नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले धरानका जनप्रतिनिधि र कर्मचारीसँग भेटघाट गरेका छन् । अध्यक्ष भट्टराई पुत्री मानुषी यमी भट्टराईसहितको टोलीलाई धरान उपमहानगरपालिकामा स्वागत गरिएको छ ।
धरान नगर प्रमुख हर्कराज राई (हर्क साम्पाङ), उपप्रमुख अइन्द्रविक्रम बेघा साथै प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईले रुद्राक्षको माला लगाइदिएर स्वागत गरेका हुन् ।
भेटघाटमा अध्यक्ष भट्टराईले धरानको वस्तुस्थितिबारे जानकारी लिएका थिए । नगर प्रमुख राईले धरानमा डेंगीको भयावह अवस्था रहेको बताए । अन्य नियमित कामसँगै धरान अहिले डेंगीको प्रकोपमा जुधिरहेको नगर प्रमुख राईले जानकारी गराएका थिए । ‘तत्काल चाहिं हाम्रो यो डेंगुले समस्या बनाइरा’छ, त्यसका लागि हामी अत्यन्तै धेरै लागिराछौं ।’ नगर प्रमुख राईले भने ।
राजनैतिक, संवैधानिक, कानुनी र विकास निर्माणसँगै समसामयिक विषयमा छोटो समय छलफल गरेका भट्टराईले आफूलाई धरान अत्यन्तै मनपर्ने बताएका थिए ।
धरानका उपप्रमुख बेघाले छलफलको फेसबुकमार्फत झण्डै सात मिनेटको भिडियो पोस्ट गरेका छन् ।