ने हाम्रो सुझाव हो ।’

उनले आफू कोशी प्रदेशमा सरकार निर्माणमा निर्णायक हुने अन्तिम अवस्थामा मात्रै केही निर्णय गर्न सक्ने बताए । ‘कोशी प्रदेशमा कांग्रेस र एमाले अलगअलग बस्दा मात्रै हामी निर्णायक हौं । त्यो परिस्थिति नल्याउन हामीले भनेका छौं,’ लिङ्देनले भने, ‘संविधानको धारा १६८ को उपधाराहरुको प्रयोग गर्दै जाँदा अन्तिम चरणमा निर्णायक हिसाबले प्रस्तुत हुन सकिन्छ ।’

‘प्रन्या नियुक्तिमा संविधानविपरीत काम

लिङ्देनले संविधानतः एक महिना अगाडि नै प्रधानन्यायाधीश तय गरिसक्नु पर्ने व्यवस्था भए पनि दलहरुको भागबण्डाले संविधान विपरीतका काम भइरहेको बताए । 

‘प्रधानन्यायाधीश खाली गर्ने परिकल्पना छैन । भागबण्डा, शर्तहरु मिलेपछि नियुक्ति होला । सर्वोच्चका न्यायाधिशहरु नियुक्ति हुन पनि बाँकी छ । त्यो कसरी हुन्छ हेर्न बाँकी छ,’ लिङ्देनले भने ।