धरान उपमहानगरपालिकाले डेङ्गी नियन्त्रणका लागि एक दिने सर्च एण्ड डिस्ट्रोइ अभियानका लागी विद्यालय बन्द गर्ने गएको छ । 

उपमहानगरपालिकामा प्रकोपको रूपमा रहेको डेङ्गी नियन्त्रण गर्न एकै साथ सबै वडामा सर्च एण्ड डिस्ट्रोइ अभियान सञ्चालन गर्नका लागि बुधबार उपमहानगरपालिका भित्र सञ्चालित विद्यालयहरू बन्द  गर्ने भएको हो । 

उपमहानगरपालिकाको शिक्षा महाशाखाले  एक सूचना जारी गरी सबै सामुदायिक तथा संस्थागत विद्यालयहरू बिदा दिएको जानकारी गराएको छ  ।  आज बसको कार्यपालिका बैठकले उपमहानगरपालिका भित्र एकैसाथ सर्च एण्ड डिस्ट्रोइ अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । उक्त  अभियानमा विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूसमेत परिचालन गर्ने निर्णय गरे बमोजिम बिदा दिइएको जनाइएको छ । 

महाशाखा प्रमुख गणेश प्रसाद खतिवडाको हस्ताक्षर रहेको  सूचनामा वडा कार्यालयसँग समन्वय गरी आफ्नो विद्यालयका साथै छरछिमेकमा समेत विद्यार्थी, शिक्षक तथा कर्मचारीहरू परिचालन गरी  सर्च एण्ड डिस्ट्रोइ अभियान सञ्चालन गर्न अनुरोध गरिएको छ ।  साथै, धरानमा फैलँदै गरेको आखा पाक्ने सरुवा रोगबाट बच्न पनि अनुरोध गरिएको छ । 

उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत  उमेश मेहेताका अनुसार हालसम्म २ हजार ४५९  जनामा डेङ्गी पोजेटिभ देखिएको छ । हाल सम्म धरानमा ८ जना डेङ्गी सङ्क्रमितको मृत्यु भइसकेको छ । 

धरानमा डेङ्गी सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि धरान उपमहानगरपालिकाले सोमबारबाट सुरु निःशुल्क रूपमा डेङ्गी परीक्षण सुरु गरेको छ । 

सोमबार ६६ जनामा गरिएको परीक्षणमा  ३६ जनामा डेङ्गी पोजेटिभ देखिएको मेहताले बताएका छन् ।